• २४ मंसिर २०८१, सोमबार

प्राविधिक विषय पढाउँदै प्रदेश सरकार

blog

ललित बसेल

सुर्खेत, कात्तिक २६ गते । बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ । चिकित्सा,  इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसी र वन विषयमा गरी ६९ जनालाई कर्णाली प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाइरहेको छ । पढाइ सकेर फर्किएपछि उनीहरूले कम्तीमा दुई वर्ष कर्णाली प्रदेशमा सेवा गर्नुपर्ने छ । 

कर्णाली प्रदेश सरकारले १० जना चिकित्सक पढाउँदै छ । १० जना इन्जिनियर, १० जना प्रविधि, १० जना भेटेरिनरी, १० जना कृषि, नौ जना वन र आयुर्वेद, रेडियो, नर्सिङ, फार्मेसी गरी ६९ जनालाई पढाइरहेको छ । उनीहरू अहिले आआफ्ना विषयमा विभिन्न जिल्लामा अध्ययन गरिरहेका छन् । कर्णालीका १० जिल्लाबाट प्रतिजिल्ला कम्तीमा एक/एक जना पर्ने गरी विद्यार्थी छनोट गरिएको छ । प्रदेश सरकारले शिक्षा विकास निर्देशनालयबाट उनीहरूको छात्रवृत्ति रकम प्रदान गर्दै आएको छ । 

कालीकोटका निहान शाही वीरगन्जको नेसनल मेडिकल कलेजमा, जाजरकोटका लक्सन शाही काठमाडौँ मेडिकल कलेजमा, जुम्लाका विनोद रोकाया नेपालगन्ज मेडिकल कलेजमा, डोल्पाका कमला विष्ट नेपालगन्ज मेडिकल कजेलमा र दैलेखका आदित्य गौतम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस अध्ययन गरिरहनुभएको छ । 

यसै गरी रुकुमपश्चिमका विशाल केसी मणिपाल कलेज पोखरामा, सल्यानका आकाश अधिकारी चितवन मेडिकल कलेजमा, सुर्खेतका राज पोखरेल काठमाडौँ विश्वविद्यालयमा र हुम्लाका भुवन बुढा काठमाडौँ मेडिकल कलेज र अङ्ग्मु लामा नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहनुभएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । मुगुमा एमबिबिएस पढ्ने विद्यार्थी नभएपछि त्यो कोटा हुम्लामा गाभिएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० देखि उनीहरूले एमबिबिएस अध्ययन गर्ने छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । एबिबिएस अध्ययन गर्न प्रतिविद्यार्थी चार लाख रुपियाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको शिक्षा विकास निर्देशक दीपा हमालले बताउनुभयो । गत वर्ष र यस वर्षको गरी प्रतिविद्यार्थी आठ लाख रुपियाँ गइसकेको छ । 

यसै गरी इन्जिनियरिङ अध्ययन गर्ने १० विद्यार्थी छनोट गरी एक लाख रुपियाँसम्मको छात्रवृत्ति प्रदान गरिसकिएको छ । प्रविधि, भेटेरिनरी, कृषि, वन तथा अन्य विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रतिवर्ष एक लाख रुपियाँसम्मको छात्रवृत्ति प्रदान गरिएको शिक्षा विकास निर्देशक हमालले जनाउनुभयो । प्रदेश सरकारले गत वर्षदेखि छात्रवृत्ति प्रदान गर्न लागेको हो । यस वर्षसहित दोस्रो वर्ष छात्रवृत्ति प्रदान गरिएको छ । अध्ययन पूरा गर्ने बेलासम्म छात्रवृत्ति जारी राखिने उहाँले बताउनुभयो । निर्देशक हमालले चिकित्सक पढ्ने विद्यार्थीको रकममा ४० प्रतिशत प्रदेश सरकारले बेहोरेको जानकारी दिनुभयो । प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाइरहेका विद्यार्थीको पढाइ के कस्तो छ भनेर रेकर्ड पनि राख्ने गरिएको छ । शिक्षा विकास निर्देशक हमालले प्रत्येक वर्ष अध्ययन गरिरहेका कलेजबाट उनीहरूको अध्ययन रिपोर्ट कार्ड माग्ने गरिएको बताउनुभयो । 

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले छात्रवृत्ति प्रदान गरेका विद्यार्थी आफ्नो पढाइ सकेपछि कम्तीमा दुई वर्ष आफ्नै प्रदेशमा सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले पढाइमा छात्रवृत्ति प्रदान गर्दा उनीहरूको अध्ययनमा पनि सहज हुने र पछि प्रदेशमा अभाव भएका स्थानमा खटाउन सकिने जनाउनुभयो । कर्णालीमा चिकित्सकको अभाव बढी हुने भएकाले प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाएकाले कम्तीमा पनि दुई वर्ष आफ्नै प्रदेशमा सेवा गर्दा प्रदेशको लगानी सदुपयोग हुने पनि उहाँको भनाइ छ ।