• ११ पुस २०८१, बिहिबार

राष्ट्रिय परिचयपत्र बनाउनेको भिड

blog

नागरिकता बनाउन आएका सेवाग्राही । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, कात्तिक २९ गते । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा पछिल्ला केही दिनदेखि सेवाग्राहीको भिड लाग्ने गरेको छ । दसैँ, तिहार सुरु भएसँगै सेवाग्राहीको सङ्ख्या बढेपछि केही दिनयता भिड नै लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यसका साथै अन्य सिफारिसका लागि समेत आउने सेवाग्राहीको सङ्ख्या पनि बढेको सो कार्यालयले जनाएको छ । सेवाग्राहीको चाप बढेपछि अन्य सरकारी कार्यालयको जनशक्तिसमेत प्रशासनमा थप गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार कार्यालय समय सुरु हुनुभन्दा पहिल्यै सेवाग्राही कार्यालयको ढोकामा आइसकेका हुन्छन् । मङ्गलबार मात्र कार्यालयबाट ९२ वटा नयाँ र ३१ वटा प्रतिलिपि गरेर १२३ वटा नागरिकता जारी गरिएका छन् । चाडपर्व सुरु हुनुभन्दा पहिला दैनिक १५ देखि २० वटा नागरिकता जारी हुने गरेको प्रशासनको भनाइ छ । सोमबार पनि ७५ वटा नयाँ र ३१ वटा प्रतिलिपि गरेर १०६ वटा नागरिकता जारी भएका थिए । मङ्गलबार ६१ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ भने १० वटा वितरण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले एकै दिन ४६ जनाको राहदानी सिफारिस गरिएको र आठ वटा वितरण गरिएको जनाउनुभयो । जिल्लाभन्दा बाहिर गएकाहरू चाडपर्वको बेला घर आएको मौकामा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीलगायत अन्य सिफारिस बनाउने भएकाले भिड लाग्ने गरेको सहायक प्रजिअ रेग्मीले बताउनुभयो । 

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालयले अन्य कार्यालयबाट कर्मचारी मगाएर जनशक्ति थप गरेको छ । कारागार कार्यालयबाट र निर्वाचन कार्यालयबाट एक/एक जना कर्मचारी मगाएर काममा लगाइएको छ भने प्रशासनकै अन्य शाखाका कर्मचारीलाई समेत नागरिकता शाखामा खटाइएको छ । यसका साथै भिड व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीसमेत थप गरिएको छ । सेवाग्राहीको चाप अझै बढेमा जिल्ला हुलाकलगायत कामको चाप कम हुने अन्य कार्यालयबाट कर्मचारी थप गरिने प्रशासनले जनाएको छ ।