• २८ पुस २०८१, आइतबार

अघि बढेन पुनर्निर्माण

blog

२०८१ भदौमा मनसुनजन्य विपत्बाट घरबास गुमाएका त्रिपुरासुन्दरी गाउँपालिका–४, पिस्करका विस्थापित परिवारका टेन्ट ।

चित्र मिजार

सिन्धुपाल्चोक, मंसिर १ गते । मनसुनजन्य विपत्बाट घरबास गुमाएका सिन्धुपाल्चोकका प्रभावितको निजी आवास चार वर्षसम्म पनि बन्न सकेका छैनन् । २०७७ सालदेखि घरबास गुमाएर विस्थापित भएका परिवारको अहिलेसम्म निजी आवास बन्न नसकेको हो ।

विपत्जन्य घटनाबाट विस्थापित हुने एक हजार ७७४ जना लाभग्राहीको सूचीमा समावेश भएका छन् । चार वर्षसम्ममा बल्ल ११३ परिवारको मात्रै निजी आवास पुनर्निर्माण भएको छ । यति लामो समय हुँदासमेत निजी आवास बनाउन नसकेका विस्थापित मनसुनजन्य विपत्को समयमा पनि जोखिम मोलेरै अस्थायी टहरामा बस्न बाध्य छन् । कतिपय विस्थापित डेरामै बस्दै आइरहेका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पुनर्निर्माण र पुनस्र्थापनाका लागि समयमा नै अनुदान रकम भुक्तानी नहँुदा विस्थापितले लामो समयसम्म कन्तबिजोग अवस्थामा बस्नु परेको हो । प्राधिकरणले अनुदानबापतको रकम समयमा नै भुक्तानी नदिएपछि विस्थापितले निजी आवास पुनर्निर्माण गर्न नसकेका हुन् । विस्थापितले प्राधिकरणलाई अनुदानबापतको रकम उपलब्ध गराउन पटक पटक माग गरे पनि कुनै सुनुवाइ भएको छैन ।

विस्थापितले अनुदान सम्झौता गरेको चार वर्ष बितिसक्दा पनि प्राधिकरणले उनीहरूको आवास पुनर्निर्माणबारे चासो नै नदिई बसेको पीडितको आरोप छ । बाह्रबिसे नगरपालिका–३, खाग्दलकी कमलादेवी कार्कीले प्राधिकरणले विस्थापितको पीडाप्रति बेवास्ता गरेको आरोप लगाउनुभयो । छिटोभन्दा छिटो अनुदान रकम दिलाउन प्रभावितले सरकारसँग माग गरेका छन् । बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गापा, सुनकोशी गापा, बलेफी गापा, जुगल गापा, मेलम्ची नगरपालिका, हेलम्बु गापा, पाँचपोखरी गापा, इन्द्रावती गापालगायतका स्थानीय तहमा मनसुनजन्य विपत्का कारण ठुलो सङ्ख्यामा स्थानीय विस्थापित हुनु परेको थियो । मनसुनजन्य विपत्मा उनीहरूले घरजमिनका साथै परिवारका सदस्यसमेत गुमाउनु परेको थियो । 

प्राधिकरणबाट अनुदानबापतको किस्ता नपाउँदा पनि केही विस्थापितले ऋण काढेर आवास पुनर्निर्माण गरेका छन् । किस्ता आएपछि साहुको ऋण तिर्ने उद्देश्यले ऋण काढेर घर बनाएकाहरू अहिलेसम्म किस्ताबापतको रकम नआउँदा साहुको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् । प्राधिकरणले पहिलो किस्ता उपलब्ध गराएपछि विस्थापितले आवास पुनर्निर्माणका काम थालेका थिए तर त्यसपछिका किस्ता नआउँदा पुनर्निर्माण थालिएका निजी आवास अलपत्र अवस्थामा छन् । दोस्रो, तेस्रो किस्ता हात नपर्दा विस्थापितले निजी आवासलाई गति दिन सकेका छैनन् । 

सरकारले पश्चिम नेपालका भूकम्पपीडितलाई समावेश गरेर नयाँ एकीकृत कार्यविधि निर्माण गर्ने र सोही अनुरूप आवास पुनर्निर्माण गरी अनुदान रकम उपलब्ध गराउने भन्दै प्राधिकरणले चार महिना भुक्तानी रोकेका कारण सिन्धुपाल्चोकमा मनसुनजन्य विपत्बाट विस्थापितको आवास निर्माणमा ढिलाइ भएको हो । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी किरण थापाले मनसुनजन्य विपत्बाट विस्थापित भएकाको निजी आवास पुनर्निर्माणमा सरकारले नयाँ कार्यविधि ल्याउन ढिलाइ गरेको, केही पालिकाले जग्गा खरिद गर्न नसकेको र प्रजिअ फेरिएको लगायतका कारणले पुनर्निर्माण ढिलाइ भएको जानकारी दिनुभयो । अब विस्थापितको निजी आवास पुनर्निर्माणले गति लिने उहाँले बताउनुभयो । मनसुनजन्य विपत्का विस्थापित लाभग्राहीलाई हालसम्म ३४ करोड रुपियाँ बाँडिएको समितिले जनाएको छ ।