• २५ मंसिर २०८१, मङ्गलबार

गण्डकीमा कांग्रेस–एमालेको संयन्त्र गठन

blog

गण्डकी प्रदेशमा कांग्रेस र एमालेको संयन्त्र गठन गर्नेक्रममा नेताहरु ।

सन्तोष सुवेदी

कास्की, कात्तिक २८ गते । सत्ता साझेदार नेपाली कांग्रेस गण्डकी प्रदेश र नेकपा (एमाले) ले केन्द्रको निर्णयअनुसार गण्डकी प्रदेशमा पनि सत्तारुढ दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) को ६ सदस्यीय संयन्त्र गठन गरिएको हो ।

समितिमा कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, मुख्यमन्त्री तथा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र महामन्त्री विष्णुप्रसाद लामिछाने सदस्य हुनुहुन्छ ।एमालेबाट प्रदेश इन्चार्ज किरण गुरुङ, पूर्व मुख्यमन्त्री खगराज अधिकारी र प्रदेश अध्यक्ष नवराज शर्मा सदस्य हुनुहुन्छ ।

संयन्त्रको बैठकले संयन्त्रको बैठकको अध्यक्षता सहमतिका आधारमा आलोपालो गर्ने निर्णय गरेको छ। ७ बुँदे निर्णयमा प्रदेशका सबै जिल्लामा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । संयुक्त सरकारको कामलाई जनतासम्म पुगाउने, सरकारको काममा सुझाव दिने र सहयोग गर्ने निर्णय गरेको छ।‘‘ नेपालको संविधान र कानुनी राज्यको अवधारणाविरुद्ध भइरहेको जुनसुकै अराजनैतिक, अराजक गतिविधिप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । 

 ‘यस्ता गतिविधिलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सबै पक्षसँग हार्दिक अपिल गर्ने निर्णय गरियो’’ संयन्त्रले भनेको छ ।

प्रदेशभित्रका स्थानीय तहमा विवाद आएमा दुई दल बसेर तत्काल समाधान गर्ने, सहकार्यलाई अझै प्रभावकारी बनाउन निर्देशन दिने निर्णय गरिएको छ । बैठकको अध्यक्षता कांग्रेसका गण्डकी सभापति शुक्रराज शर्माले गर्नुभएको थियो ।