• १२ पुस २०८१, शुक्रबार

दलहरू होमिए निर्वाचन प्रचारमा

blog

भोट माग्दै नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पा ।

दोलखा समाचारदाता

दोलखा, कात्तिक २६ गते । आगामी मङ्सिर १६ गते हुने गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि जिल्लामा क्रियाशील राजनीतिक दलले निर्वाचनकेन्द्रित प्रचारप्रसार थालेका छन् । आआफ्ना पार्टीले जित्ने दाबी गर्दै नौ वटै वडामा पुगेर मत माग्न थालेको दलले जनाएका छन् । 

‘मेरो प्रतिज्ञा गौरीशङ्करको उन्नति’ मुख्य नाराका साथ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी पूर्वउपाध्यक्ष स्व. श्यामसुन्दर तामाङकी धर्मपत्नी पासदिकी शेर्पा तामाङसहितको टोली गाउँ गाउँमा पुगेको कांग्रेस निर्वाचन परिचालन समितिका अध्यक्ष विमल आचार्यले जानकारी दिनुभयो । कार्यतालिका बनाएर नौ वडामै भेटघाट, भलाकुसारी र गुनासो सुन्ने र आशीर्वाद थाप्ने काम भएको उहाँले बताउनुभयो ।

त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवारलाई सदरमुकाम चरीकोट बोलाएर पार्टी कार्यालयबाट जितको शुभकामनासहित टोली गाउँ पुगेको जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनताको घरदैलोमा पुगेर मत माग्दै मतदातासँग आशीर्वाद लिने, सुझाव सङ्कलन गर्ने र अन्य राजनीतिक दलसँग पनि भेटघाट गर्ने योजनाका साथ काम भइरहेको छ । गाउँका प्रबुद्धवर्गसँग पनि राय लिने कार्यतालिका बनेको छ ।” 

सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उम्मेदवारले भोट मागिरहेका छन् । ‘युवाको आह्वान पाकालाई धन्यवाद र सम्मान, युवालाई मतदान, परिवर्तन शिक्षित युवाबाट सम्भव छ’ भन्दै नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार रविना खड्काले फेसबुकमार्फत भोट मागिरहनुभएको छ । 

नेकपा (माओवादी) केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रिम जितको शुभकामना दिनुभएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो ।

वडा नम्बर १ देखि ७ (जुँगुदेखि मार्बुसम्म) एक/एक वटा तथा वडा नम्बर ८ खारेमा दुई र वडा नम्बर ९ गौरीशङ्करमा तीन वटा मतदान स्थल रहेका छन् । जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त प्रमुख विशाल केसीका अनुसार उपनिर्वाचनमा १२ वटा मतदान स्थल रहने निश्चित भए पनि मतदान केन्द्रको भने टुङ्गो लाग्न बाँकी छ । निर्वाचन आयोगले मतदाता सङ्ख्या यकिन गरेपछि मात्रै मतदान केन्द्रको टुङ्गो लाग्ने भएको हो । २०७९ मङ्सिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यस गाउँपालिकामा २१ वटा मतदान केन्द्र रहेका थिए ।

गाउँपालिकाको उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली अझै टुङ्गो लागेको छैन । उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा कुल मतदाता सङ्ख्या १५ हजार ७१८ देखिए पनि दाबी विरोधपछिको अन्तिम नामावली प्रकाशन भएको छैन । निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची कात्तिक मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

२०७९ को निर्वाचनमा यस पालिकामा १५ हजार ५५४ जना मतदाता थिए । मतदाता नामावली अद्यावधिकका क्रममा १६४ जना मतदाता थपिएका छन् । सबैभन्दा बढी वडा नम्बर ५ सुरीमा दुई हजार ७८१ र सबैभन्दा कम वडा नम्बर ९ मा एक हजार १०४ जना मतदाता छन् । वडा नम्बर १ जुँगुमा एक हजार ५७३, वडा नम्बर २ मा एक हजार ७६४, वडा नम्बर ३ झ्याकुमा एक हजार ९६३, वडा नम्बर ४ मा दुई हजार छ, वडा नम्बर ६ चङ्खुमा एक हजार ३६२, वडा नम्बर ७ मार्बुमा एक हजार ४५१ र वडा नम्बर ८ खारेमा एक हजार ७१४ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले दाबीविरोधको अन्तिम टुङ्गो लगाएपछि यो सङ्ख्या केही घट्न सक्ने देखिएको छ ।