• १९ पुस २०८१, शुक्रबार

उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना

blog

काठमाडौँ, कात्तिक २२ गते । उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । 

एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै तराइवासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो । 

उपसभामुख रानाले व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न यस पर्वले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले हरेक समुदाय र क्षेत्रमा आफ्नो आस्थाअनुसार चाडपर्व मनाउनु र सबैको चाडपर्वलाई सम्मान गर्नु नेपालीको मौलिक सांस्कृतिक विशेषता रहेको बताउनुहुँदै भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले नेपाली विश्वमै विशाल र वैभवशाली रहेको उल्लेख गर्नुभयो । 

“नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात् गरेको छ । छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु”, उपसभामुख रानाले भन्नुभएको छ ।