• २३ मंसिर २०८१, आइतबार

दुर्गममा बसेर दश कृति प्रकाशन

blog

कृति बिक्री गर्नुहुँदै साहित्यकार सोराडी । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, कात्तिक २४ गते । साहित्यकार कर्ण दयाल ‘सोराडी’ ले दुर्गममा बसेर पनि १० वटा साहित्यिक कृति प्रकाशन गर्नु भएको छ । पछिल्लो कृतिका रूपमा उहाँले ‘दोपानी’ लघुकथा सङ्ग्रह बजारमा ल्याउनुभएको हो । 

‘दोपानी’ लघुकथा सङ्ग्रहमा विकट नेपालको सामाजिक परिवेश झल्कने ५४ वटा लघुकथा रहेका छन् । मेलौली नगरपालिका –७, बैतडी निवासी साहित्यकार कर्ण दयाल ‘सोराडी’ ले आफ्नै लगानीमा पहिलो कृतिका रूपमा ‘आँखासामु’ गजल सङ्ग्रह २०७ प्रकाशित गरेर साहित्यिक यात्रा सुरु गर्नु भएको थियो । 

गजल, मुक्तक, कविता विधामा कल चलाउँदै आउनु भएका सोराडीले पछिल्लो समय लघुकथा विधामा कलम चलाउँदै आउनु भएको छ । यस अघि उहाँले गज सङ्ग्रहका रूपमा आँखासामु, पर्दापछाडि, डुब्याकी जुन, आमनेसामने, लकडाउन, रूपान्तरण मुक्तक सङ्ग्रह, बेवारिसे लौरो कविता सङ्ग्रह जस्ता कृति लेखिसक्नु भएको छ ।  

‘दोपानी’ शीर्षकको लघुकथाबाट कृतिको नामकरण गरिएको साहित्यकार सोराडीले बताउनुभयो । पानी बाराबार हुने चलनलाई सुदूरपश्चिममा दोपानी भन्ने गरिन्छ । साहित्यकार दयालले दोपानी लघुकथामा दाजुभाइबिचको मनमुटाबले पानी बाराबार हुने गरेको, महिनावारी हुँदा छाउपडी प्रथाका कारण पानी बार्ने, जातीय विभेदका कारण पानी बार्नेजस्ता सामाजिक कुप्रथाका विषय समेट्नु भएको छ । 

नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले प्रकाशन गरेको कृतिको भूमिका साहित्यकार डा. विदुर चालिसेले लेख्नु भएको छ । कृति प्रकाशन गर्न बैतडीबाट चितवन जानु परेको साहित्यकार सोराडीले पीडा सुनाउनुभयो । उहाँले, सुदूरपश्चिमका कुनै पनि स्थानीय तहको सरकारले कृति प्रकाशनका लागि साहित्यमा खासै चासो नदिने गरेको गुनासो गर्नुभयो ।