• २८ पुस २०८१, आइतबार

पुल बनेपछि स्थानीय खुसी

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर १ गते ।  रुपन्देहीको गैँडहवा गाउँपालिका–९, सुखौली र किसुली गाउँ जोड्ने इन्गुरिया खोलामा पुल निर्माण भएपछि स्थानीयलाई ठुलो सुविधा पुगेको छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीय गैँडहवा गाउँपालिका र सैनामैना नगरपालिकाका हजारौँ किसानलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सुविधा पुगेको छ । स्थानीय कृषकले उत्पादन गरेको तरकारी बुटवल पु¥याउन पुल नहुँदा चार/पाँच किलोमिटर घुमेर जानुपर्ने बाध्यता अहिले अन्त्य भएको छ । 

वर्षायाम आउनासाथ स्थानीय जनता पुल नहुँदा सैनामैनाको बजार र बुटवल बजार जानै सक्दैनथे तर अहिले अवस्था फेरिएको छ । पुल बनेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दाको जीवनमा अहिले आमूल परिवर्तन आएको छ । 

स्थानीय हसनापुरका सन्तबहादुर मगरले गैँडहवाको हसनापुर, कुटवा, सूर्यपुरा, किसुली, सुखौली, डेलवा, भाटालगायत क्षेत्रका जनता पुल नहुँदा घुमाउरो बाटो प्रयोग गर्न बाध्य हुनु परेको बताउनुभयो । सैनामैना नगरपालिका र गैँडहवा गाउँपालिकामा बसोबास गर्ने स्थानीयले इन्गुरिया नदीमा पुल नहुँदा वर्षायाममा वर्षौंसम्म दुःख पाएको बताउँछन् । 

पुल नहुँदा पहिला आफ्नै पालिकाको विभिन्न वडा पुग्न गैँडहवाका स्थानीयले निकै सास्ती पाएको गैँडहवा डेलवाका रामतुल्लाह यादवले बताउनुभयो । 

गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले इन्गुरिया नदीमा पुल नहुँदा स्थानीयले निकै सास्ती पाएको बताउँदै अहिले पुल निर्माण भएपछि स्थानीय सयौँ घरपरिवारलाई निकै सुविधा पुगेको बताउनुभयो । उहाँले अब स्थानीयले उत्पादन गरेको तरकारी बुटवल लैजान सुविधा पुगेको र यसले समय र पैसा दुवै बचत भएको बताउनुभयो ।