बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक २४ गते । कमलामाई नगरपालिका–३, चपौली निवासी ८८ वर्षीय पद्मनाथ देवकोटा दसैँका बेला तीन छोराबुहारी र नातिनातिनासँगै रमाउनुभयो । स्वदेशका विभिन्न ठाउँमा रोजगारीमा रहेका छोराबुहारी दसैँलगत्तै कर्मथलो फर्केपछि फेरि उहाँको दम्पती एक्लै हुनुभएको छ । त्यसो त उहाँलाई खान, लगाउन र खर्च गर्न कुनै कमी छैन । एउटै कमी भनेको भएका आफ्ना सन्तानको साथमा नहुनु हो । उहाँलाई आफ्नो थातथलो छाडेर छोराबुहारीसँगै जान पनि मन छैन । उहाँले भन्नुभयो, “बुढेसकालमा अब कता जानु ? पसिना बगाएर जीवन बिताएको ठाउँ छाडेर अन्त जान मनलाग्दो रहेन छ । छोराबुहारीसँगै जाउँ भन्छन्, मन छैन ।”
रोजगार, अध्ययन तथा विभिन्न कामले स्वदेशका विभिन्न ठाउँमा बस्दै आएका चाडपर्व मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै उनीहरू धमाधम कर्मथलो फर्किन थालेपछि ग्रामीण क्षेत्रको रौनक युवासँगै बाहिरिएको छ ।
विदेश तथा स्वदेशका विभिन्न सहरमा रोजगारीमा रहेर दसैँतिहार मनाउन घर आएका युवा यो वर्षको चाडपर्वको समाप्तिपछि कर्मथलो फर्किएसँगै गाउँको रौनक बाहिरिएको हो । चाडपर्व मनाउन घर आएका युवा अहिले धमाधम आफ्नो कर्मथलो फर्कन थालेका छन् । गाउँबस्तीबाट युवा बाहिरिएसँगै अहिले गाउँ वृद्धाश्रममा परिणत हुँदै गएको छ । वृद्धवृद्धा मात्रै गाउँमा छन् । चाडपर्व मनाउन गाउँ आएका युवा आआफ्नो कार्यक्षेत्र फर्किएसँगै गाउँको रौनक फेरि हराएको हो । युवा कार्यथलो फर्किएपछि गाउँ सुनसान बन्दै गएको तीनपाटन गाउँपालिका–७ निवासी गोपाल मगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चाडपर्व मनाउन युवा आएसँगै गाउँमा निकै चहलपहल हुन्छ, धेरै रमाइलो हुन्छ । उनीहरू कर्मथलो फर्किएपछि दिनभरि चिरबिर गर्ने चरा साँझमा आफ्नै गुँडमा फर्किए झैँ गाउँ सुनसान बन्दै गएको छ ।”
फेरि गाउँमा रौनक आउन अर्को वर्षको दसैँतिहार नै कुर्नुपर्ने उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो, “देश विदेशबाट आएका आफन्त र साथीहरूसँग भइरहने भेटघाटले दिन बितेको पत्तै हुँदैनथ्यो । केही दिन गाउँघरमा निकै रमाइलो भयो । अहिले फेरि विरक्त लाग्दो भएको छ ।”
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान र कोदो भित्र्याउने समय भएको छ । गाउँमा कृषि मजदुरको अभावले उनीहरूलाई उक्त बाली भिœयाउन पनि हम्मे हम्मे भएको गोलन्जोर गाउँपालिका–५ निवासी शिक्षक लेखबहादुर बस्नेत सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “विभिन्न अवसरका खोजीमा युवाशक्ति बाहिरिँदा गाउँ वृद्धाश्रम जस्तै बन्दै गएको छ । यही अवस्था रहिरहने हो भने कुनै बेला गाउँमा मानिसको शव पनि उठाउन गाह्रो होला जस्तो छ । गाउँमा अहिले वृद्धवृद्धा र बालबालिकाबाहेक अरू देखिँदैनन् ।” अवसरको खोजीमा धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन बाँझै हुने क्रम बढ्दै गएको छ ।