• १२ पुस २०८१, शुक्रबार

नेपाल युएईसँग १३ रनले पराजित

blog

काठमाडौँ, कात्तिक २४ गते । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो हार खेपेको छ ।

युएईको द सेभेन रङ्गशाला शनिबार भएको खेलमा नेपाल युएईसँग १३ रनले पराजित भयो । लगातार तेस्रो जितसँगै युएई तीन खेलमा ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । पराजित नेपाल समान खेलबाट चार अङ्क जोड्दै दोस्रो स्थानमा छ । 

यसअघि युएई र नेपाल दुवैले थाइल्यान्ड र कुवेतलाई हराएका थिए । जितका लागि एक सय २३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय नौ रनमा समेटिएको थियो ।  

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाउनुभयो । उहाँले ४३ बलमा पाँच चौकाको सहयोगमा उक्त रन बनाउनु भएको हो । साना प्रविन र सोनी पाख्रिनले १९/१९ रन बनाउनुभयो । बलिङमा युएईका लागि इन्दुजा नन्दाकुमार, लाभन्या केनी र मेहक ठाकुरले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । युएईका लागि रिनिता रजितले सर्वाधिक ४८ रन बनाउनुभयो । उहाँले ३३ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । लाभन्या केनीले २० रइन्दुजा नन्दाकुमारले १२ रन जोड्नुभयो । 

बलिङमा नेपालका रिया शर्माले तीन विकेट लिनुभयो । सीमा केसी, कप्तान पूजा महतो र करिस्मा गुरुङले एक एक विकेट लिनुभयो । नेपालले अब चौथो खेल कात्तिक २५ गते आइतबार थाइल्यान्ड, पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।