• १२ पुस २०८१, शुक्रबार

छठ व्रत र सझियाघाट आज

blog

महोत्तरी,  कात्तिक २२ गते । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेस्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।

आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैँ सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरू मनमोहक छन् । बर्तालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि  छठ विधिवत् रूपमा समापन हुनेछ ।