मीना कंडेल
कावासोती, कात्तिक २५ गते । पूर्वी नवलपरासीबाट गैँडा स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर लैजान नहुने भन्दै सरोकारवालाले विरोध जनाएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा ध्यानाकर्षणपत्र बुझाउँदै विरोध गरेका हुन् । पछिल्लो समय विभिन्न कारण देखाउँदै यस क्षेत्रबाट गैँडा स्थानान्तरण गर्दा यहाँको पर्यटन र समग्र विषयलाई प्रभावित पार्ने भएकाले गैँडा स्थानान्तरणलाई रोक्न ध्यानाकर्षणपत्र बुझाएको नवलपुर पर्यटन समितिका अध्यक्ष परशुराम महत्तोले बताउनुभयो ।
विगतका समयदेखि नवलपरासी (ब.सु.पु.) जिल्लामा रहेका गैँडालाई अर्को स्थानमा स्थानान्तरण गरिँदै आएकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । ध्यानाकर्षणपत्रमा थप भनिएको छ, “यसको स्थानान्तरणले जिल्लामा जैविक विविधता, पर्यावरणीय सन्तुलन र पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना देखिएको छ ।”
गैँडा हाम्रो प्राकृतिक सम्पदा मात्र नभएर पर्यटन व्यवसायको स्रोत पनि हो । त्यसैले, यसको स्थानान्तरणले यस क्षेत्रमा व्यावसायिक, सामाजिक र पर्यावरणीय असर पार्न सक्ने उहाँले बताउनुभयो ।
नवलपुर होटल व्यवसायी सङ्घ, नवलपुर पर्यटन समिति, नेचर गाइड एसोसिएसन नवलपुर, ऐतिहासिक कावासोती ताल संरक्षण समिति, हरियाली संस्था र कावासोती होटल व्यवसायी सङ्घको नगर समितिले संयुक्त रूपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले यस विषयमा आफूले बुझेर आवश्यक समन्वय गर्ने बताउनुभयो ।