• २६ पुस २०८१, शुक्रबार

अनुदानको बिउले फूल किसान निराश

blog

तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, कात्तिक २३ गते ।
कावासोतीका पाँच जना कृषक मिलेर बनाएको वडा प्रवर्द्धन प्रतिष्ठानले चार कट्ठा जग्गामा लगाएको सयपत्री फूलबाट गत वर्षको तिहारमा १० क्विन्टल उत्पादन दियो । तर अवैध रुपमा भित्रिएका भारतीय फूलले नेपाली कृषक मारमा परे । १० क्विन्टलमा दुई क्विन्टल मात्र बिक्री भयो । चिस्यान केन्द्र नभएका कारण बाँकी ८ क्विन्टल फूल नष्ट भएको बताउनुहुन्छ प्रतिष्ठानले सञ्चालन गरेको कावासोती पशुपन्छी कृषि फर्मका सञ्चालक बाबुराम केसी ।

तर यो वर्ष स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले सरकारले भारतीय फूल आयातमा लगाएको रोक र भारतबाट अवैध रुपमा भित्रिने फूलबाट त्यहाँ सयपत्रीमा देखिएको रोग भित्रिन सक्ने भएकाले प्लान्ट क्वारेन्टाइन गरेका कडाइका कारण नेपाली फूल कृषक निक्कै उत्साहित थिए ।

त्यसैले प्रतिष्ठानले गत वर्षको भन्दा क्षेत्रफल र फूलका बिरुवासमेत बढाएर खेती गर्यो । तर कृषि ज्ञान केन्द्र नवलपुरले अनुदानमा वितरण गरेको फूलको बिउले किसानलाई रुनु न हाँस्नु बनायो । पाँच कट्ठामा उम्रेको फूलमध्ये ६० प्रतिशत पतेरे अर्थात् भाले फूल भएको बताउनुहुन्छ प्रतिष्ठानका अध्यक्ष पण्डित विष्णुप्रसाद पोख्रेल ।

‘‘सरकारले दिएको बिउ नेपाली किसानलाई प्रोत्साहित गर्ने गरी नै दिएको होला भनेर हौसिएका थियौं, तर भ्रम रहेछ, हामीलाई सरकारले नै ठग्यो,’’ अध्यक्ष पोख्रेलले भन्नुभयो, ‘‘हाम्रोमा मात्र हो कि भनेको त जताततै यस्तै रहेछ ।’’ पाँच कट्ठामा १५ क्वीन्टल फूल अनुमान गरे पनि ३० देखि ३५ किलो मात्र बेच्न सकेको उहाँको भनाइ छ ।

माया कृषि तथा पशुपन्छी फर्मकी सञ्चालक ज्ञानु जिसीले पनि कृषि ज्ञान केन्द्रले अनुदानमा दिएको बिउका कारण यो वर्ष मारमा परेको गुनासो गर्नुभयो । ‘‘४ कट्ठामा सयपत्री फूल लगाएका थियौं, केही फूल पानीले बिगायौ, बाँकी रहेको पनि भाले परेपछि नाफा त परै जावस्, खर्च पनि उठेन,’’ जिसीले भन्नुभयो ।

गोसाइँथान एग्रो फमका सञ्चालक दीपकप्रसाद भट्टराईको गुनासो पनि उहाँहरुको जस्तै छ । ६० प्रतिशतभन्दा बढी फूल काम नलाग्ने भएको उहाँले बताउनुभयो ।

ज्ञान केन्द्रले कावासोती, मध्यबिन्दु र विनयी त्रिवेणीका १६ जना किसानलाई ‘टेनिस बल’ जातको बिउ वितरण गरेको थियो । ‘टेनिस बल’ को बिउ दिने भनेपछि आफूले अनुदान अस्वीकार गरेर ‘कर्मा ५५५’ जातको बिउ रोपेको र त्यसले राम्रो उत्पादन दिएको बताउनुहुन्छ, शिवशक्ति एग्रो फर्म साँढका सञ्चालक सुदीप दवाडी ।

‘‘ज्ञान केन्द्रले महँगो दिन्न, सस्तो बिउ वितरण गर्दा राम्रो हुन्न,’’ दवाडीले भन्नुभयो, ‘टेनिस बल’ मैले पहिले नै लगाए घाटा खाइसकेको थिएँ, त्यसैले अहिले पनि त्यही बिउ दिने भनेपछि त्यो नदिएर ‘कर्मा ५५५’ जातको बिरुवा लगाएँ, त्यसले राम्रै आम्दानी दियो ।’’

तर कृषि ज्ञान केन्द्रले भने यसमा आफूहरुको दोष नरहेको दाबी गरेको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले आफूहरुले पनि बाहिरबाट खरिद गरेर ल्याएकोले सिल प्याक गरिएको कुन बिउ कस्तो हुन्छ भनेर थाहा नहुने बताउनुभयो ।

‘किसानलाई कर्मा ५५५’ नै दिने भनेका थियौं तर त्यसको बिउ कतै पाइएन, त्यसैले ‘टेनिस बल’ नै वितरण गरिएको हो, यो बिउमा किसानले जताततैबाट गुनासो मात्र गरेका छन् । ‘टेनिस बल’मा शतप्रतिशत फूल त निस्कन्थ्यो तर सोचेभन्दा बढी भाले फूल निस्क्यो, यो फूलको बिउ नेपालमा नपाइने भएकाले आयात गर्दा कस्तो पर्छ थाहै नहुने रहेछ ।’’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो जातको फूलको बिउ एक लाख रूपियाँमा खरिद गरेर भारत र थाइल्याण्डबाट ल्याइएको थियो । जिल्लाभरि तिहारको बेला कति किसानले कति क्षेत्रफलमा सयपत्री फूलको खेती गर्छन भन्ने कुनै तथ्याङ्क नभएको ज्ञान केन्द्रले जनाएको छ ।