दसैँ सकिएको भोलिपल्टै मनाङ चामेसम्मको यात्रा तय भयो । दसैँको पूर्वसन्ध्याको भीषण बाढीपहिरोले काठमाडौँसहित देशका धेरै प्रभावित बनाएको थियो । सुगम मानिएको काठमाडौँ उपत्यका नै बाढीले तहसनहस बनायो । विकट र दुर्गम क्षेत्रको राजमार्गको कुरै नगरौँ । बिपी हाइवे क्षतविक्षत बनायो ।
पृथ्वी राजमार्गको झ्याप्लेखोलाको त्यो विध्वंस देखी देखी कसरी यात्रामा निस्कनु ? तैपनि हाम्रा पाइला नरोकिने भए । कात्तिक २ गते बिहान ५:१५ बजे घरबाट हिँड्यौँ ।
श्रीमान् भीम ढकाल र छोराछोरी विप्लव, ऋषिकासहित हामी गाडी चढ्यौँ । सवारीचालक शङ्करले गाडीको स्टेयरिङ घुमाउन थाल्नुभयो । छोराछोरीका साथी बरदा र हिमाञ्चल बाटामा जोडिए । नयाँ ठाउँ जाँदै छौँ, रमिता हेर्न कतिखेर पुगिएला ? मनमा यो जिज्ञासा उब्जिनु अनौठो भएन । नागढुङ्गा कटेर झ्याप्लेखोला कसरी पार गर्ने होला ? बाढीपहिरोले बिचल्ली पारेका ती जनका कथाव्यथा मगजमा ठेलमठेल थिए, तिनैमा मन हराएको पत्तो पाइनँ ।
गजुरीमा नास्ता खाएपछि एकैचोटि लमजुङको बेँसीसहर खाना खान पुग्यौँ । मेरा लागि अब बिलकुल नयाँ बाटो । हुन त लमजुङ पनि पहिलो पाइला नै हो । उसो त हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ स्कुल पढ्दै जानेका कुरा । मुस्ताङसँग राम्रैसँग घुलमिल भए पनि मनाङ टेक्न बाँकी नै थियो ।
मस्याङ्दी तरेर अघि बढ्नासाथ जलविद्युत् आयोजनाको विद्युत्घर नजिक करिब एक किलोमिटर सुरुङमार्गमा पस्यौँ हामी । लमतन्न कच्ची सडकले हाम्रो स्वागत गरिरहेको थियो । कतै सलल, कतै बढ्याङबुडुङ त कतै पानीको कच्याककुचुक । यत्रतत्र छरपस्ट ढुङ्गालाई पछार्दै गाडी अघि बढ्यो । गाडीमा बस्दा कोक्रो मच्चाई तालमा ड्याम्म टाउको ठोकिने डर । आफैँलाई धान्न कम सकस परेन । हो, त्यो भूगोलको प्राकृतिक बनोट नै यस्तै थियो । मनाङको सदरमुकाम चामे पुग्न मात्र ६५ किलोमिटर दुरी हो । त्यति पार गर्न कति समय खर्च हुन्छ ? तराई भए एक घण्टाको बाटो । बढी लागे सवा घण्टा ।
त्यो दुरी काट्न कम्तीमा छ घण्टा लाग्ने बुझियो । तथापि अब कति घण्टा लाग्छ ? उता उता पनि यस्तै बाटो हो कि कस्तो छ ? चामे पुग्न अब कति किलोमिटर बाँकी
होला ? बाटामा भेटेसम्मलाई यस्तै प्रश्न गर्दै अघि बढ्यौँ । कहिले मस्र्याङ्दी नदीको दायाँ, कहिले बायाँ, कहिले मोड पार गर्दै उकालो त कहिले अक्करे भिरको पेटैपेट अघि लागियो । भिरबाट तल हेर्दा कहाली लाग्ने । कमिला चिप्लेलान् जस्तो त्यस्तो अजङ्गको ढुङ्गेभिरलाई कपेर बनाएको मोटरबाटो ।
बेँसीसहरदेखि नै पर्यटकको लाम देखियो, भेटियो । विदेशी नागरिक प्रायः पैदल हिँड्दा रहेछन् । कति साइकलमा थिए । आन्तरिक पर्यटक मोटरसाइकलमा हुइँकिएका देखियो । मनाङ जाने जिप चल्दा रहेछन् । लमजुङदेखि उता ठुला गाडीको अनुहार नै देखिएन । बाटोमा हामीले सोधखोज गर्दा इजरायल, चीन, जर्मनी, अमेरिका, अस्ट्रेलिया, बेलायत, फ्रान्स, नेदरल्यान्ड, कोरिया र छिमेकी मुलुक इन्डियाबाट समेत धेरै पर्यटक आएका बुझियो । घुमफिरका लागि असोज, कात्तिक महिना अति उत्तम समय हुनाले बाढीपहिरो तथा हिमपातको वास्ता नगरी मनाङतिर पर्यटक लम्किरहेका देखिए ।
बाटोमा पर्यटक लोभ्याउने घर भेटिन्थे । केही घर भिरमा लपक्कै टाँसिएका । केही बाटाको दायाँबायाँ । पैदल हिँड्दै गरेका पर्यटकलाई पुरापुर आराम र आनन्द दिलाउन सक्रिय थिए, ती घर । सरसफाइ, सजावट र फूल बगैँचाले साँच्चिकै मनमोहक देखिन्थे घर । ठाउँ ठाउँमा लुङ्ता कतिपय ठाउँमा चन्द्रसूर्य अङ्कित नेपालको झन्डा फरर फहराउँदा स्वर्ग पुगेको भान भयो । ज्यादै अप्ठ्यारो ठाउँमा ढलान बाटो भेटिन्थ्यो । यसले यात्रामा हौसला बढाउँथ्यो ।
लमजुङको बेँसीसहर कटेपछि लगभग पाँच/सात किलोमिटरको फरकमा खुदी–ङादी, रामबजार, स्याङ्गे, जगत, च्याम्चे, तालमनाङ, धारापानी, दानाक्यु, तिमाङ, कोतो क्रमशः पार गर्दै ठाउँ ठाउँमा अग्ला र मनमोहक झरना (लमजुङको बुङ र अक्टोपस) लगायत अरू थुप्रैलाई चुम्बन गर्दै झमक्कै साँझ पर्दा चामेलाई छाम्न पुग्यौँ ।
लमतन्न बगेको मस्र्याङ्दी नदी लमजुङको बेँसीसहरबाट सुरु भयो । घुमन्ते/फिरन्ते हामी जति जति उत्तर लाग्थ्यौँ, ऊ उति नै ठाडो हुँदै गइरहेको थियो । सदरमुकाम चामेमा छङ्छङे खोलाको रूप ठुलो आवाजमा सुसाएको सुनियो । ठुलठुला चट्टानबिचमा सेतो कञ्चन पानीको बहाब, वारिपारि अग्ला भिर, ती भिरको फेदीमा चामेबजार जबरजस्ती टाँसिएको देखियो । सदरमुकाम त यस्तो छ भने गाउँ कति विकट
होलान् ? सहजै अनुमान लगाउन सकिन्थ्यो ।
जिल्ला प्रहरी कार्यालयले साँझको पाहुनाका रूपमा स्विकार्दै मेजमान ग¥यो । यति लामो बाटो पार गरेर मनाङ हेर्न पुगेका हामीलाई कच्याककुचुक परेको सदरमुकामले धित मर्ने कुरै भएन । हेर्नलायक ठाउँ कहाँ होला ? भनेर छलफल चलायौँ । स्थानीय प्रहरीले उपल्लो मनाङ हुँदै खाङसारसम्म मोटरबाटो जान्छ, त्यताबाट हिमालको रमणीय दृश्य र स्याउ खेती देख्न सकिन्छ भन्ने जानकारी दिए तर उपल्लो मनाङ पुग्ने कि नपुग्ने ? जाँदाआउँदा करिब छ घण्टा लाग्ने हिसाब निक्लियो ।
समय थोरै भए पनि छ घण्टा घुम्नु नै पर्छ भन्ने निधोमा हामी पुग्यौँ । भोलिपल्ट बिहान ५ बजे बाटो लाग्यौँ । चामेबाट उत्तरपश्चिम हुँदै भक्तपुर, तलेखु, भारताङ कटेर डिकुरपोखरी पुग्यौँ । कतै भिर, कतै जङ्गल त कतै आकाश छुने डाँडा पार गरेपछि उपल्लो मनाङको समथर उपत्यकाले स्वागत ग¥यो । त्यहाँ देखिएका स्याउ बगैँचा, चर्दै गरेका हिमाली गाई ‘याक’ र हिउँले सेताम्मे डाँडा साँच्चै मनमोहक देखिन थाले ।
मनाङ वाइन फ्याक्ट्री, ढिकुरपोखरी, हुम्देको एयरपोर्ट, उपल्लो मनाङ, गङ्गकुम्भ हिमताल मनै हर्ने अत्यन्त मनमोहक र सुन्दर थिए । हामी चामेदेखि ३८ किलोमिटर टाढा खाङ्सार पुग्यौँ । केही मिनेट हिँड्यौँ । घमाइलो बिहान रमाइलो ठाउँमा समय बिताउन पाउनु सौभाग्य हो तर उपियाँ तालको समयलाई कसरी पो बाँध्नु ? त्यो अस्त्र फेला पारेर गाईवस्तु बाँधे झैँ बाँध्न मन थियो ।
समुद्री सतहबाट १७०० मिटरदेखि ८१६३ सम्मको उचाइमा रहेको मनाङ जिल्ला दुई हजार २४६ वर्गकिलोमिटर क्षेत्रफलमा पैmलिएको छ । पूर्वमा गोरखा र लमजुङसँग सिमाना जोडिएको मनाङको उत्तरमा तिब्बत (चीन) छ । पश्चिममा मुस्ताङ र म्याग्दी तथा दक्षिणतर्फ कास्की र लमजुङसँग सिमाना जोडिएको मनाङमा ९६.७९ प्रतिशत साक्षरता दर छ । सदरमुकाम चामेदेखि चीनको तिब्बत सीमानाकासम्मको दुरी ७० किलोमिटर भए पनि सडक सञ्जाल जोडिन सकेको छैन ।
बौद्ध धर्म मान्नेको आश्रयस्थल हो मनाङ । अनुकूल मौसममा विदेशी/स्वदेशी पर्यटक तिलिचो ताल र थोरङ्लापासका लागि आउने गन्तव्य हो मनाङ । हिमपातको समयमा समेत थोरङ्लापास गरी मुस्ताङ मुक्तिनाथ जाने र मनासलु हिमाल चढ्नेको ताँती हुन्छ । जिल्लाका अधिकांश भागमा भरपर्दो सडक सञ्जाल नपुग्नु पर्यटकको सुरक्षामा ठुलो चुनौती देखिन्छ । जिल्लामा बन्द, हडताल, चक्काजाम, धर्ना र जुलुस जस्ता विरोधका स्वर नसुनिनु मनाङको सुखद पक्ष हो । मनाङमा पाँच हजार ६५८ जनसङ्ख्या रहेको नेपाल प्रहरीको तथ्याङ्कमा छ ।
स्थानीय प्रहरीका अनुसार यसै वर्षको साउनमा २५८, भदौमा ८२९ र असोजमा चार हजार १५४ स्वदेशी तथा विदेशी पर्यटकले मनाङ भ्रमण गरे । साढे पाँच हजार जनसङ्ख्या भएको मनाङमा फाट्टफुट्ट स्याउ खेतीबाहेक अरू कृषिबाली देखिएन । अचम्म चाहिँ कति ससाना बोटमा लटरम्म स्याउ फलेका हुन् । अधिकांश घर पर्यटकलाई सेवा दिएर नै बाँचेका रहेछन् ।
स्थानीयका अनुसार लमजुङको बेँसीसहरदेखि दुई दिनको पैदलयात्रामा चामे, चामेदेखि दुई दिनमा खाङ्सार र त्यहाँबाट एक दिनमा तिलिचो बेस क्याम्प पुगिन्छ । बेस क्याम्पबाट अर्को एक बिहानको बाटोमा तिलिचो ताल । तिलिचो हुँदै मुस्ताङ निस्कन दुई दिन खर्च हुने बुझियो । हामीले बाटैभरि थुप्रै पैदलयात्रीलाई देख्यौँ, भेट्यौँ । जिप, गाडीको लस्कर अर्को रमिता ! जोर लौरो टेकेर पाइला चाल्ने महिला, पुरुष, युवा र अधबैँसे मात्रै थिएनन्, सात दशक उमेर पार गरेका विदेशी नागरिक कति हुन्, कति ।
खाङ्सारदेखि तिलिचोसम्म घोडाको सुविधा पनि रहेछ । भाडादर प्रतिव्यक्ति २० हजार बेस क्याम्प पु¥याएको । त्यहाँभन्दा माथि अर्थात् तालसम्मै पुग्ने हुँदा थप रकम प्रतिव्यक्ति १५ हजार पर्छ भन्दै थिए खाङ्सारमा घोडा सुम्सुम्याउँदै एक युवा । गाडी नजाने ठाउँमा घोडा र खच्चडलाई सवारीसाधनका रूपमा प्रयोगमा ल्याइएका ती बथानलाई देख्दा लाग्यो, त्यो ठाउँ वाहनको बसपार्क हो । यी सबै गतिविधि देख्दा, सुन्दा र स्वदेशी तथा विदेशी पर्यटक हुलका हुल ‘ट्रेकिङ’ गतिमा बाटो लाग्दा मेरो मन तिलिचो हुँदै मुस्ताङ निस्किने धुनतर्फ खडा नभएको होइन तर शरीरको ‘ड्राइभर’ मनले जता डोहो¥याउँछ उतै गोडा लम्काउन सहज थिएन ।
समयको पावन्दीलाई ख्याल गर्दै चिसो खाङ्सारको आँगनमा केही क्षण व्यतीत ग¥यौँ । छरिएको हिउँ खेलाउन मस्र्याङ्दी खोला तरेर उकालो अलि टाढा पर्ने हुनाले त्यो असम्भव भयो । हिमालपारिको क्याफेमा दह्रै ‘ब्रेकफास्ट’ खायौँ । हिमाललाई काखमा राखेको मनाङको फराकिलो चौर, कलात्मक पहाड र निलो आकाश जति हे¥यो, उति हेरौ लाग्ने थियो । यसर्थ मनाङलाई आँखाको नानीभित्र, भित्रको पनि अझै भित्र राखेर तिलिचोतर्फ अघि बढेको ‘ट्रेकिङ रुट’ लाई फर्की फर्की हेर्दै आफ्नो गन्तव्यतिर ध्यान नखिची भएन ।
वास्तवमा मनाङले पर्यटकलाई जसरी तानिरहेको छ, यो देशकै उदाहरणीय जिल्ला लाग्यो । बाटोघाटो र अन्य पूर्वाधार विकासमा लिसिङफिसिङ हुँदा पनि यतिका पर्यटक आइरहेका छन् । भोलिका दिनमा सहज बाटोघाटो र अरू सुविधा थप हुँदा पर्यटक झनै बढ्ने अनुमान लगाउन सकिन्छ । मनाङभित्र अपार सम्भावना रहेछन् ।
त्यहाँको भूगोल, वनजङ्गल, खोलानाला, छहरा, फाँट, हिमाल, धार्मिक र सांस्कृतिक स्थल सबैलाई पर्यटकीय हिसाबले प्याकेज बनाउन सकिएमा देशकै अर्थतन्त्रमा मनाङको ठुलो योगदान हुने छ । त्यहाँ पाइने वन्यजन्तु, जडीबुटी तथा खनिजलाई थप अध्ययन अनुसन्धान र व्यवस्थापन गर्न सकेमा पर्यटकका लागि मनाङ थप आकर्षण बन्नेमा दुई मत छैन ।