काठमाडौँ, कात्तिक २२ गते । आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली ओमानले संयुक्त अरव इमिरेट्स (युएई) माथि सहज जित निकालेको छ ।
मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा बिहीबार भएको खेलमा ओमानले युएईलाई चार विकेटले हरायो । जितका लागि युएईले प्रस्तुत गरेको ७९ रनको लक्ष्य ओमानले २४.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
ओमानका लागि आमिर कलिमले ३२ र हमाद मिर्जाले २० रन बनाउनुभयो । बलिङमा युएईका बसिल हमिदले तीन विकेट लिनुभयो । आयन अफ्जल खानले दुई तथा धु्रव परासरले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २५.३ ओभरमा सबै विकेटको क्षतिमा ७८ रन मात्र बनाएको थियो । युएईका लागि अली नासिरले २१, जुनैद सिद्धिकीले अविजित १३, मोहम्मद वासिमले १३, बसिलद हमिदले १२ र वृत्य अरविन्दले ११ रन बनाउनुभयो ।
बलिङमा ओमानका शकिल अहमदले पाँच विकेट लिनुभयो । यस्तै जय ओडेराले दुई तथा मुजाहिर राजा र समय श्रीवास्तवले एक एक विकेट लिनुभयो । जितसँगै ११ खेलबाट १२ अङ्क बनाएको ओमान पाँचौँ स्थानमा छ । पराजित युएई १० खेलबाट चार अङ्क जोड्दै अन्तिममा छ । एजेन्सी