• १ मंसिर २०८१, शनिबार

थानकोटको सिन्दूरजात्रा

blog

चन्द्रागिरि पर्वत शृङ्खलाको फेदीमा सुन्दर नगर छ थानकोट । काठमाडौँ उपत्यकाको दक्षिण भेगको थानकोट प्राचीनकालमा सुप्रभानगरी नामले प्रख्यात थियो । यस नगरीलाई नेवार समुदायले थक्वाः भनेर चिन्छन् । द्वापरयुगमा शोणितपुरसमेत भनिने क्षेत्रमा पैmलिएको हालको चन्द्रागिरि नगरपालिका–३ र ४ मा समेटिएको छ थानकोट । मूलतः थानकोट प्राचीन नेवार बस्ती हो । यहाँ नेवार समुदायको बाहुल्य रहेको छ । यहाँ श्रेष्ठ, अमात्य, महर्जन, गोपाली, कपाली, खड्गी, नापित आदि थरका नेवारको रस्तीबस्ती छ । मूल बस्तीको वरपर तामाङ, मगर, क्षेत्री, ब्राह्मणको समेत बसोबास रहँदै आएको छ । यति हुँदाहुँदै पनि थानकोटमा नेवार समुदायको विविध संस्कृति सुभाषित हुँदै आएका छन् । त्यसैमध्येको एक हो, जात्रा संस्कृति । 

जात्रा नेपाली समाजले परम्परादेखि रुचाउँदै आएको एक मनोरञ्जक धार्मिक तथा सांस्कृतिक अनुष्ठान हो । बाजागाजासहित देवदेवीका मूर्ति काख वा काँधमा बोकेर वा खटमा राखेर वा रथमा गुडाएर गरिने सामूहिक सांस्कृतिक यात्रा पनि हो जात्रा । देवदेवीका स्थानमा निश्चित दिनमा पूजाआजासहित सम्पन्न गरिने रमाइलो धार्मिक उत्सव पनि हो ।  

थानकोटमा विभिन्न देवदेवीका जात्रा बेला बेलामा सम्पन्न गरिन्छ । कृष्णजात्रा, खड्गजात्रा, गाईजात्रा आदिमध्ये आराध्यदेवी महालक्ष्मीको सिन्दूरजात्रा एक महत्वपूर्ण जात्रा मानिन्छ । नगरको मध्यमा अवस्थित महालक्ष्मी मन्दिरसामु प्रत्येक मार्गकृष्ण प्रतिपदाको बिहान अनुष्ठान गरिने सिन्दूरजात्रालाई नेवारहरू सकिमरः भन्ने गर्छन् । 

स्कन्दपुराण अन्तर्गत स्वस्थानी व्रतकथा अनुसार महादेवले सतीदेवीको लास बोकी संसार भ्रमण गरी हिँड्दा यस पवित्र स्थानमा कलेजो पतन भई कल्पेश्वर महादेव उत्पत्ति भई महालक्ष्मी पीठ स्थापना भएको वर्णन पाइने हुँदा देवी महालक्ष्मीको महत्व व्यापक रहेको छ । यस्ती आराध्यदेवी महालक्ष्मीको भव्य मन्दिरको प्राङ्गणमा जात्रा सम्पन्न गरिन्छ । 

सकिमना पुनी अर्थात् पिँडालु उसिन्ने खाने पूर्णिमाको दिनमा जात्रा गरिने हुँदा सिन्दूरजात्रालाई नेवारले सकिमरः भन्ने गर्छन् भने यो महालक्ष्मी जात्राको नामले पनि परिचित छ तर यो जात्रा महालक्ष्मीको मात्र नभएर आदिनारायण, सिद्धि (इन्द्र) विनायक र अनन्त भैरवको सामूहिक जात्रा हो । 

यो जात्रा प्रत्येक वर्षको कात्तिक शुक्ल पक्षको चतुर्दशी (वैकुण्ठ चतुर्दशी) का दिनदेखि सुरु भएर मङ्सिर कृष्ण पक्षको प्रतिपदाको दिनमा सम्पन्न हुन्छ । कात्तिक, मङ्सिर महिनामा कृषकहरू धान, मकै आदि अन्नबाली भित्र्याएर फुर्सदिलो समयमा वर्ष दिनको धपेडी र दुःखकष्ट भुल्दै तीन दिनसम्म उल्लाससाथ जात्रा मनाउने गर्छन् । जात्रामा पाहुनापासा बोलाउने प्रचलन पनि पुरानो हो ।

तान्त्रिक विधि अनुरूप सम्पन्न हुने यो जात्रा विभिन्न गुठीद्वारा सञ्चालित हुन्छ । पहिलो दिन (वैकण्ठ चतुर्दशी) मा जात्रा गुठीको पालो पर्ने गुठियारको घरबाट अपराह्नतिर महालक्ष्मीको धातुको मूर्र्र्ति (जुन प्रत्येक वर्ष पालो पर्ने गुठियारको घरमा राखिएको हुन्छ) ल्याएर मन्दिरमा स्थापना गरिन्छ । 

नगरवासी त्यसै दिन भोजका लागि राँगाको मासुको व्यवस्था गरेर तःखा (जमाएको माखु) जमाउन पकाउँछन् । यस जात्रामा तःखा र चटामरी (चामलको पिठोको एक प्रकारको रोटी) को विशेष महत्व रहन्छ । त्यसै दिन मासु पोलेर छ्वय्लाभ्वय् गर्छन् ।  राति देवदेवीलाई आह्वान गर्दै महालक्ष्मी मन्दिरको प्राङ्गणमा आचाजु (दीक्षित कर्माचार्य) द्वारा तान्त्रिक विधिपूर्वक ह्वँ यायगु (होम गर्ने) गरिन्छ । यो होम सत्रदुवाः (सत्रद्वारे) को ह्वँ गुठीबाट हुने गरिन्थ्यो । गुठियारले बोका बलि चढाएर समय्बजि खान्थे । हाल स्थानीय सरकारको जिम्मामा आएको बुझिन्छ ।

ह्वँ यायगु सकिएपछि ग्वाः (गोपाली) र बौ (देसार) समुदाय सम्मिलित सना गुठीद्वारा लन्ठ टोलमा मण्डःम्ये (मण्डपमा राँगो) बलि दिइन्छ । यस पूजामा खड्गी गुठीको पनि संलग्नता रहन्छ । बलि दिँदा राँगोको टाउको महालक्ष्मी मन्दिरको गजुर देखिने गरी दिइन्छ । यसै बेलामा देसारले तान्त्रिक विधि अनुरूप भात र गोपाली गुठीका तर्फबाट च्वकिबजि (धुलो चिउरा) छर्कंदै गाउँको घेराबन्दी गर्छन् । यसै क्रममा बलि चढाएको मण्डःम्ये (राँगो) को मासुको टुव्रmा खड्गी गुठीका दुई जनाले नाडीमा घडी जस्तै गरी बाँधेर भात छर्कन जानेहरूको साथमा जाने गर्छन् । यसो गर्दा गाउँमा बिघ्नबाधा नआउने विश्वास गरिन्छ ।

कात्तिक शुक्ल पूर्णिमाका दिनमा महालक्ष्मी, आदिनारायण, सिद्धिविनायक र अनन्त भैरवको दिनभर पूजाआराधना गरी मुभ्वय् (पारिवारिक मुख्य भोज) खाने गरिन्छ । केही वर्षअघिसम्म केही व्रतालु पूर्णिमाको रातभर आफ्ना जिउका विभिन्न अङ्गमा अखण्ड दीप प्रज्वलन गरिरहेको पनि देख्न पाइन्थ्यो । 

सिन्दूरजात्राको प्रारम्भ पूर्णिमाको जुनेली रातमै हुन्छ । त्यस रात आदिनारायणको धातुको मूर्र्ति खटमा राखेर बाजागाजासहित जात्रा सुरु गरिन्छ । धिमे, खिँ, मुहाली, बाँसुरी झ्यालीको रन्कोमा खट नचाउँदै च्वछेँ, सिकछेँ, कोतघर, चाफल, नासः, ताहाफल, लाय्व आदि टोलमा परिक्रमा गराइन्छ । यस कार्यमा नगरवासी उत्साहसाथ भाग लिन्छन् । टोल टोलबाट पूजाआजा गरिन्छ र अन्त्यमा आदिनारायण स्थानमै खट बिसाइन्छ ।

आदिनारायणको रथ बिसाएपछि राति नै गणेश गुठीका पालो पर्ने गुठियारको घरबाट गणेशको धातुको मूर्र्ति बोकेर बाजागाजासहित गाउँको पुछारस्थित इन्द्रविनायक स्थान इमाखेलमा पु¥याइन्छ । त्यहाँ पूजाआजा गरी गणपतिलाई पुनः उँभो ल्याइन्छ । यस क्रियालाई ‘गनेद्यः थाहाँ बिज्याकगु भनिन्छ । उँभो ल्याएर महालक्ष्मी मन्दिर प्राङ्गणमा उत्तरतिर फर्काएर राखिएको खटमा प्रतिस्थापन गरिन्छ । त्यसपछि महालक्ष्मीको धातुको मूर्र्ति पनि अर्को खटमा विराजमान गराइन्छ । 

अर्कोतिर भैरव गुठीका देसार गुठीयारले वाकुननी टोलबाट भैरवरूपी जाँड भरिएको क्वँद्यः (भैरवको मुकुण्डोसहितको घ्याम्पो) लाई मण्डःम्ये (मण्डपमा बलि दिइएको राँगो) को आन्द्रा फुकेर बनाइएको मालासमेतले सिँगारपटार गर्छन् । सोही क्वँद्यः लाई दुई जनाले नोलमा बोकेर गाउँको पुच्छारमा रहेको च्यानडोलस्थित ‘लात्याख्यः पीठ’ (अनन्त भैरवस्थान, मसानघाट) मा बाजागाजासहित जात्रा गर्दै लग्छन् । त्यहाँ लग्दा नासःद्यः को अघिल्तिर बिसाएर हाँसको बलिसहित पूजा गरिन्छ । त्यसपछि कतै नबिसाएर लात्याख्यः पु¥याइन्छ । त्यहाँ व्रतालुबाट पूजाआराधना गरी सहभोज गरिन्छ । कपाली (कुसुले) को अगुवाइमा सहभोज गर्दा देसार, कपाली र अन्य जात्रालु लस्करै घँुडामा घुँडा जोडेर भोज खाने गर्छन् । त्यहाँ पस्किएको भाग सबै खानैपर्ने परम्परा छ भने छुवाछुतको कुनै अर्थ राखिन्न । सबै मिलिजुली सहभोजमा सरिक हुन्छन् । यसलाई जातीय सहिष्णुता भन्न सकिन्छ । भोज सकिएपछि क्वःद्यः चाफल टोलमा ल्याएर चाफल टोलको भैरव मण्डः मा स्थापना गरिन्छ । यो रात अति व्यस्त रात मानिन्छ । आदिनारायण जात्रा, सिद्धिविनायक र महालक्ष्मीको खटारोहण र अनन्त भैरवको स्थापना गर्दागर्दै रात छर्लङ्ङै हुन्छ ।

जात्राको अन्तिम दिन अर्थात् मार्ग कृष्ण प्रतिपदा मुख्य जात्राको दिन हो । प्रतिपदाको बिहानै महालक्ष्मी मन्दिरको प्राङ्गणमा खटारोहण गरिएका महालक्ष्मी र सिद्धिविनायकको विधिपूर्वक पूजाआराधना गरिन्छ ।   

सिन्दूरजात्राका लागि कोतघरबाट सरकारी गुठीका जुवाः (पुजारी) हरू, द्वारे, गुठियार, नगरप्रमुख तथा नगरका प्रतिष्ठित व्यक्तिका साथै जात्रालुको उपस्थिति रहन्छ । श्रद्धालु तथा गुठीका आठ/आठ युवाले महालक्ष्मी र गणेशका छुट्टाछट्टै खट बोकेपछि सिन्दूरजात्रा प्रारम्भ हुन्छ । 

सर्वप्रथम सिद्धिविनायकको खट आठ जनाले बोकेपछि महालक्ष्मीको खट पनि आठ जनाले नै बोक्छन् । झ्याली, झ्याम्टा, धिमे, नायखीँ, काः, म्वायली बाजाका तालमा खट नचाइन्छ । महर्जन थरका एक जना डमरु बजाउँदै खट समातेर अघि अघि कुदिरहेका हुन्छन् । दुवै खटको पछाडि एक जना मानिसले ठुलो रङ्गीचङ्गी छत्र ओडाएर फनफनी घुमाइरहन्छ । 

बेला बेलामा मन्दिरको दायाँतिर रहेको सत्तल (हाल चन्द्रागिरि नगरपालिका–४ को कार्यालय रहेको) को पिँढीमा बसेका गाउँका द्वारेलगायत गण्यमान्यबाट सिन्दूरले अभिषेक गर्ने गरिन्छ । यसलाई सिन्हः फयगु भनिन्छ । यही त हो सिन्दूरजात्राको रोचकता । त्यसपछि सिन्दूरमय बन्छ वातावरण ।

सिन्दूरजात्रा दुई/तीन घण्टासम्म लगातार चलिरहन्छ । त्यसै क्रममा खटहरू पालैपालो चाफलस्थित भैरवस्थानमा समेत परिक्रमा गर्न पु¥याइन्छ । त्यसपछि खटहरू ताहाफलतिर लगिन्छन् । दिनभर नगर परिक्रमा गराई विभिन्न टोलमा पूजा थाप्ने गरिन्छ । दिनभर भोजभतेर चलिरहन्छ । 

साँझमा खटहरू झ्यालिम्पाटीको पश्चिमतिरको बद्रीनारायण मन्दिरनिर लगिन्छ र सरकारी पूजा गरिन्छ । अनि सँगै रहेको कोतघर घुमाउँदै चाफलमा स्थापित क्वँद्यः (भैरवरूपी घ्याम्पो) लाई परिक्रमा गरेर द्यः त्वाय् चियगु (देवता मित लाउने) कार्य सम्पन्न गर्न तःसि इनेगु (बिमिरो साटासाट) गरिन्छ । 

त्यसपछि महालक्ष्मी र सिद्धिविनायकको खट नासः (नाट्येश्वर) स्थानमा ल्याइन्छ भने क्वँ द्यः पनि नासः मै ल्याएर देवताको मिलन गराइन्छ ।

यसरी थानकोटमा अनन्तकालदेखि बर्सेनि अनुष्ठान गरिने सिन्दूरजात्रा वा सकिमरः वा महालक्ष्मी जात्रा जे भने पनि महालक्ष्मी, आदिनारायण र अनन्त भैरवको मिलिजुली जात्रा हुन्छ । यसबाट मानव समाजमा पनि भाइचारा र मिलिजुली बस्नुपर्ने सन्देश दिइरहेको देखिन्छ । सामूहिक भावना ओतप्रोत हुनु नै यस जात्राको सबल पक्ष हो । यस्ता सांस्कृतिक सम्पदाको जगेर्ना हुनु पर्छ, संरक्षण गर्नु हामी सबैको कर्तव्य पनि हो । हैन त ?   

Author

तेजप्रकाश श्रेष्ठ