• ५ मंसिर २०८१, बुधबार

गौतम बुद्ध विमानस्थलबाट एकसाथ तीन अन्तर्राष्ट्रिय उडान, जजिराको पनि उडान सुचारु

blog

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत साता एयर एसियाले उडान भर्दै ।

लक्ष्मण पौडेल 

भैरहवा, कात्तिक २४ गते । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको छ ।

बिहान ७ बजेर ४० मिनेटमा जजिरा एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको हो । दुई वर्षअघि यो विमानस्थल उदघाटनसँगैं जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगित गरेको थियो । भैरहवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा दिन थालेको हो ।

सञ्चालनमा आएको दुई वर्षपछि जजिराले पुनः उडान सुरु गरेपछि विमानस्थलमा शनिबार उत्सवको माहौल बनेको छ । शनिबार एकै दिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी र एक स्वदेशी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्दै छन् । विमानस्थल व्यवस्थापनले शनिबारलाई विशेष दिनका रूपमा लिएको जनाएको छ । एकै दिन धेरै विमान कम्पनीले उडान थाल्ने भएपछि यहाँ अवतरण गर्ने जहाजलाई पानीका फोहोराले स्वागत गरिएको छ ।

जजिराले सातामा तीन दिन मङ्गलवार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ ।

गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिवार मध्यान्हबाट फ्लाई दुबईले उडान थाल्दै छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने उहाँले बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।

महाप्रबन्धक तिवारीका अनुसार नेपाल एयरलाइन्सले शनिबार साँझबाट काठमाडौँ–भैरहवा–दुबई उडान सुरु गर्न लागेको छ । नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रबार उडान गर्ने तय भएको छ । नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट राति १० बजेर २० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँ आधा घण्टा आराम गरेर दुबईका लागि उडान भर्ने तालिका तय भएको विमानस्थलले जनाएको छ ।

गत भाइटिकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्यान्ह दोस्रो पटक यहाँ अवतरण गरेको थियो । शुक्रबार थाई एयर एसियाको विमान ७ यात्रु बोकेर आएको थियो । यहाँबाट ३२ यात्रु लिएर फर्किएको थियो । आउने साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिका अनुसार थाई एयर एसियाको विमान मध्यान्ह सवा १२ बजे यहाँ अवतरण गर्नेछ । एक घण्टा यहाँ आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । नेपाल एयरलाइन्सले यसअघिबाट गरिरहेको सातामा एक दिन मङ्गलबार क्वलालाम्पुर–काठमाडौँ–भैरहवा उडान कायम रहेको छ । शुक्रबारबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि गौतम बुद्ध विमानस्थलमा चहलपहल देखिएको छ ।