• १० मंसिर २०८१, सोमबार

अलैँची मनको नब्बे हजार, लाख नाघ्ने अनुमान

blog

बिक्री गर्ने तयारीस्वरूप भट्टीमा सुकाउँदै गरिएको अलैँची । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ । यस वर्ष नयाँ उत्पादन निस्कन थालेदेखि नै सामान्य रूपमा मूल्यवृद्धि हुँदै आएको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९० हजार रुपियाँ पुगेको हो ।

करिब दुई सातासम्म प्रतिमन ८९ हजार रुपियाँमा स्थिर रहेको अलैँचीको मूल्य बुधबार बढेर ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायीले बताएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा बुधबार अलैँची प्रतिमन ९० हजार रुपियाँमा कारोबार भएको स्थानीय व्यवसायी कमल बरालले बताउनुभयो । बरालका अनुसार दसैँको समयमा अलैँची प्रतिमन ८२ देखि ८४ हजार रुपियाँसम्म कारोबार भएको थियो ।

व्यवसायीका अनुसार दसैँ सकिएपछि स्थानीय बजारमा अलैँचीको सामान्य रूपमा मूल्यवृद्धि सुरु भएको थियो । दसैँपछि प्रतिमन एक हजार र एक हजार पाँच सयले वृद्धि हुँदै केही दिनको अन्तरालमै ८९ हजार रुपियाँ पुगेको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो । फुङलिङ बजारका स्थानीय व्यवसायीसमेत रहनुभएका रेग्मीले अलैँचीको मूल्य प्रतिमन ८९ हजार रुपियाँ भने करिब दुई सातासम्म कायम रहेको बताउनुभयो ।

उहाँका अनुसार स्थानीय बजारमा बुधबार प्रतिमन ९० हजार रुपियाँमा अलैँचीको खरिदबिक्री भएको छ । ताप्लेजुङमा प्रतिमन ९० हजारले खरिदबिक्री हुँदा झापाको बिर्तामोडमा भने एकदेखि दुई हजार रुपियाँसम्म बढीमा अलैँचीको कारोबार हुने स्थानीय व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार यस वर्ष नयाँ अलैँची बजार निस्कन थाल्दा नै प्रतिमन ५५ देखि ६० हजार रुपियाँसम्ममा कारोबार भएको थियो ।

भदौको पहिलो सातादेखि बजारमा अलैँची निस्कन थाल्ने गरेको छ । अलैँची बजारमा निस्कन थालेको करिब तीन महिना पुग्न लाग्दा सुरुदेखि नै क्रमशः मूल्यवृद्धि हुँदै बुधबार प्रतिमन ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार यस वर्ष अलैँचीको मूल्यमा हालसम्म उतारचढाव अर्थात् मूल्य घटबढ आएको छैन । सामान्य रूपमा भए पनि मूल्यवृद्धि हुँदै आएको उनीहरूको भनाइ छ । हालसम्मको कारोबार र उत्पादनको अवस्थालाई हेर्दा यस वर्ष अलैँचीको मूल्य प्रतिमन एक लाख रुपियाँ नाघ्ने अनुमान लगाउन थालिएको छ । गत वर्षभन्दा उत्पादनमा कमी आएकाले अलैँचीको मूल्यवृद्धि हुने अगुवा किसान तथा व्यापारीको अनुमान छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यवसायीमा खुसी छाएको छ ।

यता अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ । जिल्लाका अधिकांश किसान खेतीमा संलग्न रहँदै आएका छन् भने करिब चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।