विकास सबैका लागि अत्यावश्यक हुन्छ । विकासको विपक्षमा कोही हुँदैन । संसारका सबै मानिस विकास, उन्नति र प्रगति कसरी हुन्छ वा गर्न सकिन्छ चिन्तनमा डुबेका हुन्छन् । सृष्टिको आदिकालदेखि नै व्यक्ति, समुदाय, समाज र राष्ट्र यसको पक्षमा मरिमेटेर लागि परेको पाइन्छ । विकास नामले एउटै भए पनि मोडल फरक फरक हुन सक्छन् वा छन् । हामी बाँचेको संसार साँघुरो नभएर फराकिलो छ ।
विकासका पनि आफ्ना चरण, परिधि र सीमा छन् । यो गति समातेर अगाडि पाइला बढाइरहेछ । तथापि विकास भएर सकियो भन्ने संसारका कुनै पनि ठाउँ छैन । पुग्यो अब चाहिँदैन यो कसैले भनेको छैन । यसबाट पुष्टि हुन्छ विकास निरन्तर चलिरहने प्रक्रिया हो । आवश्यक प¥यो भन्दैमा जबर्जस्ती वर पर सार्न पनि सकिँदैन । जहाँ र जहिले गरिने विकास कार्यमा पनि धैर्य आवश्यक छ । धैर्य गुमाएर हतारो–चटारोमा गरिएको काम दिगो र स्थायी हुन सक्दैन । तत्काल मन बुझाउन सकिए पनि प्रयास अन्त्यमा पूर्ण असफल बन्ने सम्भावना बढी छ । यही कारण विकासका लागि धैर्य र निरन्तरता आवश्यकता पर्छ भनिएको हो ।
हाम्रो देशमा विशेष गरी वर्षा याममा बाढी, पहिरो, भेल र डुबानले सोच्दै नसोचेका दुःख कष्ट र अप्ठ्यारा असजिला निम्त्याउने गरेका छन् । ठुलो धनजनको क्षति हुने गरेको छ । महिनौँसम्म बाटाघाटा अवरुद्ध बन्ने गरेका छन् । ठुलो सङ्ख्यामा मानिस घरबार विहीन हुने गर्छन् । नचाहँदा नचाहँदै पनि हामी नेपाली त्यो बबन्डर भोग्न वा सहन बाध्य छौँ । वर्षौंवर्ष लगाएर दुःख कष्टका साथ बनाइएका भौतिक संरचना क्षणभरमै ध्वस्त हुन्छन् । हामी मुकदर्शक बन्नुभन्दा बढी केही गर्न सक्दैनौँ । ठुलो सङ्ख्यामा मानवीय क्षतिसमेत हुने गरेको छ । कैयौँ परिवार दुःख कष्टको सागरमा चुर्लुम्म डुब्न विवश हुन्छन् । जस्तोसुकै अप्ठेरा, असजिला र पीडा पाए पनि जीवन धान्नु नै पर्छ यसर्थ ती क्षणभरमा भएका यस्ता कुरा काखी च्यापेर जीवनभर बाँच्न बाध्य बन्छन् । ध्वस्त भौतिक संरचनाभित्र साराका सारा कल्पना, सपना, जपना क्षणका क्षण डुब्छन्, पुरिन्छन् र बग्छन् तर हामी केही गर्न सकिरहेका हुँदैनौँ । परिस्थिति काबुभन्दा धेरै बाहिर गइसकेको हुन्छ ।
विकास एउटा गति समाएर निरन्तर चलिरहने प्रक्रिया हो । विकासका लागि काम गर्नेहरूले धैर्यता काँधमा बोकेर त्यसलाई आफ्नै गतिमा छाडिदिँदा राम्रो हुन्छ । विकासले हतारो चटारोको भाषा बुझे पनि पचाउन सक्दैन । बरु यसका कारण भइरहेको काम पनि भताभुङ्ग हुने सम्भावना प्रबल रहन्छ । हिजोसम्म विकास निर्माणका नाममा एउटा सिन्कासम्म नभाँचेर आफ्नै संसारमा मख्ख परेर बसिरहेका हामी र हाम्रा आँखा आज संसारले वर्षौंवर्ष लगाएर गरेको विकास निर्माण देखेर अचम्ममा परेका छन् । मनहरू उकुसमुकुस भएका छन् । उनीहरूले कसरी र कति समय लगाएर त्यस्ता काम गरे, हाम्रा ध्यान त्यतातिर पटक्कै जान सकिरहेका छैनन् । यसको अरूका विकास देखेर ईष्र्या लागेको छ । मनमा रहर चुलबुल–चुलबुल गरिरहेका छन् । आँखा हतारिएका र चटारिएका छन् ।
मनका हुटहुटीले हामीलाई पछि पछि पारिरहेको छ । तिनीहरूका परिश्रम, मेहनत, त्याग, लगनशीलता, चाहिना र अभिलाषातिर ध्यान पटक्कै जान सकिरहेका छैनन् । यिनै कुरा मनन गर्न नसक्दा हामी पछाडि परिरहेका हौँ । देशको विकास प्रक्रिया र लय हाम्रो गति जस्तै छ । हामी अरू देश जस्ता नभएर हामी जस्तै छौँ । चरित्र बिलकुल हाम्रो जस्तै छ । अनि चाहना र आवश्यकता हामी जस्तै छन् । यथार्थ के हो भने चाहे अरूबाट मनग्गे सिक्न सकिन्छ । थाहा पाउन, जान्न र बुझ्न सकिन्छ । सत्य के भने अरूका अनुकरणमा गरिएका विकास निर्माण दिगो नहुने सम्भावना प्रबल रहन्छ । हामी बाँचेको र नाचेको भूगोलमा तात्त्विक भिन्नता छ । पहाड चुचुरा, गल्छी, खोँच, भन्ज्याङ र जमिनका स्वरूपमा भिन्नता छ । यसर्थ विकास निर्माणमा गति बढाउँदा माथिका कुरामा ध्यान पु¥याउनु आवश्यक छ । विकास निर्माण कार्यमा ध्यान नपु¥याएकै कारण बर्सेनि क्षति बेहोर्दै दुःखद घटना सहन गर्नु परिरहेको हो । यथा समयमा जिम्मेवार निकाय गम्भीर बने यस्ता दुःखद प्रकृतिका घटना न्यूनीकरण हुन सक्छन् तर पनि हाम्रो सोच त्यो दिशातिर अघि बढ्न सकिरहेको छैन ।
वर्तमानमा हामी विकास निर्माण भन्नाले डोजर र सिमेन्टको उपयोगलाई मात्र बुझिरहेका छौँ । हाम्रा बस्ती, खोला–नाला, पहाड, चुली थुम्का र चुचुराहरूका भौगोलिक अवस्था के छन्, त्यता ध्यान दृष्टि पुग्न सकिरहेको छैन । भौतिक निर्माणका लागि विशालकाय औजार प्रयोग गर्दा तिनीहरू धान्न सक्छन् कि सक्दैनन्, कस्तो वातावरणीय प्रभाव पर्छ यो पाटोतिर सोच पटक्कै पुग्न सकिरहेकै छैन । पुगे पनि हामी हेलचेक्र्याइँ गरिरहेका छौँ । वर्तमानमा गरिएको कामले भविष्यमा अप्ठेरो अवस्था निम्तिन्छ कि निम्तिदैन यता पनि सोच पुग्न नसकिरहेको अवस्था छ । विकासबाट मानिस मात्र नभएर वन वनस्पति, जीवजन्तु, जनावर र जलचरको स्वतन्त्र आवागमनलाई अवरोध पु¥याउन पाइँदैन । तिनीहरूको उपस्थिति बिनामानव समाजको कल्पना गर्न सकिँदैन । पुराना गाउँबस्ती तहसनहस हुने गरी गरिएको विकास वास्तविक विकास हुन सक्दैन । यसर्थ विकास निर्माण गर्दा त्यो परिधिमा बस्ती छन् कि छैनन् र भए के कस्तो स्थितिमा छन् त्यो कुरा ख्याल राख्नु अति आवश्यक छ ।
हिजो आज विकासका नाममा विशालकाय औजारको प्रयोग बढिरहेको छ । मानवीय श्रमको मूल्याङ्कन हुन छाडेको छ । निर्वाध रूपमा ती औजार खोलाभित्र छिरेका छन् । डाँडा पाखामा निर्विवाद कुदेका छन् । तिनका कदमले पानीका मुहान पुरिएका छन् । चौतारा र पाटीपौवा भत्किएका छन् । गाउँबस्ती तिर्खाले आकुलब्याकुल छन् । आवाज सशक्त रूपमा उठ्न सकिरहेको छैन । हामी विकास भनेको यही मात्र हो भनेर बुझिरहेका छौँ । विकास आज नभएर भोलिका लागि गरिने काम हो । हामी ‘तातै खाउँ जली मरौँ’ को स्थितिमा छौँ । यस्ता कामले भविष्यमा कस्तो असर पर्ला ध्यान पु¥याउन सकिरहेका छैनौँ । यही विडम्बनाले हामीलाई पिरोलिरहेको छ । भविष्यमा कहिलेसम्म पिरोल्छ यसै भन्न सकिने स्थिति छैन । हामी सिमेन्टका पक्की घर बनाएका छौँ तर पानी जाने खुला ठाउँ राखेका छौँ । व्यक्तिगत लाभका लागि खोलानाला च्यापेका छौँ । भास पुरेका छौँ । डाँडापाखामा सकेसम्म डोजर डुलाएका छौँ । अहिले त केही खुसी देला तर भावी सन्तानका लागि यी काम अभिशाप बन्ने सम्भावना प्रबल छ ।
हामी नेपालीले बर्सेनि जसो वर्षायाममा भोग्नु परिरहेका धेरैभन्दा धेरै दुःख, पीडा, असजिला र अप्ठेराहरूका मूल कारण हामी नै हौँ । सोचमा परिवर्तन ल्याउन सके यस्ता समस्याबाट पार पाउन कठिन छैन । बाटो हाम्रो सामूहिक हो र सबैलाई चाहिन्छ, यतातिर ध्यान जान सकिरहेको छैन । हाम्रा गाउँ बस्तीमा सीमित व्यक्तिका सुविधाका लागि पनि पहुँचका आधारमा डोजर कुद्छन् । खोलानाला अनधिकृत रूपमा प्रयोग गरिन्छन् । विकास निर्माणमा पनि आफ्नोभन्दा अरूका नजर कामयाबी मानिन्छन् ।
हाम्रा आँखाले आजको लागि मात्र हेर्छन् भोलि वा पर्सितिर पटक्कै नजर जाँदैन । एउटा कुरा के सत्य हो भने विकास निर्माणका लागि सिमेन्ट र डोजर आवश्यक कुरा हुन् तर सबैथोक होइनन् । यसमा सबैभन्दा पहिले विश्वस्त हुनु जरुरी छ । अझ महत्वपूर्ण कुरा त काम गर्ने ठाउँ वा क्षेत्रको वातावरणीय र भौगोलिक अध्ययन तथा भविष्यमा कस्तो असर पर्ला भनेर संवेदनशील बन्दै कामको सिलसिला अगाडि बढाउनु हो । अन्धाधुन्ध रूपमा गरिएका यस्ता कामहरूले भविष्यमा निम्त्याउने दुःख, पीडा र असजिला मात्र हुन् । यसर्थ सम्बन्धित व्यक्ति, निकाय र क्षेत्रको ध्यान यतातिर जानु अति आवश्यक छ ।