• १० मंसिर २०८१, सोमबार

गाउँबाट हराउँदै पानीघट्ट

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, कात्तिक २२ गते । सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा परम्परागत उद्योगका रूपमा सञ्चालन हुँदै आएका पानीघट्ट लोप हुन थालेका छन् । 

ग्रामीण क्षेत्रमा विद्युत् र डिजेलबाट सञ्चालन हुने मिलको बढ्दो प्रयोगसँगै पानीघट्ट लोप हुँदै गएका हुन् । स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले मकै, गहुँ, कोदो, चामललगायतका खाद्यान्न पिसेर दैनिक रूपमा गुजरा चलाउँदै आएका थिए । अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुन थालेको तीनपाटन गाउँपालिका–११ निवासी डिल्लीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा परम्परागत रूपमा सञ्चालन हुँदै आएका पानीघट्टलाई सुधार गरी आधुनिक बनाइए पनि प्रयोगमा नआई लोप हुँदै गएको छ । आधुनिकताले गर्दा ग्रामीण क्षेत्रका मौलिक संस्कार, संस्कृति र प्रविधि लोपोन्मुख अवस्थामा पुगेका छन् । एक दशकअगाडिसम्म सिन्धुलीको ग्रामीण क्षेत्रमा पानीघट्टको प्रयोग अत्यधिक थियो । उहाँले आफूले पनि गाउँकै हाँडीखोलामा एक दशकसम्म पानीघट्ट सञ्चालन गरेको र गाउँमा डिजेल मिलको प्रवेशसँगै आफूले सञ्चालन गरेको पानीघट्ट बन्द भएको सुनाउनुभयो । अहिले पानीघट्ट भेट्टाउनै गाह्रो भइसकेको छ । 

मिलमा कुटानी पिसानी गर्दा चाँडै पनि हुने र ज्याला पनि कम लाग्ने भएकाले उपभोक्ता पनि त्यतै आकर्षित बनेका कमलामाई नगरपालिका–३, चपौली निवासी वीरबहादुर तामाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कुनै बेला म पनि पानीघट्ट सञ्चालन गर्दथेँ । अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि आउन छाडेपछि बन्द नै गर्नु प¥यो ।” घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता र ज्याला पनि बढी लाग्ने भएकाले अन्नपात पिसानी गर्ने मिलतिर आकर्षित भएको उहाँको बुझाइ छ ।

स्थानीयका अनुसार खास गरी पानीघट्ट  खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । अहिले कतै कतै मुस्किलले देख्न पाइने पानीघट्ट जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ । प्रयोगविहीन बनेको पानीघट्ट जीर्ण बनेका छन् भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् । 

‘‘पहिले त पानीघट्टबाहेक अरू केही थिएन कि घरमै जाँतोमा अन्न पिठो पिस्नु पथ्र्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन,” चपौली निवासी गृहिणी बेदमाया देवकोटाले भन्नुभयो, “पहिले चलेका घट्टहरू अहिले पुरानो भएर भत्किन थालिसके । घट्टको प्रयोग घटेपछि घट्ट सञ्चालकहरू पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेबाट एक/दुई माना उठाएर गुजरा चलाउँथे ।” 

उहाँ गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको भन्दै पछिल्लो समय घट्ट  ठप्पै भएको बताउनुहुन्छ ।