• ४ पुस २०८१, बिहिबार

मनरासिसवामा नसर्ने रोग बढ्दै

blog

नगरपालिकाका स्वास्थ्यकर्मी टोल टोल पुगेर स्वास्थ्य जाँच गर्दैै ।

महोत्तरी समाचारदाता

महोत्तरी, कात्तिक ३० गते । महोत्तरी जिल्लाको मनरासिसवा नगरपालिकामा नसर्ने रोगहरू बढ्दै गएको देखिएको छ ।  नगरपालिकाले घरदैलो कार्यव्रmममार्फत स्वास्थ्य सेवा दिन थालेपछि नसर्ने रोगीको सङ्ख्या बढ्दै गएको देखिएको हो । स्थानीय बासिन्दाको घर घरमा गएर सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा दिन थालिएपछि नगरभित्र नसर्ने रोगीको सङ्ख्या बढी देखिएको स्वास्थ्य संयोजक रामचन्द्र यादवले बताउनुभयो ।

उहाँले एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोगलाई नसर्ने रोग भनिएको बताउनुहुँदै प्रत्येक महिना १० दिन नगरपालिकाको सबै वडामा स्वास्थ्यकर्मी घर घर पुगेर निःशुल्क जाँच तथा परामर्श दिने गरेको जानकारी दिनुभयो । उपचारको पहुँचमा आउन नसकेकाको स्वास्थ्य परीक्षण गरी जोखिम पत्ता लगाउने, जोखिममा रहेका तथा रोग लागेकालाई उपचार गर्ने, रोग लाग्नै नदिने उपाय गाउँ गाउँमा फैलाउनेलगायतका कार्यव्रmम यस अन्तर्गत सुरु गरिएको नगरप्रमुख मोहन पाण्डेयले जानकारी दिनुभयो । उहाँले हामीलाई प्राप्त डाटा अनुसार नगरपालिकामा प्रेसर (उच्च रक्तचाप), मधुमेह (चिनी रोग), श्वासप्रश्वासको समस्या बढी सङ्ख्यामा देखिएको छ । 

नगरपालिकाको इटहर्वाकट्टी स्वास्थ्य चौकीमा कार्यरत रहनुभएका सिअहेब राजेश साहले ज्येष्ठ नागरिक र बालबालिकालक्षित गरी घरदैलो सेवा प्रदान गरिरहेको बताउनुहँुदै अहिलेसम्मको आकलन अनुसार १० प्रतिशतमा उच्च रक्तचाप तथा पाँच प्रतिशतमा मधुमेह देखिएको छ ।

उहाँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा साउनदेखि असोजमा ११ हजार जनामा गरिएको चेकजाँचमा एक हजार १३४ जनामा उच्च रक्तचाप देखिएको तथा तीन हजार ७६८ जनामा मधुमेह चेक हुँदा ७७३ जनामा शङ्कास्पद रूपमा मधुमेह देखिएको बताउनुभयो । उच्च रक्तचाप तथा मधुमेह पुरुषभन्दा बढी महिलामै देखिएको बताउनुहुँदै नसर्ने रोग बढ्दै गएको बताउनुभयो ।

आधारभूत नगर अस्पताल मनरासिसवाका कार्यालय प्रमुख भारती यादवले प्रायः व्यक्तिको जीवनशैली, खानपिन, आनीबानी, व्यवहार, हार्मोनको असन्तुलन जस्ता विभिन्न कारणले नसर्ने रोग हुने गरेको भए पनि कतिपय यस्ता रोग कहिलेकाहीँ वंशाणुगत कारणले समेत सर्ने गरेको बताउनुहुँदै नगरपालिकामा चेकजाँच भइरहेको भन्दा ती रोगीको सङ्ख्या बढी हुन सक्ने बताउनुभयो । उहाँले खानपिन तथा जीवनशैलीमा सुधार हुँदैन तबसम्म यी रोग र रोगीको सङ्ख्या बढ्दै जाने बताउनुभयो ।

नगरप्रमुख पाण्डेयले उच्च रक्तचाप र मधुमेह रोग संवेदनशील हुनुका साथै यो रोग लागिसकेपछि पूर्ण रूपमा निर्मूल पार्न कठिन भएकोले सबैलाई सचेत गराउन लागिपरेको बताउनुभयो । यी रोगलाई नियन्त्रणमा लिन योगलाई अगाडि बढाएको जानकारी दिनु हुँदै आनीबानी सुधार्न तथा मद्यपान, मांसाहारी त्यागका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत गरिरहेको बताउनुभयो