• १० मंसिर २०८१, सोमबार

मानव तस्करीको आरोप

blog

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी तस्बिर :शशिधर पराजुली

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २२ गते । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जानुभएका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारीमाथि लागेको मानव तस्करीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव तस्करीको घटनामा अनुसन्धान सुरु गरेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।  

तत्कालीन मन्त्री अधिकारीले प्रदेश मन्त्रीपरिषद्को निर्णयबिना तथा सङ्घीय सरकार तथा परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना यही कात्तिक १४ गते  खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटासहित जापान जानुभएको थियो ।

मन्त्री अधिकारीबाहेक अन्य तीन जनालाई भने टोकियोस्थित जापानको अध्यागमन कार्यालय प्रवेश अनुमति नदिई नेपाल डिपोर्ट गरेको थियो । नेपाल फर्काइएका तीन जनालाई सोही दिन अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । सोही प्रकरणमा नक्कली कागजपत्र तयार गर्ने गरी लिखतसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर लामालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

आफूमाथि लागेको आरोपपछि मन्त्री अधिकारीले बुधबार पदबाट राजीनामा दिनुभएको छ । अपराध अनुसन्धान कार्यालयका प्रमुख भट्टराईले पक्राउ परेका आरोपितको अनुसन्धानपछि पूर्वमन्त्री अधिकारीको भूमिका खुल्ने र सोही अनुसार आवश्यक अनुसन्धान अघि बढ्ने जानकारी दिनुभयो ।

जापानबाट डिपोर्ट गरिएका तीन जनाको कागजात नक्कली रहेको खुलेको छ । जापानबाट डिपोर्ट गरिएका दावा शेर्पाको नक्कली कागजात खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ को वडा सदस्य बनाइएको छ । 

कञ्चन देवकोटा र जनक राईबाट बरामद कागजपत्रमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ रहेको भनी परिचयपत्र र नक्कली कागजपत्र तयार गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।