सिलगढी आफैँमा सुन्दर छ नै । पुरानो बजार सिँडीयुक्त बाटो, माटोको गारो लगाएका ढुङ्गाले छाएका घर, त्यहीँबाट नजिकै घुम्ती पारेर बगिरहेको सेती नदी र त्यहाँका मैदानी फाँट, हरेक डाँडामा देखिने पुराना बस्ती, पुरानो स्वरूप रहेको सिलगढी बजार र त्यहाँ फुलेको सिलङ्गोले झनै सुन्दरता थपेको छ । शिल्देवीको थानले झनै सिलगढीको महत्व बढाएको छ । शिल्देवीगढीबाट सिलगढी बन्न गएको भन्ने मान्यता छ । नजिकै सिलगाउँ छ ।
उसो त धेरै पटक पुगिएको थियो, सिलगढी । दिपायल सिलगढी क्षेत्रीय सदरमुकाम भएकाले कामको सिलसिलामा जानुपर्ने हुन्थ्यो । दिपायल पिपल्ला पुगेपछि सिलगढी जाने पनि निश्चित नै हुन्थ्यो । प्रायः गइन्थ्यो । अछाम, बाजुरा जाँदा पनि सिलगढी बसिएको थियो । खप्तड जाने क्रममा पनि सिलगढी बसिएकै हो । बिहान सिलगढीबाट झिगरानाको बाटो हुँदै खप्तड पुगिएको थियो । शैलेश्वरी मन्दिरमा कोटीहोमको आयोजना भएको वर्ष पनि पुगेकै थिएँ । महायज्ञको सेरोफेरोमा सिलगढी बसाइ यज्ञकेन्द्रित भएकाले सभ्यता संस्कृतिका विषयमा जान्ने बुझ्ने मौका मिलेको थिएन, तैपनि पटक पटक पुगिएको थियो ।
सिलगढी मेरा लागि नयाँ ठाउँ होइन । सिलगढीनजिकै रहेको थपलागाउँसँग पुरानो साइनो सम्बन्ध पनि हो । थपलाबाट मलास्या साउद सिलगढी बस्दा निजको बस्ने ठाउँलाई नै थपला भनिएको थियो । मलस्या साउदसँग हाम्रो परम्परागत सम्बन्ध रहिआएको थियो ।
सिलगढी आफैँमा सुन्दर छ नै । पुरानो बजार सिँडीयुक्त बाटो, माटोको गारो लगाएका ढुङ्गाले छाएका घर, त्यहीँबाट नजिकै घुम्ती पारेर बगिरहेको सेती नदी र त्यहाँका मैदानी फाँट, हरेक डाँडामा देखिने पुराना बस्ती, पुरानो स्वरूप रहेको सिलगढी बजार र त्यहाँ फुलेको सिलङ्गोले झनै सुन्दरता थपेको छ । शिल्देवीको थानले झनै सिलगढीको महत्व बढाएको छ । शिल्देवीगढीबाट सिलगढी बन्न गएको भन्ने मान्यता छ । नजिकै सिलगाउँ छ ।
सिलगाउँनजिकै बनाइएको प्रशासनिक अड्डा गढी सिलगाउँनजिकको गढीबाट सिलगढी बन्न गयो भन्ने मान्यता छ । ऐतिहासिक, सांस्कृतिक महत्वको सिलगढीमा डोटी साहित्य प्रतिष्ठान र नेपाली लेखक सङ्घ डोटीले आयोजना गरेको डोटी साहित्य उत्सवमा सहभागी हुँदा शिल्देवीको दर्शनसँगै साहित्यपानको अवसर मिल्यो । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र विभिन्न स्थानीय तहको सहयोग प्रवर्धनमा त्यता जुटियो ।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सहभागी साहित्यका विविध विधाका सर्जक, स्रष्टा, साहित्य, संस्कृति क्षेत्रका मूर्धन्य व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्यो । झन्डै दुई सयभन्दा बढी स्रष्टाको उपस्थिति रहेको साहित्य उत्सवमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानमूलक ग्रन्थ ‘सगुन’ लोकार्पण गरिएको थियो । समारोहमा कवि निर्मलकुमार भण्डारी, गीता स्मृति कठायत, तीर्थराज भट्ट, कुस्मा भट्ट, हिम्मत शाही, निर्मला विष्ट, डिलबहादुर महरालगायत दर्जनौँ कविका रचनाले साहित्य उत्सव रोचक र आकर्षक बनेको थियो । साहित्य उत्सवमा सहभागी सबैलाई आयोजकले पठाएको कोदोको पिठो र मह उपहारले निकै रमाइलो बनायो । साहित्य महोत्सवमा विभिन्न आठ वटा साहित्यिक सेसन सञ्चालन भएका थिए । काव्य, गजल, मुक्तक, जनप्रतिनिधिसँग साहित्य संवाद, डेउडा, कला र संस्कृति र डोटेली भाषा विषयमा सत्र सञ्चालन भएका थिए ।
डोटी साहित्य महोत्सवमा विशिष्ट अतिथिका रूपमा पूर्वसांसद यज्ञराज पाठक, जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायर, बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमल गडसिला, नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । सुदूरपश्चिमका नौ वटै जिल्लाका स्रष्टाको सहभागिता रहेको डोटी साहित्य उत्सवमा स्रष्टाहरू कविता, गजल, हुड्केली र गीतमा झुमेका थिए ।
नेपाली भाषा साहित्यको विकासको एउटा महìवपूर्ण खुट्किला डोटी पनि हो । डोटी भन्नाले हालको डोटी जिल्ला मात्र नभई हालको सुदूरपश्चिम पूरैलाई मानिन्छ । डोटी राज्यको प्रभाव हाल भारत वर्षको सिगाहीसम्म पनि रहेको थियो । अहिले पनि सिगाहीमा डोटी राजाको दरबार रहेको छ । भाषालाई खण्ड खण्ड पारिएर डोटेली भाषाको क्षेत्र साँघुरो बनाउन खोजिए पनि यसको क्षेत्र व्यापक हो । भाषाको विकास सिजाबाट भनिए पनि सभ्यता, संस्कृति, भाषाको विकासको एउटा पाटो डोटीसँग जोडिएको छ । त्यही साहित्य संस्कृति र नेपाली भाषाको उद्गम डोटीमा भएको साहित्यिक जमघट निकै महत्वपूर्ण रहेको थियो ।
बाइसे चौबिसे राज्य हुँदा डोटी छुट्टै राज्य थियो । डोटी राज्यको राजधानी अजयमेरुकोट थियो । अजयमेरुकोट हालको डडेलधुरा जिल्लामा पर्छ । डडेलधुरामा रहेको गैरीडोटी राजा नागी मल्लको मुख्य प्रभाव क्षेत्र थियो । गैरीडोटीमै रानीले घटाल अर्थात् घटोत्कचको पूजा गराएको र त्यही बस्ती व्यवस्थित गरी राज्यको नाम पनि डोटी राखेर डोटीको प्रभाव क्षेत्र विस्तार गरेको पाइन्छ । चौध सय डोटी भनिएको हुन्छ । एक हजार चार सय गाउँ गर्खा रहेको क्षेत्र हो डोटी । राजा नागी मल्लका समयमा चौध सहस्र डोटी बनेको थियो भन्ने मान्यता छ । डोटी राज्य विस्तार भएपछि डोटी राज्यको गृष्मकालीन राजधानी अजयमेरुकोट र शीतकालीन दरबार दिपायलको गानरगौडामा थियो । डोटी राज्यको क्षेत्र कार्णालीसम्म पनि फैलिएकाले शासन व्यवस्थाको बढी जसो कार्य दिपायलबाट हुने गथ्र्यो । नेपाल एकीकरणपछि डोटी डडेलधुरा एउटा प्रशासनिक एकाइ बन्यो, जसको केन्द्र सिलगढी नै रह्यो ।
राणाकालमा उपत्यकाबाहिरका चार वटा गौँडामध्ये डोटी कर्णालीवारिको एउटा मात्रै गौँडा थियो सिलगढी । पछि जिल्ला विभाजित हुने क्रममा डोटी, डडेलधुरा जिल्ला छुट्याइएको थियो । महाकालीपारिबाट डोट्याल भनेर सम्पूर्ण सुदूरपश्चिमका बासिन्दालाई सम्बोधन गरिन्छ । त्यसले पनि विशाल डोटीको क्षेत्र बुझाउँछ । त्यही डोटीको मुख्य केन्द्र सिलगढीमा साहित्य, संस्कृति, इतिहासका विषयमा बहस छलफलसँगै साहित्यको रस पान गर्ने मौका मिल्यो । पशुपतिको जात्रा सिद्राको व्यापार भने झैँ सिलगढी पुगेको बेला शिल्देवीको दर्शन पनि गरियो ।
स्कन्द पुराणको मानसखण्डमा शिलादेवी महात्म्यको उल्लेख गरिएको छ । स्कन्द पुराणका अनुसार भगवान् शिव र माता पार्वती आफ्नो विवाहपश्चात् मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणीय चन्द्रगिरि पर्वतलाई रोज्नुभएको थियो । ब्रह्मा, विष्णुलगायत विभिन्न देवता भगवान् शिवको खोजी गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवतालाई देखेर लज्जास्वरूप शिला बनेको हुनाले त्यसै बेलादेखि यसलाई शिलादेवी, शिल्देवी अर्थात् शैलेश्वरीदेवी भनेर भनिएको थियो । भव्य पुरानो शैलीमा निर्माण भएको मन्दिरमा दिव्य शिलाको दर्शन गर्ने मौका मिल्यो ।
शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिर पनि छन् । जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर छन् । यो मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिनमा मेला लाग्ने गर्छ । प्रत्येक बाह्र वर्षमा लक्षहोम र एक सय चौवालिस वर्षमा कोटीहोम महायज्ञको आयोजना गर्ने गरिन्छ । मानखण्ड क्षेत्रमा सोल शिवालय, सात बैनीदेवी र वरदानौको पूजा हुने पद्धति रहेको छ । सात बहिनी देवीमध्ये जेठी बहिनी शिल्देवी रहेको मान्ने गरिएको छ । नवदुर्गामध्ये प्रथम शैलपुत्री यिनै शिल्देवी रहेको मान्यता रहिआएको छ । हरेक शिवालयसँग शक्तिदेवी रहने भएको मान्यता अनुरूप र त्यस्तै हरेक शक्तिपीठसँगै शिवालय रहने मान्यता अनुसार दिल्पेश्वर शिवालय शिल्देवी शक्तिपीठ रहेको जनविश्वास छ । देवी, देवताको पूजा, पर्व, मेलालाई जाँत भन्ने गरिन्छ । देवीको जाँत हँुदा देउरो लैजाने गरिन्छ । देउराको अगुवाइ धामीले गर्ने गरेका हुन्छ । शिल्देवीको पौराणिक थान धामीगाउँमा रहेको थियो । उक्त स्थाननजिकै बसोबास गर्ने पार्की थरका मानिसले देवीको शिला पाएका थिए । सिलगाउँका भट्ट ब्राह्मणले पूजा लगाउने गरियो । पुरानो थानबाट र भण्डारबाट देउरो लैजाने परम्परा अद्यपि रहेको छ । सामाजिक सद्भाव जोड्न सबै वर्ग समूहलाई जोडेको पाइन्छ । पहिलो पटक देवीको दर्शन पार्कीले पाएको र सोको जानकारी बोहोरालाई गराएको, बोहोराले राजालाई खबर गरी भट्ट बोलाई पूजा गरेको मान्यताले सबै वर्णलाई जोडेको पाइन्छ । भूमिको उपयोग गर्नेले पूजा सामग्री, पूजा पोखल दिने परम्परा स्थापित गरेर सबैलाई एकजुट हुने स्थान देवालय जान्छन ।
देवीलाई एक समय भट्टहरूले देवीलाई सिलगाउँ लैजान खोजे । पुरानो स्थानबाट सारेर लैजान खोज्दा हाल मन्दिर रहेको स्थानमा पु¥याए । त्यहाँ बिसौनी बनाएर शिला बिसाएका थिए । सो स्थानबाट उठाउन सकेनन् र त्यहीँ स्थापित भयो । त्यसै स्थानमा हालको मन्दिर बन्यो भन्ने मान्यता छ । सिलगढी आगमनसँगै हामीले पनि शिल्देवीको दिव्य दर्शन ग¥याैँ ।
डोटी साहित्य प्रतिष्ठानको निमन्त्रणामा डोटीको साहित्य, संस्कृतिको अध्ययन गर्ने, विभिन्न विधाका सिद्धहस्त लेखक, संस्कृतिविद्सँग भेट गर्ने, छलफल गर्ने मौका मिल्यो । साहित्यिक माहोलसँगै शिल्देवीको दर्शन गर्ने पनि मौका मिल्यो । निकै रमणीय, रोचक, तथ्यपरक रह्यो डोटी बसाइ । डोटीको साहित्य, संस्कृति बुझ्ने जान्ने नयाँ अवसर प्राप्त भयो ।