• १२ पुस २०८१, शुक्रबार

फोहरबाट मोहर निकाल्दै पालिका

blog

मध्यविन्दु नगरपालिकामा फोहरबाट बनाइएको जैविक मल । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक २४ गते । पछिल्लो समय सहरी क्षेत्रमा फोहोर व्यवस्थापनमा चुनौती रहेको छ । बजार क्षेत्रमा पर्ने नगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्न सकेका छैनन् । 

नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट मोहर निकाल्न सुरु गरेको छ । दिगो रूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको नगरपालिकाले जनाएको छ ।

सरसफाइ प्रवर्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालन गरी घरबाट निस्कने फोहरको अनिवार्य वर्गीकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । 

उत्पादित जैविक मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन गरेर प्रतिकिलो २२ मा विक्री गरिएको उहाँले बताउनुभयो । 

पछिल्लो समय रासायनिक मलको प्रयोगले माटोमा अम्लीयपन बढी हुने र उर्वराशक्तिमा कमी भइरहेको अवस्थामा जैविक मलले धेरै फाइदा पुग्ने विश्वास लिएको उहाँले बताउनु भयो । फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपायको रूपमा जैविक मल उत्पादन सही विकल्प देखिएकाले फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन गरेर विक्री सुरु गरिएको नगरपालिकाका इन्जिनियर विवेक पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यविन्दु नगरपालिकाभित्र सङ्कलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ ।”

उत्पादित मल चोरमाराको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने साथै उत्पादित जैविक मल नेपाल सरकारले तोकेको मापदण्ड अनुसार रहेको उहाँको भनाइ छ । जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अर्ग्यानिक उत्पादनलाई सहयोग गर्ने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताउनुभयो । गण्डकी प्रदेश सरकारको साझेदारीमा कुल चार करोड ३७ लाख ९८ हजार तीनसय ७४ खर्च भएको छ ।