• ५ मंसिर २०८१, बुधबार

सुवर्णशमशेर स्मृति दिवस

कांग्रेसका सच्चा दानवीर

blog

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्णशमशेर राणाको अतुलनीय योगदान छ । राणा कुलमा जन्मेर पनि प्रजातन्त्रका लागि विद्रोही भई लड्ने उहाँको समर्पण, सहयोग र सद्भाव सदा स्मरणीय छ । नेपाली कांग्रेसले २००७ सालको जनक्रान्तिदेखि २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्यापछि प्रजातन्त्र पुनस्र्थापनाका लागि प्रवासबाट सञ्चालित सशस्त्र क्रान्तिसम्मका सम्पूर्ण खर्च बेहोर्ने सुवर्णको उदारता, दानशीलता नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्ण अक्षरले लेखिने छ । कांग्रेसलाई कुनै आर्थिक सङ्कट होस्, वा सामरिक सङ्कट, सबैमा उहाँले अग्रपङ्क्ति रहेर सेवा गर्नुभएको थियो । उहाँको जन्म सन् १९०९ फरवरी १६ का जन्म काठमाडौँको टङ्गाल दरबारमा भएको थियो । उहाँ श्री ३ महाराज भीमशमशेरका नाति, हिरण्यशमशेरका छोरा हुनुहुन्थ्यो । सुवर्ण हिलो (किचड) मा कमल फुले झैँ एकतन्त्रीय, जहानियाँ तानाशाही व्यवस्थामा हुर्कनु भएका शालीन सौम्य, मृदुभाषी हुनुहुन्थ्यो । सन् १९३२ मा कलकत्ता विश्वविद्यालयबाट उहाँले अङ्ग्रेजी साहित्यमा एमए उत्तीर्ण गर्नुभएको थियो । त्यसलगत्तै सन् १९३३ (विसं १९९० साल) मा श्री ३ जुद्धशमशेरले आफ्ना वंशलाई एबिसी श्रेणीमा विभाजित गरी हिरण्यशमशेर, महावीरशमशेर तथा सुवर्णशमशेरलाई सी क्लासका राणा करार गरी देश निकाला गरेका थिए ।

राणा शासकविरुद्ध आक्रोशित सुवर्णशमशेरले नेपालबाट एकतन्त्रीय जहानियाँ निरङ्कुश राणातन्त्र समाप्त गरी प्रजातन्त्र ल्याउने अठोट गर्नु भयो । उहाँको सभापतित्वमा नेपाल डेमोक्रेटिक कांग्रेस पार्टीको स्थापना २००५ साल साउन १ गते गठन भयो । महेन्द्र विक्रम शाह, महावीरशमशेर र सूर्यप्रसाद उपाध्याय समेललाई साथ लिएर गठन गरिएको यस पार्टीले आफ्नो सक्रिय कार्यक्रम सञ्चालन गर्न थाल्यो । उत्ता बिपी कोइरालाको सभापतित्वमा २००३ सालमै बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भइसकेको थियो । जसको सङ्गठन विस्तार भई जिल्लाहरूमा शाखा खुलेर राणाविरुद्ध क्रान्ति गर्न वातावरण तयार गर्दै थियो । 

यसरी दुइटै पार्टीको राणाशासन विरुद्ध प्रजातन्त्रको स्थापना नै उद्देश्य नै थियो । त्यसैले दुवै पार्टीलाई एकीकरण गर्नु आवश्यक थियो । दुवै पार्टीका शीर्षस्थ नेता बिपी कोइराला र सुवर्णशमशेरबिच धेरै छलफल भई २००६ साल चैत २७ गतेका दिन कलकत्ता को टाइगर सिनेमा हलमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण भई नेपाली कांग्रेसको गठन भयो । 

सशस्त्र क्रान्ति गरेर राणा शासन समाप्त पार्ने र संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने नीति लिइए अनुसार २००७ साल असोज १०/११ गते भएको वैरगनियाँ सम्मेलनले क्रान्ति सुरु गर्ने मिति तय गरियो । सुवर्णलाई मुक्ति सेनाको प्रमुखको जिम्मेवारी सुम्पियो । क्रान्तिका लागि अर्थाभाव थियो । यसका लागि के गर्ने भनेर नेताहरू बिच छलफल हुन थाल्यो । क्रान्तिका लागि ठुलो परिणाममा हतियार र लडाकु चाहिएको थियो । यसको व्यवस्था गर्न आवश्यक थियो ।

दुवै नवगठित प्रजातान्त्रिक पार्टीको प्रथम उद्देश्य नै नेपालबाट एक शताब्दीको निरङ्कुश, एकतन्त्रीय जहानियाँ राणातन्त्र अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नु थियो । त्यही अनुरूप शीर्षस्थ नेताहरूले रणनीति र कार्यनीति बनाउन थाले । क्रान्तिका लागि आवश्यक दुई तत्व स्रोत र सेनानी (लडाकु) थियो । त्यो व्यवस्थापन गर्न सुवर्णशमशेर सक्षम र योग्य देखिनु भयो । त्यसैले त बिपीले सुवर्णलाई आशलाग्दो व्यक्ति सम्झनुभयो । बिपीले गणेशमान सिंहलाई सुवर्णसित भेट्न र स्रोतसाधनका बारेमा कुराकानी गर्न कलकत्ता पठाउनुभयो । गणेशमान सुवर्णजीसित भेट भएपछि क्रान्तिका लागि कति रकम माग्ने भन्ने विषयमा दोधारमा पर्नुभयो । बढी रकम माग गर्दा रिसाउला कि भनेर गणेशमानले थोरै रकम (२५ लाख) माग गर्नुभयो । सुवर्णले यति मात्र रकमले क्रान्ति सफल होला र भन्ने सोध्नुभयो । सुवर्णजीले भने ल अहिले २५ लाख लैजानुस् र अरू आवश्यक पर्दा थपौला भन्नुभयो । त्यति रकम लिएर गणेशमानजी बिपीकहाँ आउनुभयो र सारा वृत्तान्त सुनाउनुभयो । त्यसपछि बिपी उत्साहित भई हतियारको व्यवस्थातिर लाग्नुभयो ।

हतियारका लागि वर्माका प्रतिरक्षा मन्त्री उवास्वेसित सम्पर्क राखियो । सन् १९५० को जनवरी मा बिपी कोइराला एसियन समाजवादी सम्मेलनमा भाग लिन जाँदा उहाँलगायतका नेतासित राम्रो चिजजान भएको थियो । त्यतिबेला बिपीले नेपालको प्रजातान्त्रिक आन्दोलनको बारेमा पनि कुरा गरी सहयोगका लागि आग्रह गर्नुभएको थियो । बिपी पुनः त्यस सालको अगस्त महिनामा वर्मा पुग्नुभयो । भारतका समाजवादी नेता जयप्रकाश नारायणले पनि वर्माका प्रतिरक्षा मन्त्री उबास्वे सित नेपालको जनक्रान्तिलाई हर सम्भव सहयोग गर्न आग्रह गरेका थिए । बिपीले ती नेताहरूसित हतियारको बारेमा कुरा गरी नेपाल फर्के ।

त्यसको लगत्तै बिपीले कलकत्ताका समाजवादी युवक भोला चटर्जी र थीरवम मल्ललाई वर्मा पठाउनुभयो । ती हतियार महावीरशमशेरका जहाज हिमालय एभिएसनबाट ल्याइयो । सो विमान पटनाका बक्सर निरको चउरमा उतारे । वर्माबाट विमान आइपुग्नुभन्दा अघि नै निर्धारित समयमा बिपी र सुवर्णशमशेर ट्रक लिएर पुगिसक्नुभएको थियो । ती सबै हतियारले लादिएका ट्रक नेपाल कसरी पु¥याउने भन्नेबारे दुवै नेता निकै चिन्तित हुनुहुन्थ्यो । भारतको केन्द्रीय सरकारले थाहा पाए भने जफत गर्ने थियो । त्यसैले बिपीले बिहारका तत्कालिन मुख्यमन्त्री श्रीकृष्ण सिहसित सम्पर्क गर्नुभयो । उहाँ बिपीसँगै हजारीबाग जेलमा बसेका हुनुहुन्थ्यो । बिपीको उहाँसित घनिष्ट सम्बन्ध थियो । मुख्यमन्त्री सिंहले बिपीको आग्रह मानेर बिहारका आइजिपीलाई भनेर सुरक्षितपूर्वक हतियार नेपाल भित्र्याए ।

भित्रिएका हतियार नेपालका विभिन्न जिल्लामा पठाउने काम गरियो । जनक्रान्तिलाई लडाकुको आवश्यकता भएकाले यसका लागि सुवर्णशमशरेका भान्जा जो सुभाषचन्द्र‌ बोसको आजाद हिन्द फौजका सेना थिए थिरबम मल्ल, उनैको नेतृत्वमा मुक्तिसेना गठन गरियो । उता राजा त्रिभुवन कात्तिक २१ गतेका दिन राजदरबारबाट निस्किएर काठमाडौँस्थित भारतीय राजदूतावासमा शरण लिन पुग्नुभयो । कात्तिक २५ गते नेपाली कांग्रेसले एकतन्त्रीय राणाशासनको विरोधमा पूर्ण रूपमा जनक्रान्ति प्रारम्भ गरेको घोषणा गरियो । त्यही दिन साँझ ५ बजे हवाईजहाजबाट वीरगन्ज, काठमाडौँ र पूर्वी पहाडमा पर्चा छरियो ।

यसले गर्दा राणाशासक भयभीत हुन पुगे । सारा मुलुकमा अब जनक्रान्तिको आगो बल्यो भनी जनतामा विश्वास भयो । कलकत्तामा नेपाली कांग्रेसको आकस्मिक बैठक बस्यो र जनक्रान्तिलाई मूर्तरूप दियो । सर्वप्रथम वीरगन्जमाथि मुक्ति सेनाले आक्रमण ग¥यो । आजाद हिन्द फौजका थीरवम मल्ल, मेजर पुरनसिंह खवास र जी–वी याकथुम्बाको नेतृत्वमा वीरगन्ज माथि कात्तिक २५, २६ गते आक्रमण गरी वडाहाकिम निवाससहित पूरै सहर कब्जा गरियो । भोलिपल्ट कात्तिक २६‌ गते शनिबारका दिन वीरगन्जमा नेपाली कांग्रेसले आफ्नो चारतारे झन्डा फहरायो । वीरगन्ज कब्जा भएपछि स्थानीय जनतालाई सम्झाइरहेको बेला रेलवे स्टेसनको प्लेटफर्म तिरबाट आइरहेको सरकारी सेनाका दुई जनाले थिरबम मल्लमाथि पछाडिबाट गोली हाने । उहाँलाई रक्सौलको डङ्कन अस्पताल लगियो तर बचाउन सकिएन । अन्त्यमा उहाँले शहादत प्राप्त गर्नु भयो । 

त्यसपछि विराटनगर, झापा, सप्तरी, भोजपुर, ओखलढुङ्गा, जनकपुर, भोजपुर, चैनपुरलगायत पूर्वी नेपालमा जनक्रान्ति फैलियो । उता पश्चिम नेपालको भैरहवा, नेपालगन्ज, धनगढीलगायत पश्चिमी नेपालमा पनि जनक्रान्तिको ज्वाला फैलियो । सबै स्थानमा नेपाली कांग्रेस विजयी भई चारतारे झन्डा फहरायो । २००७ साल कात्तिक २६ गतेदेखि पुस २४ गतेसम्म पूरै मुलुक नेपाली कांग्रेसको कब्जामा आइसकेका थिए र जिल्ला–जिल्लामा स्थानीय सरकार पनि बनिसकेका थिए । आन्दोलनलाई यो स्थानसम्म ल्याई पु¥याउन सुवर्णशमशेरको ठुलो योगदान छ । जुन इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ ।

२०१६ सालमा बिपी कोइराला प्रधानमन्त्रीत्वमा बनेको सरकारको उपप्रधान तथा अर्थमन्त्री सुवर्णशमशेर बन्नुभएको थियो । त्यही साल साउन २५ गते संसदको संयुक्त बैठकमा २०१६/१७ साल को बजेट प्रस्तुत गर्दै उहाँले भन्नुभएको थियो, “देशमा यातायातको उचित व्यवस्था नभएकाले देशको आर्थिक एकीकरण राम्रोसँग हुन सकेको छैन । देशका अधिकांश भाग आधुनिक आर्थिक प्रणालीभित्र पर्दैन । औद्योगिक तथा कृषि उत्पादन व्यापार र मूल्य आदिको सम्बन्धित विषयमा तथ्याङ्कको अभावले गर्दा यथार्थ ज्ञान हुन सकेको छैन । यस अवस्थामा देशको आर्थिक स्थितिबारे निश्चित रूपले केही भन्न गाह्रो छ ।”

उहाँ भन्नुहुन्छ, “देशमा रहेको सम्पत्तिको असमान वितरण हटाउन न्यायोचित कर नीति सरकारले लिएको छ । सरकारले बिर्ता उन्मूलनको नीति अपनाइसकेको छ र बिर्ता उन्मूलन विधेयक यसपछि तुरुन्त आउने भएकाले यो आर्थिक वर्षदेखि बिर्ता कर लगाइएको छ । बिर्ता माल तहसिल राष्ट्रीयकरण गरिएका छन् । यसबाट मोटामोटी ६० लाख आम्दानी हुने अनुमान छ ।” बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिँचाइ तथा यातायातलाई बढी प्राथमिकता दिइएको थियो । उहाँले बजेट प्रस्तुत गर्दा बिर्ता उन्मूलन, जमिनदारी उन्मूलन, जङ्गलको राष्ट्रीयकरण, जमिनमाथिको स्वामित्वमा हदबन्दी, आदि प्रस्तुत गर्नुभयो । उहाँले वायुसेवा निगमलाई राष्ट्रीयकरण गर्नु हुँदा दरबारको कोपभाजन बन्नु प¥यो । बजेट भाषणको लगतै सर्वप्रथम आफैँले १२ हजार बिघा जमिन राष्ट्रको नाममा अर्पित गर्नुभयो । 

नेपाल राष्ट्रवादी गोरखा परिषद्का प्रमुख सचेतक सुरेन्द्रप्रसाद उपाध्याय, नेपाल प्रजापरिषद्का (मिश्र गुट) का अध्यक्ष भद्रकाली मिश्र, संयुक्त प्रजातन्त्र पार्टीका महामन्त्री काशी प्रसाद श्रीवास्तव, नेपाल तराई कांग्रेसका महामन्त्री रामजनम तिवारी/लगायत विघटित संसद्का १०९ जना सदस्यमध्ये ३९ जनाले भाग लिएका थिए । सम्मेलनमा नेपाली कांग्रेसका कावा सभापति सुवर्णशमशेरले पुस १ गते राजा महेन्द्रले कांग्रेसको सरकार र संसद्लाई जुन आरोप लगाएर भङ्ग गरेका थिए, त्यसलाई खण्डन गर्दै भन्नुभएको थियो, “सरकारमा जति व्यक्तिगत एवं राजनीतिक इमानदारी छ, हाम्रो मन्त्रीमण्डल र संसद् त्योभन्दा अलिकति पनि कम इमानदारी थिएन । तसर्थ राजाबाट संसद् भङ्ग गर्दा लगाइएका सबै लान्छना झुठा, र आफू अधिनायक बन्ने दुष्प्रवृत्तिका लागि लगाइएका लान्छना हुन् भनी म दृढताका साथ भन्न चाहन्छु ।”

इतिहासका अप्ठेरो परिस्थितिमा प्रजातन्त्र स्थापनार्थ पार्टीलाई परेको आर्थिक सहयोग दिने यस्तो नेता सायदै भेटिने छन् । इतिहासबाट आज कसैले पनि पाठ सिक्न नचाहनु दुःखको विषय हो । नेपाल राष्ट्रका सच्चा सपुत प्रजातन्त्रका रक्षक र दानवीर सुवर्णशमशेरप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्छु ।  

Author

रामनारायण देव