• २८ पुस २०८१, आइतबार

नेपालगन्जबाट यातायात कार्यालय सर्ने हल्ला मात्र हो: मन्त्री न्यौपाने

blog

कमल खत्री

धम्बोझी, मङ्सिर १ गते । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जबाट यातायात कार्यालय सर्न लागेको हल्ला मात्र भएको बताउनुभएको छ । 

नेपालगन्ज उपमहानगरपालिकामा भएको छलफलका क्रममा मन्त्री न्यौपानेले नेपालगन्जमा यातायात कार्यालय सर्ने नभएर कोहलपुरमा सेवा कार्यालय विस्तार गर्न लागिएको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘यो हल्ला कसरी आयो मलाई थाहा छैन । मलाई धेरैले फोन गर्नुभएको छ । सरकारी स्तरबाट कहीँ कतै नेपालगन्जबाट कार्यालय सार्ने बारेमा निर्णय भएको छैन । बरु नेपालगन्जको कार्यालयलाई बरु अहिले सहज हुने ठाउँमा हुनु पर्छ भन्ने हो ।’

कोहलपुरमा सेवा कार्यालय विस्तार गरेर राजमार्ग क्षेत्रमा सवारीसाधन नवीकरण, राजस्व तिर्नका लागि सेवाग्राहीलाई सहज होस भनेर सेवा कार्यालय खोल्नमा सहयोग गर्ने तयारी भएको मन्त्री न्यौपानेले बताउनुभयो । नेपालगन्जमा रहेको यातायात कार्यालय हाल भाडाको घरमा रहेको छ । 

नेपालगन्जको कबुलियतनामा रहेको कार्यालय आम नागरिकका लागि सहज ठाउँमा नभएको भन्दै विरोध हुँदै आएको छ । यातायात कार्यालयका प्रमुखले राजनीतिक प्रभाव र आर्थिक लोभमा यातायातको कार्यालयलाई जनताको पाएका नपर्ने ठाउँमा सारेको नेपालगन्जका स्थानीयहरूले आरोप लगाउँदै आएका छन् । 

छलफलका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले यातायात कार्यालयका लागि जग्गा उपलब्ध गराउनका लागि कार्यदल बनाएर काम गर्ने बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘हामी छिटै उपयुक्त ठाउँ खोजेर यातायात कार्यालयलाई उपलब्ध गराउनेछौँ । बाँकेको सदरमुकाम नेपालगन्जबाट यातायात कार्यालय सार्ने कुरा कदापि राम्रो होइन । बरु अन्य ठाउँमा सेवा विस्तार हुनु राम्रो हो । त्यसमा हाम्रो कुनै आपत्ति छैन ।’

नेपालगन्ज उप महानगरपालिकाको कार्यालयमा भएको छलफलमा १ नम्बर वडा अध्यक्ष प्रमोद रिजाल, १८ नम्बर वडा अध्यक्ष दीपक बर्माले यातायात कार्यालय नेपालगन्जबाट सार्ने षडयन्त्र भइरहेकोले यस्तो नगर्न मन्त्रीलाई आग्रह गर्नुभएको थियो ।