• ११ पुस २०८१, बिहिबार

उपनिर्वाचनको चहलपहल बढ्यो

blog

माओवादी केन्द्रले उम्मेदवार घोषणा कार्यक्रम गर्दै ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, कात्तिक २८ गते । उपनिर्वाचन नजिकिएसँगै महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा समेत चहलपहल बाक्लिएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादवको मृत्यु भएपछि सो ठाउँमा यही मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको छ । 

उपनिर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिकदलहरुको चहलपहल रामगोपालपुरमा सुरु भएको छ । अहिलेसम्म सो ठाउँमा वडाध्यक्षको लागि माओवादी पार्टीले मात्रै आधिकारिक रुपमा उम्मेदवार घोषणासहित घरदैलौ अभियान सुरु गरिसकेको छ भने अन्य दलहरू अहिले पार्टी प्रवेश तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिरहेको छ ।

दुई दिन अगाडी माओवादी केन्द्रले रामगोपालपुर नगरपालिका २ मोहनपुरमा आयोजना गरेको पार्टी प्रवेश तथा उम्मेदवार घोषणा कार्यक्रममा वडाध्यक्षको उम्मेदवारको घोषणा गरेको हो । माओवादीले उपनिर्वाचनमा रामगोपालपुर नगरपालिका २ का उम्मेदवार निर्वाचित वडाध्यक्ष स्वर्गीय मुकेश यादवको श्रीमती आइती कुमारी यादवलाई उम्मेदवार घोषणा गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेल, मधेश प्रदेशका पूर्व अर्थ मन्त्री भरत प्रसाद साह, जिल्ला इन्चार्ज राजु खड्का, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सूर्यनारायण साह लगायत पार्टीका कार्यकर्ता तथा जनसमुदायको उपस्थित रहेको थियो ।

यसैबिच, रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा एमालेले आफू यसपालि वडाध्यक्षमा जित्ने दाबी गरेको छ । घरदैलो अभियानमा स्थानीयवासी समेत रहनुभएका एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्री सरोज यादवले गत निर्वाचनमा सो वडामा चौथो रहेको पार्टीलाई पहिलो बनाएर पार्टीले अग्रता कायम गर्ने दाबी गर्नुभयो ।

एमालेले अहिले आधिकारिक रुपमा उम्मेदवार घोषणा नगरे पनि घरदैलो अभियानलाई तीव्रता दिएको छ । एमालेका स्थानीय नेताहरूले सकिबुल खाँलाई वडाध्यक्षको उम्मेदवारको रुपमा अगाडी सार्ने जनाएको छ ।

त्यसैगरी जसपा नेपालले पनि वडाध्यक्षको उपनिर्वाचनमा घरदैलो अभियान गरिरहेका छन् । पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री डा.सुरेन्द्र कुमार यादव र प्रदेश सभासद् सरोज सिंह कुशवाहासंगै अन्य नेता तथा कार्यकर्ताहरू घरदैलोमा व्यस्त छन् ।

दुई महिनाअघि मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष मुकेश यादवको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । रामगोपालपुर नगरपालिकामा रहेको ९ वडामध्ये प्रमुख, उपप्रमुखसहित वडा नं. ३,४ र ७ मा एमाले वडाध्यक्ष जितेको हो भने माओवादी केन्द्रले वडा नं. १,२,८ र ९ मा जितेको हो । 

गत निर्वाचनमा वडा नं. २ मा मुकेश यादव ४३३ मत पाएर वडाध्यक्षमा विजयी भएका थिए भने उनका प्रतिस्पर्धीहरू कांग्रेसका मोहोम्मद जनिफ खाँले ३७५ र जसपा नेपालका सकिबुल खाँले ३४२ मत पाएका थिए । एमालेका कादिर हुसैनले  २८७ मत प्राप्त गरेका थिए । अहिले परिस्थिति उल्टिएको छ । सो निर्वाचनपछि जसपाका सकिबुल खाँन एमाले प्रवेश गरेका छन्। 

सो वडामा २ हजार २ सय मतदाता रहेका छन् । उम्मेदवारी दर्ता अगावै स्थानीय नेताहरूले वडाध्यक्ष उम्मेदवारहरूको टुङ्गो लगाएको छ । माओवादीले यसअघि निर्वाचित मुकेशकै श्रीमती आइती कुमारी यादव, नेपाली काँग्रेसले पुरानै उम्मेदवार मोहम्मद जनिफ खाँ, एमालेले सकिबुल खाँलाई उम्मेदवार बनाउने जनाएको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालको तर्फबाट नजामुदिन खानलाई उम्मेदवार बनाउने तयारी रहेको छ ।