• २७ पुस २०८१, शनिबार

आर्थिक स्रोत जुटाउने योजना बनाउनुपर्छ : मन्त्री पौडेल

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री प्रदीप पौडेल । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै पार्टीले आर्थिक स्रोत जुटाउने योजना बनाउनु पर्ने बताउनुभएको छ । नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले  सो कुरा बताउनुभएको हो ।

आर्थिक स्रोत जुटाउने योजना बन्न नसक्दा नेपाल विकासमा पछि परेको उहाँको भनाइ छ । राजनीतिक दलसँग विचार राम्रो भए पनि त्यस विचारलाई पूरा गर्नका लागि आर्थिक स्रोतको योजना बन्न नसकेकाले विकास बजेट थोरै हुँदा देश पछि परेको बताउनुभयो । 

देश विकास गरी गरिबी हटाउन आर्थिक स्रोत जुटाउने सम्बन्धमा पार्टीबिच एकता हुनुपर्ने बताउनुभयो । नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोतका बिचमा कहीँ कतै तालमेल नमिलेको मन्त्री पौडेलको भनाइ थियो । मन्त्री पौडेले, ‘पार्टीका सिद्धान्तहरू राम्रा छन् भाषण पनि मिठा गर्छन् तर गर्न स्रोत कसरी जुट्छ भन्नेमा ध्यान दिएका छैनन् ।’ 

नेपालमा आर्थिक व्यवस्था कसरी व्यवस्थित गर्ने हो ? भन्ने पाटोलाई बिर्सेको स्थिति रहेको उहाँको भनाइ छ । ‘स्रोतबिना कुनै पनि विषयको कार्यान्वयन सम्भव छैन,  स्रोत नभई समाजवाद लागू हुन सम्भव छैन’ उहाँले भन्नुभयो । 

राजनीतिक पार्टीले विचार मात्र ल्याएको र कार्यान्वयन गर्ने स्रोत ल्याउन नसकेको उहाँको भनाइ थियो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री पौडेलले पार्टी सङ्गठन मजबुत बनाउने विषयमा पार्टीका नेता तथा कार्यकर्ताले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सङ्गठन बलियो नभए पार्टीका नेता तथा कार्यकर्ताको भविष्य सुरक्षित नहुने पौडेलको भनाइ छ । शनिबार गरिएको कार्यक्रममा देवराज चालिसे र प्रा.डा. कुसुमाकर न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।