• ११ पुस २०८१, बिहिबार

शङ्खधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह शङ्खधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक २६ गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवम् नेपाल संवतका प्रवर्तक शङ्खधर  साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।

शङ्खधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले साख्वाले तत्कालीन नेपाली समाजमा सामाजिक सुधारकका रुपमा अतुलनीय योगदान गरेको बताउनुभयो । साख्वा सामाजिक न्यायका पक्षपाती रहेको पनि सिंहले बताउनुभएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।।

‘‘शङ्खधर  साख्वाले सबैलाई ऋण मुक्त गरेर नेपाल संवतकाे सुरुवात गर्नुभएको थियो । यो समय परिवर्तन हुँदै गए पनि शङ्खधर साख्वाप्रतिको हाम्रो भावना कहिले परिवर्तन हुँदैन । समाज, दाजुभाइ दिदीबहिनी, समुदायमा कसैलाई दुख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उहाँले सिकाउनुभएको छ । त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

यस्तै, उहाँले  साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनि सामेल हुन पाउँदा खुसी लागेको बताउँदै संस्कृति, परम्परा र भाषाको संरक्षण गर्नको लागि जति सक्दो प्रयास गर्ने पनि सिंहले बताउनुभयो ।

साख्वाको योगदानको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि सिंहले स्मरण गर्नुभयो । २०६५ कात्तिक ७ गतेबाट साख्वाले प्रवर्तन गरेकोे नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शङ्खधरले जनताको ऋणमोचन गर्नुभएको इतिहास छ ।