• २८ पुस २०८१, आइतबार

पालिकामा हुलाक, घट्दै सेवाग्राही

blog

पालिकामा स्थापना गरिएको हुलाक कार्यालय  । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता 

तानसेन, मङ्सिर १ गते । पाल्पाका आठ वटा स्थानीय तहमा पालिकास्तरीय हुलाक कार्यालय सञ्चालनमा आएका छन् । जिल्लाभर रहेका १३ वटा इलाका हुलाक कार्यालय खारेज गरिएपछि पाल्पाका आठ पालिकामा हुलाक कार्यालय स्थापना गरिएको हो ।

जिल्लाको निस्दी, रामपुर, पूर्वखोला, माथागढी, रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ र तानसेनमा पालिकास्तरीय हुलाक कार्यालय स्थापना भई सञ्चालनमा आएको छ । बगनासकाली र रम्भामा पनि तत्कालै कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टङ्क भण्डारीले जानकारी दिनुभयो । पालिकासँगको समन्वयमा आठ स्थानमा हुलाक कार्यालयको सेवा सञ्चालनमा आएको उहाँले बताउनुभयो । 

यस्तै जिल्लाभरि रहेका साबिकका ५२ अतिरिक्त हुलाक कार्यालयमध्ये आठ वटा खारेजीमा परेका छन् । सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी ५८ वर्ष उमेर पुगेको अवस्थामा त्यस कार्यालयलाई स्वतः खारेज गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार पाल्पाका ५२ मध्ये आठ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएको भण्डारीले जानकारी दिनुभयो । अब जिल्लामा ४४ वटा अतिरिक्त हुलाक कार्यालयसहित १० पालिकामा १० वटा पालिकास्तरीय हुलाक कार्यालय रहने छन् । 

दुई दशकअघि चिठीपत्रले भरिभराउ हुने हुलाक कार्यालय पछिल्लो समय चिठीपत्रविहीन जस्तै भएका थिए । सूचना र प्रविधिमा आएको विकासले हुलाक कार्यालय सेवा खुम्चिँदै गएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला हुलाक कार्यालय पाल्पाले २१ हजार ३४० वटा साधारण, रजिस्ट्री चिठीपत्र, पत्रपत्रिका, बुकपोस्ट, बिमा चिठी, इएमएस आदानप्रदान गरेको थियो । 

हुलाक कार्यालयले दिएको सेवाको मुख्य काममध्ये स्थानीय पत्रपत्रिका हुलाकमार्फत सम्बन्धित स्थानमा पु¥याउने पनि रहेको छ । कार्यालयले दिने सेवाग्राही हरेक वर्ष घट्दै गएको जिल्ला हुलाक अधिकृत जयदीप पन्थीले बताउनुभयो । सूचना र प्रविधिको विकाससँगै हुलाक कार्यालयबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या घट्दै गएको उहाँले बताउनुभयो । 

पछिल्लो समय हुलाक कार्यालयले पत्रपत्रिका प्रकाशनको अनुगमन गरेर लोककल्याणकारी विज्ञापनको भुक्तानी दिने, सूचना विभागबाट जारी पत्रकार परिचयपत्र वितरणमा सहजीकरण गर्ने, टिभी, रेडियोको नवीकरण, लोककल्याणकारी विज्ञापनको भुक्तानी र अनुगमनको काम पनि गरिरहेको छ ।