• ११ पुस २०८१, बिहिबार

राज्य सञ्चालनका मूल मन्त्र

blog

चीनका दार्शनिक कन्फ्युसियस जो कुशल प्रशासकको रूपमा पनि चिनिन्छन् । उनी सेवानिवृत्त भएपछि प्रशासकहरूलाई तालिम गर्ने केन्द्र तथा विद्यालय खोलेर सञ्चालन गरेका थिए । त्यो विद्यालयमा १२ वर्ष पढेपछि बल्ल ग्य्राजुएसन हुन्थ्यो । उनको विद्यालयमा चीनका टुक्रे राज्यका राजाका छोराहरू तथा राजकुमारहरूलाई पढाउने गरिन्थ्यो । एक पटक त्यो विद्यालयको ग्य्राजुएसनको दिन थियो एउटा चेलाले उनै गुरु कन्फ्युसियसलाई सोधे छन् । गुरु आजबाट त हामी बाहिरिँदै छौँ । मलाई एउटा विषयको जानकारी लिनु थियो, मलाइ यो भनिदिनुस् कि राज्य सञ्चालन गर्नका लागि नभई नहुने तीन वटा महत्वपूर्ण कुरा के के हुन सक्छन् ? 

चेलाको जिज्ञासामा गुरुले भनेछन्, राज्य सञ्चालन गर्न पहिलो कुरा भनेको सुरक्षा फौज चाहिन्छ, दोस्रो भनेको भोको पेटले शासन गर्न हुँदैन अथवा प्रशासकले जनतालाई भोको राख्नु हुँदैन र तेस्रो राज्य व्यवस्था तथा प्रशासकप्रति जनताको विश्वास हुनु पर्छ । चेलाले गुरुलाई पुनः सोधेँ गुरु यी तीनै पक्ष पूरा गर्न सकिएला नसकिएला, मिलाएर राख्न मिल्ला नमिल्ला, संरक्षण गरेर राख्न कठिन होला, सहज होला नहोला यी तीनमध्ये दुई वटा राखेर एउटा फाल्नु प¥यो भने कुनचाहिँ नराख्दा हुन्छ । त्यसको जवाफमा गुरुले भने छन्, यी तीनमध्ये सुरक्षा बल हटाइदिए हुन्छ । यदि जनतालाई राम्रोसँग खुवाएका छौँ भने उनीहरूलाई अप्ठ्यारो पर्दा कुटो, कोदालो, हँसिया, बन्चरो लिएर पनि निस्कन्छन् । सुरक्षाका लागि ती सबै आफैँ सुरक्षा कवच भएर बस्छन् । 

चेला निकै चलाख रहेछन् उनले फेरि सोधेँ छन् । यी दुईमध्ये एउटा मात्र राख्नु प¥यो र अर्को हटाउनु प¥यो भने कुन राख्ने होला भन्ने जिज्ञासामा गुरुले भनेछन् खाद्यान्न नभए पनि हुन्छ । यदि जनतामा विश्वास छ भने मुलुकमा १२ वर्षसम्म पानी परेन, खडेरी प¥यो र गिठा भ्याकुर पनि भएन भने जनताले भन्ने छन् पानी परेकै छैन, कहाँबाट ल्यायोस् त सरकारले ? सरकारमा रहनेले त जतिसक्दो मेहनत गरेकै छन, तिनीहरूले के नै गरुन ? भए त खुवाउँथे नि ! मुलुकमा १२ वर्षसम्म केही उम्रिएन भने पनि जनताले विश्वास गरुन्जेल तिमीले शासन गर्न सक्छौ तर त्यो विश्वास भएन भने जनतालाई खुवाएर पनि तिम्रो सत्ता पल्टिन सक्छ । त्यसैले विश्वास भयो भने भोको पेटमा पनि प्रशासन चल्छ । सुरक्षा बल छ, टन्न खुवाएको अवस्था छ तर विश्वास भएन भने सत्ता रहँदैन । तसर्थ विश्वास सबभन्दा ठुलो कुरा हो ।

अहिले देशमा सबैभन्दा गुमेको र उठाउन नसकेको भन्नु नै विश्वास हो । त्यो कसरी पनि स्पष्ट हुन्छ भने राजधानीमा हुर्केको दुःख के हो ? जानकारी नै नभएको प्रशस्त सम्पत्ति भएकाहरूका छोराछोरी देशमा बस्न चाहँदैनन् । यो विषय किन महत्वपूर्ण छ भने यहाँ उद्यम गर्न सक्ने युवा पनि आफ्नो सपना मार्न चाहदैनन् र लाग्छन् विदेशतिर । देशमै बसेर सम्भव छ र हाम्रो भविष्य यही सुनिश्चित छ भन्ने विश्वास न त छोराछोरीमा छ न त बाबुआमामा ।

हाम्रो समाजमा रहेका वर्गहरूमध्ये कति हुनेखाने र कति हुँदाखानेको वर्ग छ । हुने खानेहरूका छोराछोरीहरू पनि यहाँ दुःख गर्नु परेकै छैन । गाँस, बास र कपासका लागि सङ्घर्ष गर्नुपर्ने छैन तर पनि विदेशमा गएर जे काम गर्न पनि तयार छन् । जस्तोसुकै परिस्थितिसँग सामना गर्न तत्पर छन् । अर्को पक्ष छ, हुँदा खाने जसलाई घर व्यवहार चलाउँदा, पढ्दा विदेश जाँदासमेतको ऋण र अहिलेका लागि गाँस, बास र कपासको जोहो गर्नु छ र भोलिका लागि जोगाउनु छ त्यो वर्गलाई जतिसक्दो आर्थिक पक्ष सबल बनाउनेतर्फ उन्मुख छन् । स्वदेश बस्ने र यही केही गर्न सकिएला भन्ने विश्वास गर्ने वातावरणको सङ्केत देखिँदैन । 

सर्वप्रथम नेतृत्वमा सुधार हुनु जरुरी छ । मूल सङ्लो नभएसम्म कुलो सङ्लोको कल्पना गर्नु निरर्थक हुने छ । नेतृत्वमा निष्पक्षता, पारदर्शिता, नैतिकता, इमानदारी, बोलीमा विश्वास, सुशासनको अवलम्बनलगायतका विषयहरू पालना भई मानिसमा उनीहरूको अनुसरण गर्ने बानीको विकास हुन्छ । यस्तै अरूले के गरेनन् भन्दा पनि मैले के गर्न सक्छु भन्ने भावना सर्वसाधारणमा हुन आवश्यक देखिन्छ । अहिले मानिसहरूको प्रवृत्ति हेर्ने हो भने सबै जान्ने बुझ्ने देखिने धेरैले अरूले के गर्नु पथ्र्यो ? के गरेन ? भन्ने कुराको वोध हुने र आफूले के गर्नु पर्छ र के गर्नु पथ्र्यो, किन भएन भन्ने जस्तो विषय थाहा नपाउनाले पनि हाम्रो अवस्था दिन दिनै कमजोर बन्दै गएको छ । तसर्थ आआफ्नो तहबाट के गर्न सकिन्छ ? किन नगर्ने भन्ने सोचका साथ अघि बढ्न सक्नु पर्छ । 

हाम्रो शिक्षा प्रणालीको पाठ्यक्रममा देश र माटो प्रतिको कर्तव्यबोध तथा जिम्मेवारी के हुने भन्ने शिक्षाका पाठ्यक्रमहरू राखी अध्ययन अध्यापन गराउन सक्नु पर्छ । शिक्षाले मानिसको कलिलो मानसपटलमा गहिरो छाप बनाउन सक्छ । जब मानिसलाई कर्तव्य बोधको ज्ञान हुन्छ । उसले परिवार, समाज र देशप्रतिको कर्तव्यबाट विमुख हुन सक्दैनन् ।

 देशमा रोजगारीका अवसरको सिर्जना हुने वातावरण बनाउन सक्नु पर्छ । देशमा विदेशी लगानी भित्र्याएर भए पनि उद्योग, कलकारखाना, व्यावसायप्रति आकर्षण हुने वातावरण सिर्जना गर्नु पर्छ । जसले गर्दा मानिसमा काम गरौँ गरौँ लाग्न सकोस् । उद्योग, व्यवसाय खोल्नका लागि सहज प्रक्रिया, फन्डको व्यवस्था, उत्पादनलाई बजारको प्रबन्ध, कच्चा पदार्थको उपलब्धता, वस्तु बिक्री गर्दा करमा सहुलियतको अवस्था जस्ता पक्षहरूमा सहजीकरण गर्न सक्नु पर्छ । कुनै पनि काम गर्न दक्षता, सिप र क्षमताको आवश्यकता पर्छ । विभिन्न किसिमका सिप प्रदान गर्ने, तालिम केन्द्रहरूको स्थापना गर्ने र ती समस्यालाई तालिमको माध्यमबाट आत्मनिर्भर बन्ने वातावरण बनाई काममा लगाउन सके ठुलो सङ्ख्यामा मानिसहरू बाहिर जाने प्रवृत्ति रोकिन सक्छ ।

रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गरी देशमा उत्पादन, रोजगारी, आयातलाई प्रतिस्थापन, निर्यातलाई प्रवर्धन गर्दै व्यक्तिको आयस्रोत बढाउने बाटोमा लाग्नु पर्छ । युवा जनशक्तिले विदेशमा श्रम गरी पठाएको रकम खाएर उडाउने आयातमा खर्चिएर त्यसको प्रभावकारिता मानिँदैन । देशमा पुँजीगत खर्चमा लगानी गरी उद्योग, पर्यटन, कृषि, शिक्षा जस्ता क्षेत्रमा लगानी गरी रोजगारीका अवसर सिर्जना गर्नेतर्पm लाग्नु पर्छ । जसले गर्दा आजका दिनमा बिदेसिन लागेका वर्गलाई रोक्ने र विदेशमा रहेकालाई देश फर्कने वातावरण सिर्जना गराउन सकिन्छ ।

  मानिसमा कर्तव्यबोध गराउने, जिम्मेवारी जवाफदेही हुने खालका प्रवृत्तिको विकासमा जोड दिने काम गर्नु पर्छ । मानिस यो समाजमा जन्मन्छ, हुर्कन्छ, पढ्छ, बढ्छ र एउटा तहमा तथा उमेरमा पुग्छ । उसले समाजबाट, राज्यबाट लिनुपर्ने जति लिइसक्छ र जब दिने बेला हुन्छ, राज्यबाट बाहिरिन्छ, पढ्ने, काम गर्ने नाममा र फर्किंदैन लामो समयसम्म । के एउटा नागरिकले यो समाज प्रतिको दायित्व पूरा गर्नु पर्दैन ? के उसको समाजप्रतिको कर्तव्य पालना गर्नु पर्दैन ? आजको समाजले आफ्ना नागरिकहरूबाट असहयोगको महसुस गरेको अवस्था छ जुन दुःखद परिस्थिति हो । 

 मानिसभित्र नैतिकता, इमानदारिता, सत्यता भन्ने विषय ह्रास हुँदै गएको छ । मानिसमा एकअर्कालाई गर्ने आदर भाव देखिँदैन । स्वार्थमा केन्द्रित हुन्छन् मानिसका व्यवहारहरू । निःस्वार्थ भावले कोही कसैले कसलाई सहयोग गरेको पाइँदैन । सत्ता र शक्ति तथा धनवान्लाई ठुलो र त्यसकै पछि लाग्ने प्रवृत्ति हाबी हुँदै छ, जसले गर्दा मानिसहरू कुर्सीका लागि, धनआर्जनका लागि जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने प्रचलनले समाजमा हिंसा, अत्याचार, भ्रष्टाचार, अनैतिक कार्य जस्ता क्रियाकलापहरू बढ्दै गइरहेका छन् । समाज अशान्त, अधैर्य र इमानदारिताको अभाव देख्न सकिन्छ । कन्फ्युसियसका तीन वटा कुरा जुन समाज तथा राज्य सञ्चालनका मूल मन्त्रको रूपमा लिन सकिन्छ । यो मूल मन्त्रको सारलाई आत्मसात् गरी काम गर्नका लागि सबैभन्दा महत्वपूर्ण विश्वासको वातावरण बनाउन लाग्नु हो । यसका लागि सरोकारवाला सबै पक्ष गम्भीर भएर लाग्नु पर्छ ।

   

Author

दुर्गा कँडेल छत्कुली