• ११ पुस २०८१, बिहिबार

सैपालको सौन्दर्यमा सम्भावना

blog

सैपाल पर्वत शृङ्खला पूर्वी–दक्षिण मोहडा जो बाजुरा भएर बग्ने बुढीगङ्गा नदीको प्रायः समानान्तर हुँदै उत्तरबाट दक्षिणतिर शृङ्खलाबद्ध भएर फैलिएको छ । त्यही पर्वतको नाम नै मल्लिकागिरि पर्वत हो । बाजुरामा यसलाई मालिका भनेर चिनिन्छ । पौराणिक कालमा यही मल्लिकागिरि पर्वतमा सर्वशक्ति स्वरूपमा उमा भवानी सतीदेवीको मृत शरीर खसेको र त्यहीँ देवीको उत्पत्ति भएको स्कन्दपुराणमा उल्लेख छ । 

बाजुराको पूर्वदेखि दक्षिण फैलिएर रहेको सैपाल हिमालको दक्षिणी हिमशृङ्खला नै मालिका पर्वत हो । यो समुद्री सतहबाट ४,२१४ मिटरसम्मको उचाइमा रहेको छ । यो पर्वत बाजुरा जिल्लाको बिच भाग अर्थात् समानान्तर भएर फैलिएको छ । यसैको अग्लो स्थानमा बडीमालिकाको मन्दिर रहेको छ ।

सतीदेवीले शिव निन्दा सहन नसकी आफ्ना पिता दक्ष प्रजापतिको यज्ञकुण्डमा आत्मदाह गरेकी थिइन् । महादेवले सतीदेवीको त्यही मृत शरीरलाई काँधमा बोकी हिमालय घुम्ने क्रममा हिमालय पर्वतमा सतीदेवीको बायाँ कुम पतन भएको थियो । त्यही समय दानवले इन्द्रादी देवतालाई लखेटी स्वर्गको राज्य गर्न थाले । यसरी देवताले आफूलाई शक्तिहीन भएको ठानी सृष्टिकर्ता ब्रह्मालाई गुहार माग्दा उमा भवानी मल्लिकागिरिमा मुढो झैँ रहनुभएको कुरा ब्रह्माले देवतालाई जानकारी गराए । त्यसपछि बह्माकै आज्ञाले मल्लिकागिरि पवर्तमा आई ब्रह्मासहित विश्वकर्माद्वारा धातु र फलफूलले युक्त विभिन्न पुरको निर्माण गराई देवताले धेरै लामो अवधिसम्म यज्ञ गरिरहँदा जगज्जननी प्रसन्न भई आकाशवाणीद्वारा “तिमीहरू यज्ञ गर्दै रहनु, म छिट्टै हिमालयको घरमा तिमीहरूको उद्धारका लागि अवतरण हुनेछु” भन्ने आज्ञा भयो । त्यसपछि देवीले भने झैँ देवताले यज्ञ गरिरहँदा महेश्वरी प्रकट भएर देवताले अपहरण गरेका यज्ञ ग्रहण गरेको पौराणिक कथामा उल्लेख छ । यसरी सतीदेवी हिमालयको घरमा पार्वतीको नामबाट जन्म लिनु भयो जुन महादेवीलाई तिनै भुवनकी मालिकका नाम र रूपमा ब्रह्माले परिचय गराइदिनुभएकाले देवीको नाम मालिका र देवीको निवास स्थल मालिका क्षेत्र हुन गएको भन्ने भनाइ छ ।

बडीमालिकाले बाजुराको बडीमालिका, त्रिवेणी, बुढीनन्दा, जगन्नाथ, कालीकोटको रास्कोट र अछामको रामारोशनका धेरै जसो क्षेत्रलाई समेट्छ । बडीमालिकाको पूर्वमा कर्णाली र पश्चिममा बुढीगङ्गा र सेती नदी बग्दछ । बिच भागको मालिका पर्वतको टुप्पोमा नै बडीमालिका देवीको मन्दिर रहेको छ । हिमालय पर्वतको उच्च भागमा रहेको मालिका पर्वत र त्यसैमा शिव, शिवा भवानीलगायत देवताको निवासस्थान मानिन्छ । उकालो, भिरालो, चट्टानै चट्टानले बनेको थुम्को, सिरानदेखि पूर्वतिर ढाल परेको छ । यसको पूर्व–पश्चिम लम्बाइ सय मिटर र चौडाइ ९० मिटर रहेको छ । बडीमालिका १०८ देवीका शक्तिपीठमध्येको एक महत्वपूर्ण शक्तिपीठ हो ।

नेपाल एकीकरण अभियानका बेला अमरसिंह थापा मालिका देवीको महिमा पुकार्दै अघि बढेको र त्यसकै कारण सफल भएको किंवदन्ती छ । देवीप्रिय भक्त भई डोटी गाँडाका हाकिम भएर मालिका क्षेत्रमा आएपछि देवीको पूजाआजामा केही नयाँ व्यवस्थाको थालनी अमरसिंहले गरेको पाइन्छ । उनले प्राचीन समयदेखि चलिआएको रीति अनुसार मालिका देवीको श्रावण चतुर्दशी पूजामा जाने भक्तजनलाई श्रावण अमावस्याका दिनमा नै दिपायलस्थित दिल्पेश्वर महादेवको परिसरमा एकरात अनिवार्य बास बस्ने, बिहानै स्नान गरी दिल्पेश्वर महादेवको पूजा गरी तीर्थयात्रा अघि बढाउने चलन चलाएका थिए । अमरसिंह थापाको पालादेखि नै  डोटी गाँडाबाट बडीमालिका देवीको पूजा पेटारो (डोली) पठाउने व्यवस्था भएको बताइन्छ । जुम्लाको चौघान क्षेत्र, कालीकोटबाट पनि पूजाका लागि सरकारी टोली आउने गर्दछ । 

बडीमालिका मन्दिरमा बाजुरा पैमाका पुजारीले मूल रूपमा पूजाआजा गर्ने गर्छन् । उनीहरूले सिंजा राज्यताका नै मालिका देवीको पुजारी भई नित्य पूजा गर्दै आएका हुन् । देवीप्रति पूर्ण भक्तिभाव भएका पैमा मूल पुजारी मालिका देवीको पर्वपूजामा आफ्नै परम्परा अनुसार मन्दिर पुग्छन् । बाजुरा जिल्लाको तल्लो क्षेत्र, कुन्ना क्षेत्रका बासिन्दाले साउन शुक्ल नवमीदेखि पूर्णिमासम्म छ दिन लगाएर बडीमालिकाको तीर्थयात्रा गरी पूजाआजा गरी फर्किने गरेका छन् ।

पुग्ने बाटाघाटा

प्राकृतिक सौन्दर्य र आध्यात्मिक महत्वको बडीमालिका क्षेत्रको जैविक विविधताको संरक्षण निकै जतनसाथ गर्न आवश्यक छ । संरक्षणका नाममा हुने विकासले निम्त्याउने सत्यानाशतिर सजग हुन आवश्यक छ । 

बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत बडीमालिका क्षेत्रमा सधैँ पर्यटक आवतजावतलाई सहज बनाउन पहल थालेको छ । त्रिवेणी नगरपालिकाले समेत बडीमालिका क्षेत्रको पर्यटन विकासलाई ध्यानमा राखेर पर्यटनसम्बन्धी गतिविधि गर्दै आएको छ । 

बडीमालिका जाने मार्गमा मुख्य गरी अछामबाट रामारोशनबाट नदाई हुँदै त्रिवेणी, बाजुराबाट त्रिवेणी नगरपालिका–१, छताराबाट नदाई हुँदै त्रिवेणी, पैमा पुजारी निवास र मना हुँदै बडीमालिका, जडाङ्गा बुढाकोर्ध हुँदै सोतापाटन, मार्तडीदेखि फूल चढाउने सोतापाटन हुँदै त्रिवेणी, काँधदेखि दिउरापाटन हुँदै बुढीमाईको थान, नाटेश्वरी विष्णुपानी हुँदै बडीमालिका, कालीकोटबाट सान्नीत्रिवेणी गाउँपालिका, रासकोट नगरपालिकाबाट गाईगोठ हुँदै त्रिवेणी र पचालझरना गाउँपालिकाबाट कैलाशगाड हुँदै बुढीमाई थानबाट त्रिवेणी रहेका छन् । 

काठमाडौँबाट बडीमालिका जान हवाईजहाजबाट धनगढी अथवा बसबाट कैलालीको अत्तरिया हुँदै डडेलधुरा, डोटी, अछाम हुँदै बाजुराको मौरे, पैमा, सदरमुकाम मार्तडीको बडीमालिका शाखा मन्दिर हुँदै जान सकिन्छ । काठमाडौँबाट हवाईजहाजबाट नेपालगन्ज हुँदै कोल्टी र कोल्टीबाट पोरखेको काँध हुँदै दिउडा पाटनबाट बडीमालिका क्षेत्रमा जान सकिन्छ । 

मालिकामा त्रिवेणी महत्व

मालिका क्षेत्रबाट उत्पन्न भएर पश्चिमतर्फ शेरेखोला, बाउलीगाड, बिरेखोला, कोर्धी गाडा, मनागाड, मालागाड, माचामाड बग्छन् । पूर्वतर्फ ठिनीखोला, जुद्धी खोला, बुर्का खोला, सान्नीगाड, रुप्सागाडलगायत नदी छन् । मालिका क्षेत्रमा त्रिवेणीको बेग्लै प्राकृतिक तथा सांस्कृतिक महत्व छ । त्रिवेणीको चारैतिरबाट नागबेली झैँ घुमेर बग्ने साना, ठुला खोलाले मुख्य गरी दुई ठुला खोला बनाएको छ । त्रिवेणीको पूर्वदिशा खेतीबेती बगेर आउने खोला, उत्तरी क्षेत्रका खोला खोल्साको पानी बग्ने खोला र क्षीर नदी मिलेको त्रिवेणी, बेणी, रुद्रा र श्रीरनदीको सङ्गम बनेको छ । 

त्रिवेणीको खेतीबेती (खेतीपाती) क्षेत्र र यहाँका रमाइला पाटन यहाँका प्रमुख आकर्षण हुन् । त्रिवेणी खेतीबेती, जोगीपहिरो तथा बरमाग्ना, लौडीविनायक, मासडण्डी, गुराँसडन्डी, भड्कीपड्ने, वासुधारा, पन्चपुर, देवतट पर्वत, विष्णुपानी, वृद्धकन्दरा, धलपुरी दह, नाटेश्वरी, मौरे क्षेत्र बडीमालिका क्षेत्रको यात्रामा भेटिने ठाउँ हुन् । बडीमालिकाको तल्लो क्षेत्रमा मेल, टिमुर, दालचिनी, चित्रा, काफल, बाँझा, गुराँस, कटौज, उत्तिस, आयर, फलाट आदि प्रजातिका बोटबिरुवा पाइन्छ । सो क्षेत्रमा पागर, कटुस, भिडे, खर्सु, सानन, धुपी, भोजपत्रलगायत वनस्पति पाइन्छन् । पाटनमा अतिस, व्रजदन्ती, पाषाणभेद, पाँचऔँले, कटुकी, हत्ताजडिई, मौरामुली, कटुकी, पदमचारो, भुतकेश, ब्रह्मी, कमल, यार्चागुम्बा, मधुजडी, धुपजडी, बायोजडी, निनाइजडी, पाँचऔँले, सुनपाती, चिराइतो, पाषाणभेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, विषजरा, मधुजडी, धुपजडी, वनलसुन, निनाइजडी, भुतकेश जटामसीलगायत दर्जनौँ प्रजातिका औषधीय गुण भएका जडीबुटी पाइन्छन् । यस क्षेत्रमा ब्रह्मकमल, बुकीफूल, जाई, जुई चमेली, सुनजाई, इन्द्रकमल, सेतोगुराँस, चाँप, चिमालोलगायत सयभन्दा बढी प्रजातिका दुर्लभ फूल पाइन्छन् । 

Author

सङ्गीता तिमिल्सेना