• २६ मंसिर २०८१, बुधबार

‘पश्चिम सेती बन्ने भइसकेको छ’

blog

अमरगढी समाचारदाता

डडेलधुरा, कात्तिक २९ गते । गृह जिल्ला डडेलधुरामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताउनुभएको छ । 

बुधबार गोरखापत्रकर्मीलाई छोटो प्रतिक्रिया दिँदै देउवाले भारतले पश्चिम सेती बनाउन लागेको उल्लेख गर्दै यो योजना बने राम्रो हुने बताउनुभयो । भारतको नवरत्न कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ । 

“पश्चिम सेती अब इन्डियाले बनाइदिने भन्या छ, त्यो धेरै राम्रो हो,” उहाँले भन्नुभयो, “करिब करिब बन्ने भइसकेको छ । पश्चिम सेती बन्यो भने त हामीलाई सजिलो हुन्छ ।” 

लगानी बोर्डका तत्कालीन निर्देशक सुशील भट्टका अनुसार एनएचपिसीले गत असार ५ गते डिपिआरको मस्यौदा बुझाएको थियो । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डिपिआर तयार हुने छ । अन्तिम डिपिआर तयार भएपछि परियोजना विकास सम्झौता (पिडिए) प्रक्रिया अगाडि बढ्ने छ ।

परियोजनाको अन्तिम डिपिआरले समग्र सामाजिक, आर्थिक, भौगर्भिक, प्राविधिक एवं वातावरणीय पक्षबारे जानकारी दिने छ । त्यस्तै परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारण लाइन निर्माण, 

वित्तीय स्रोतको उपलब्धतालगायतका विषयमा पनि डिपिआरले मार्गदर्शन गर्ने छ । डिपिआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा पिडिए हुने छ ।

यसअघिको अध्ययन अनुसार ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार ३२० मिलियन अमेरिकी डलर र ४५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।

गृह जिल्ला डडेलधुरा पुगेर विभिन्न देवीदेवताको मन्दिरमा गई पूजाआजा दर्शनसँगै नेता कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएका देउवाले थुप्रै योजना अधुरा रहेको र नयाँ निर्माण गर्न पनि आवश्यक भएको बताउनुभयो । उहाँले डडेलधुराको विकासका लागि योजनाहरूमा बजेट परिरहेको बताउनुभयो ।  

बिहीबार नवदुर्गा गाउँपालिका–१, चौरा र भागेश्वर गाउँपालिका–४, बगरकोट पुग्नुभएका देउवाले यी सडकहरू कालोपत्रे भएपछि निकै सहज भएको बताउनुभयो । देउवाले भन्नुभयो, “प्रजातन्त्रका लागि लड्दा, भनौँ २०४८ सालको चुनावमा म उम्मेदवार हुँदा हिँडेरै सबैको घरघर पुगेको हुँ । धेरैलाई चिन्थेँ । अहिले त गाउँमा कोही रहनुभएन । त्यो बेला गाउँमा रेडियो पनि कोही कोहीसँग मात्रै हुन्थ्यो । खानेपानीको साह्रै समस्या थियो । ओहो ! अहिले त धेरै गाउँमा खानेपानी, सडक पुगेको छ । सञ्चार जगत्को विकास भएको छ । अझै सडक चौडा पारेर कालोपत्रे गर्छु ।”देउवाले अजयमेरु गाउँपालिका–१, पुइलेकमा हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताउनुभयो । 

यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उहाँले बताउनुभयो । पछिल्लो एक दशकमा डडेलधुरामा एक दर्जन पक्की पुल निर्माण भएसँगै स्थानीयलाई निकै सहज भएको उहाँले बताउनुभयो ।