अविनाश चौधरी
धनगढी, कात्तिक २७ गते । संसारलाई सहज बनाएको इन्टरनेट र मोबाइलले बालबालिकाको शिक्षण सिकाइमा प्रतिकूल असर गरिरहेको छ । धेरै जसो समय मोबाइलमा रमाउँदा बालबालिकाको आफ्नो सिर्जनशीलता घट्दै गएको हो । अहिले हात हातमा स्मार्ट मोबाइल छ, घर घरमा वाइफाई जोडिएका छन् । त्यसले आधुनिक सञ्चारलाई सहज बनाए पनि बालबालिकाको सिकाइ उपलब्धिमा भने ह्रास ल्याइरहेको शिक्षकको बुझाइ छ ।
सिक्ने उमेरमा बालबालिका मोबाइलमा रमाउँदा उनीहरूको आफ्नो सिर्जनशीलता घटिरहेको धनगढीस्थित नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मोबाइलले विद्यार्थीको शिक्षण सिकाइमा निकै नकारात्मक असर गरिरहेको छ । यो गम्भीर र ठुलो चुनौतीको विषय हो ।”
घर घरमा वाइफाई पुग्न थालेपछि बालबालिकाले आआफ्नो अभिभावकको मोबाइलसंग समय बिताउन थालेका छन् । खाना खाने बेलासमेत बालबच्चाले मोबाइल हेर्ने, गेम खेल्नेक्रम बढ्दो छ । बालबालिकाले मोबाइलमा ध्यान दिन थालेपछि शिक्षकले सिकाएका कुरा मात्रै नभई गृहकार्य गर्नसमेत बिर्सने गरेको शिक्षकको बुझाइ छ ।
प्रधानाध्यापक भण्डारी भन्नुहुन्छ, “पहिले हामी गृहकार्य सकेर घरमा किताब पढ्ने गर्दथ्यौँ तर अहिले त्यस्तो छैन, विद्यार्थी घर पुग्नेबित्तिक्कै मोबाइल खोज्ने गर्छन् । यहाँसम्मकी निबन्धलगायत विभिन्न कुरा गुगलमा खोजेर कपीमा सार्न थालेका छन् ।”
अहिले कसैको बालबालिका मोबाइल खेलाउनबाट अछुतो छैनन् । कतिपय बालबालिका मोबाइल बोकेर विद्यालय नै पुग्ने गरेका छन् । विद्यालयमा मोबाइल लिएर आएका विद्यार्थीको मोबाइल थुतेर उनीहरूका अभिभावकको जिम्मा लगाउने र सम्झाउने कार्य पनि गर्ने गरेको भण्डारीले बताउनुभयो ।
मोबाइलसँग रमाउने बानीका कारण बालबालिकाले घरमा पुस्तक पल्टाउ नै छोडिसकेको कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्र बताउनुहुन्छ । उहाँले थप्नुभयो, “मोबाइल हेर्दा पनि उनीहरूले दुरुपयोग गरिरहेका छन् । अहिले कसैको बच्चा मोबाइलबाट टाढा छैनन् । हामी सबैको बच्चाले मोबाइल खेलाइरहेका छन् ।”
इन्टरनेट, सञ्चार, प्रविधिका कुरा सिक्नका लागि कक्षा ११ र १२ का विद्यार्थीका लागि मोबाइल उपयुक्त रहे पनि त्योभन्दा तल्लो कक्षाका विद्यार्थीलाई मोबाइल दिनै नहुने मिश्रको बुझाइ छ । उहाँले आफ्नो पालिकाका सबै विद्यालयमा विद्यार्थीले मोबाइल बोक्न निषेध गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कसैले लुकाएर ल्याउँछ भने त्यो बेग्लै कुरा हो । होइन भने विद्यालयमा विद्यार्थीले मोबाइल ल्याउन हामीले बन्देज गरेका छौँ तर लुकीछिपी वा घर गएर चलाइरहेका छन् । त्यो कन्ट्रोल गर्न सकिने अवस्था छैन ।”
अदूरदृष्टिको समस्या बढ्दो
बालबालिकाको स्क्रिन समय बढ्दा शिक्षण सिकाइमा मात्रै नभई उनीहरूको आँखामासमेत गम्भीर असर परिरहेको छ । स्क्रिन हेरेकै कारण अहिले बालबालिकामा अदूरदृष्टिको समस्या बढ्दो रहेको सुदृष्टि आँखा उपचार केन्द्र धनगढीका वरिष्ठ दृष्टि विशेषज्ञ डा. सावित्री भट्टले बताउनुभयो । उहाँले लामो समय स्क्रिन हेर्नु बालबच्चालाई धेरै घातक रहेको उल्लेख गर्नुभयो ।
उहाँले थप्नुभयो, “विशेष गरेर कोभिडको समयमा भर्चुअल कक्षा सुरु भयो । त्यस बेलादेखि बालबच्चाको स्क्रिन समय अलि बढेको देखिन्छ । त्यसले बच्चामा अदूरदृष्टि, आँखा सुक्खा हुने, पढ्न मन नलाग्ने समस्या बढ्दो देखिएको छ । सानो सानो बच्चामा अझ बढी समस्या छ ।”
विशेषज्ञका अनुसार जन्मेदेखि सात वर्षसम्म बालबालिकाको आँखाको विकास हुने समय हो । यो बेला स्क्रिनमा बढी समय बिताए आँखाको विकासमा नै असर पर्ने गर्छ । आधुनिक युगमा प्रविधिबाट पछाडि हट्न नसकिने भएकाले विशेषज्ञबाट जाँच गराएर आँखाको सुरक्षा गर्ने लेन्स सबैले लगाउन आवश्यक रहेको वरिष्ठ दृष्टि विशेषज्ञ भट्टको जोड छ ।