• २६ मंसिर २०८१, बुधबार

अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक २५ गते । सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।

समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरूको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो । 

समितिमा विचाराधीन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरूको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उहाँको भनाइ छ ।

“संसदीय समितिका बैठकहरूमा गणपूरक सङ्ख्या ९कोरम० नपुग्ने समस्या छ । कोरम नपुर्‍याइ छलफल र निर्णयहरू गर्न नियमले मान्दैन”, उहाँले भन्नुभयो, “सभामुखले पनि यस विषयमा चासो देखाउनु भएको छ । समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई जानकारी गराउने र सदस्यहरूको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको छ ।”

समितिको आजको बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्रीले समितिका काम प्रभावकारी बनाउन कार्यतालिका बनाएर कडाइका साथ लागू गरिनुपर्ने बताउनुभयो । समितिमा गणपूरक सङ्ख्या नपुगेर विधेयक माथिका छलफल प्रभावित हुन नहुने उहाँको भनाई थियो ।

त्यस्तै, सांसद जुली कुमारी महतो (महासेठ)ले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताउनुभयो ।

अर्थ समितिमा अहिले पाँचवटा विधेयक विचाराधीन छन् । ती विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गाउनुपर्ने धारणा समितिका अधिकांश सदस्यहरूको मत छ । 

चाडबाडहरू सकिएको र अहिले संसद्को हिउँदे अधिवेशन समेत सुरु नभएको अवस्थामा समितिका गतिविधिहरू बढ्नुपर्ने विषय समितिमा उठेको थियो । त्यस्तै, आगामी मङ्सिर १६ गतेका लागि तय भएको उपनिर्वाचन अघि समितिका बैठक प्रभावित हुनसक्ने धारणा सांसदहरूको थियो । रासस