• १२ पुस २०८१, शुक्रबार

छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्दछ: उपराष्ट्रपति यादव

blog

काठमाडौँ, कात्तिक २२ गते । छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यस्तो बताउनुभएको हो । 

सूर्यको पूजा, उपासना र आराधना गरी चार दिनसम्म मनाइने छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नु भएको छ । श्रद्धा, आस्था, सङ्कल्प र प्राकृतिक सौन्दर्यको अद्वितीय सङ्गमका रूपमा रहेको छठ पर्वको सांस्कृतिक, सामाजिक, सामुदायिक, पारिवारिक र पर्यावरणीय महत्त्व रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । यो पर्व नेपाली संस्कृतिको विविधता र समृद्धिको प्रतीक पनि हो । यस पर्वका क्रममा पारम्परिक गीत, नृत्य र लोक कथाहरूको आयोजना गरिन्छ, जसबाट रैथाने संस्कृति र परम्पराहरूको संरक्षणमा टेवा पुग्ने बताउनुभएको छ ।  

छठ पर्व धार्मिक अनुष्ठान मात्रै होइन, समाज, संस्कृति, समुदाय, परिवार र पर्यावरणको विभिन्न पाटोहरूलाई जीवन्त बनाउन र बुझ्नका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने सन्देश दिनुभएको छ । देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन छठ पर्वले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।