• २७ मंसिर २०८१, बिहिबार

लिच्छविकालीन धर्मस्थली

blog

काठमाडाैँको उत्तरपश्चिममा प्राचीन लिच्छविकालीन नगर धर्मस्थली छ । धर्मस्थलीलाई धमाथु नामले पनि चिनिन्छ । धर्मस्थली अर्थात् धर्म गर्नेहरूको स्थल भनेर सोझो अर्थमा अथ्र्याउँदा यहाँको संवत् ५१७ को शिवदेव तथा अंशुवर्माको शिलालेखलाई सन्दर्भका रूपमा लिनुपर्ने हुन्छ । शिलालेखका अनुसार “धर्मस्थलीका बासिन्दालाई लेख्यदान र पञ्चपराधसम्बन्धी कामको अधिकार सुम्पी गरिदिएको सनदपत्रबाट यस भेगका बासिन्दालाई अधिकार कानुनी व्यवस्थासम्बन्धी स्वायत्तता प्रदान गरेको प्रस्टिन्छ ।” यसले धर्मस्थलीको धार्मिक प्राचीनता र ऐतिहासिक पक्षलाई समेत पुष्टि गर्छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित धनवज्र वज्राचार्यद्वारा लिखित लिच्छविकालीन नेपालको अभिलेख भन्ने पुस्तकमा धर्मस्थली नगरको लिच्छविकालीन अवस्था, स्वायत्त राज्य सञ्चालनको तौरतरिकाको विवरण उल्लेख गरिएको पाइन्छ । पुस्तकमा उल्लेख भए अनुसार काठमाडौँ उपत्यकाको उत्तरी भेगमा टोखाको हाराहारीमा धर्मस्थली भन्ने बस्ती छ । त्यहाँ बस्तीबाहिर उत्तरतिर सानो देवस्थल छ, त्यहाँ नै यो अभिलेख कुँदिएको शिलापत्र रहेको छ । अभिलेख कुँदिएको भाग २५ अङ्गुल लम्बा र २१ अङ्गुल चौडा छ । यसको शिरोभागको बिचमा चव्रm र दुईतिर शङ्ख अङ्कित छन् । यहाँ संवत् ५१७ लेखिएको छ । उक्त प्रमाणले यस स्थलको ऐतिहासिकता बोध गराउँछ ।

धर्मदत्त (देव) राजाले परापूर्व कालमा बसाएको बस्ती हुनाले यसको नाम धर्मस्थली रहेको हो । यहाँको विशाल फाँटबाट बग्ने रुद्रमती र शेषमती नदीको दोभानमा धर्मेश्वर महादेव स्थापना गरिएको छ । उक्त महादेव मन्दिर धर्मस्थली बजारको बिचमा लगेर राखिएको हुनाले महादेवकै नामबाट यस स्थानको नाम धर्मस्थली रहन गएको हुन सक्छ । धर्मराजले यस स्थलमा आई तपस्या गरेकाले पनि यस ठाउँको नाम धर्मस्थली रहन गएको भन्ने किंम्वदन्ती पाइन्छ । व्यापार तथा धार्मिक सिलसिलामा चीन–तिब्बत यात्रा गर्ने यात्रुलाई यस स्थानमा बास दिने कार्यले गर्दा यस ठाउँको नाम धर्मस्थली रहन गएको जनश्रुति भेटिन्छ ।

धर्मस्थलीलाई नेपाल र तिब्बत भोटको व्यापारिक मार्गका रूपमा लिइन्छ । त्यस्तै श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणका सन्दर्भमा यस स्थानमा गोरखनाथ र भीमसेन स्थापना गरेका थिए । उपत्यका विजय प्राप्त गर्न पृथ्वीनारायण शाहले नुवाकोटबाट आफ्नो साथमा ल्याएका काठमाडौँकी कँडेलचोक भगवतीलाई वर्षको एक पटक माइती नुवाकोट लैजाने मार्गका रूपमा पनि धर्मस्थली नै रहेको छ । अहिले पनि उनको खट हनुमानढोकाबाट त्रिशूली लैजाँदा एक दिन धर्मस्थलीमा बास बसाउने चलन छ । नेवारी समुदायको उत्कृष्ट तीर्थस्थल सिलुम्येमा पनि यस स्थलको प्रसङ्ग उल्लेख भएको पाइन्छ । त्यसैले सिलुम्येमा छेना दना बना धमाथुली बास, धमाथुली दना वना न्यागमणि बास भनेर वर्णन भएबाट यो प्राचीन स्थल भएको प्रमाणित हुन्छ । यसै गरी नेपाल भाषाको लोक आहान सुरदत्त बाँखमा पनि धर्मस्थलीको चर्चा पाइन्छ । 

विभिन्न विशेषता झल्काउने धर्मस्थलीको चर्चा वा प्रसङ्ग नेपाल भाषाका अनेकौँ संस्कृतिसँग जोडिएको पाइन्छ । धर्मस्थली चैत्य (ख्योमा) लाई स्वयम्भू महाचैत्यकी आमा पनि भनिन्छ । नेपाल संवत्को नवौँ महिना गुँलापर्वको अन्तिम दिन विशेष पूजा र धर्मस्थली चैत्यको जात्रा प्रत्येक वर्ष विजयादशमीको कोजाग्रत पूर्णिमाका दिन लाग्ने गर्छ । स्वयम्भू महाचैत्यभन्दा पहिले नै धर्मस्थलीमा बुद्ध चैत्य बनिसकेको हुँदा धमाथु चैत्यलाई स्वयम्भूकी आमा भनिएको हो । राजा नृपेन्द्र मल्लको राज्यकालमा नेस ७९८÷८०० मा यहाँस्थित भगवान् ख्योमा चैत्य निर्माण भएको पाइन्छ ।

तारकेश्वर नगरपालिकाको प्रमुख कार्यालय तारकेश्वर नगरपालिका–६, धर्मस्थलीको खेलाचौरमा रहेको छ । खेलाचौर विभिन्न देवीदेवताको वासस्थान पनि हो । यो स्थान पुग्न जरङ्कुबाट पश्चिमतिर केही उकालो चढ्नु पर्छ । उच्च समस्थलीमा दुई वटा पिपलका आकर्षक चौतारो नजिकै बुद्ध चैत्य ख्योमा रहेको छ । यहाँ धर्मस्थलीका नेवार समुदायका कुलदेवता रहेका छन् । उक्त स्थानमा करुणामय र सरस्वतीको मन्दिरलगायत शिलालेख आदि देख्न सकिन्छ । धर्मस्थलीमा पश्चिमपट्टि रहेको पुसल गाउँमा भृकुटीको प्राचीन मूर्ति रहेको र उक्त मूर्ति हराएको हुँदा त्यसलाई केही वर्षअघि पुनस्र्थापन गरिएको छ । स्थानीयले नारायणको मूर्ति भने तापनि पुरातìव विभागले दिएको जानकारी अनुसार उक्त मूर्ति नारायणको नभएर भृकुटीको हो । लिच्छविकालीन नगरका रूपमा चिनिएको यस धर्मस्थलीमा शक संवत् ५१७ को अंशुवर्माको शिलालेख रहेका कारण उक्त मूर्ति भृकुटीको नै हुने बलियो आधार रहेको प्रस्ट हुन्छ । प्रारम्भमा उक्त मूर्ति महाकाल मन्दिर परिसरमा रहेको र पछि उक्त मूर्ति पसलमा पुगेको कुरा स्थानीय बताउँछन् । 

त्यस्तै भूपालेश्वर महादेव र प्रिकुन वाराही मन्दिरदेखि केही तल दक्षिणपूर्वमा खोलाको केहीमाथि डाँडाको पहरामा पहरागणेशको मन्दिर रहेको छ । ठुलो ढुङ्गाको आकारमा रहेको यस गणेशलाई नै सबैले पहरा गणेश भन्छन् । धर्मस्थलीका नेवार समुदायका मानिस खट लिएर बाजागाजासहित घोडेजात्राको अघिल्लो दिन चतुर्दशीमा यस मन्दिरमा आउँछन् र त्यसपछि धर्मस्थलीमा खटजात्रा सुरु हुन्छ । पाहाँचह्रेमा यहाँबाट र जरङ्कुबाट गणेशको रथ समावेश नभएसम्म धर्मस्थलीमा सिन्दूर जात्रा हुँदैन । धर्मस्थलीमा पाँच दिनसम्म लाग्ने पाहाँचह्रे जात्रा उपत्यकाको प्राचीन जात्रामध्येको एक मानिन्छ । पाहाँचह्रेमा धर्मस्थली गणेश, जरङ्कु गणेश, पहरा गणेश, पिरकुन, महाँकाली माईको खट जात्रा हुने गर्छ । 

विभिन्न प्राचीन शिलालेख, मूर्ति, चैत्य आदिको सङ्गम रहेको धर्मस्थली काठमाडौँ उपत्यकाको बाहिरी भागमा पर्ने प्राचीन बस्ती हो । यसको आफ्नै धार्मिक सांस्कृतिक र पर्यटकीय महìव रहेको छ । कला, संस्कृति, सम्पदा र परम्पराका लागि समृद्ध मानिएको यस नगरको पर्यटकीय विस्तारका लागि सम्बन्धित निकायले गुरुयोजना बनाएर कार्यान्वयन गर्न सके यसले स्वदेशी तथा विदेशी पर्यटकलाई सहजै आकर्षण गर्ने देखिन्छ ।  

  

Author

देवेन्द्र अर्याल ‘आँसु’