• १० मंसिर २०८१, सोमबार

संरक्षणको पखाईमा राजा ताल

blog

पर्यटकको रोजाइमा रहेको रानी ताल ।

कबिराज घिमिरे 

हिले, कात्तिक २१ गते । चौबिसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानी ताल यस क्षेत्रको प्रमुख गन्तब्य हो । गाउँपालिकाको वडा ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिव एकसय ५० रोपनी क्षेत्रफलको यो ताल पर्यटकको गन्तव्य बनेको छ ।   

तर राजारानीमै रानी तालनजिक उतिकै क्षेत्रफलमा रहेको राजा ताल भने संरक्षणबिहीन अबस्थामा छ । जमिन महँगिएपछि स्थानीयबासीले जमिन नदिँदा सो क्षेत्रको संरक्षण र प्रवर्र्धन हुनसकेको छैन । यही राजारानी तालको नामबाट सो क्षेत्रको तात्कालीन राजारानी गा.बि.स. र हालको राजारानी बजारको नामकरण पनि रहिआएको छ । 

राजा ताल क्षेत्र संरक्षण हुन नसक्दा दलदलको अबस्थामा रहेको छ । परापूर्व कालमा रानी ताललाई मावारक र राजा ताललाई पावरक भनिन्थ्यो । हाल पनि स्थानीयबासीले यी स्थानलाई पुरानै नामले चिन्ने गरेको वडा अध्यक्ष आषिश लिम्बू वताउनुहुन्छ । 

अंग्रेजी अक्षर भी आकारमा रहेको राजा र रानी ताल क्षेत्रको दक्षिणी क्षेत्रबाट पानी खोलिएर तराईतर्फ बगेर गएको छ । रानी तालको आधा भागमा बाँध बनाएर ताल बनाइए पनि राजा ताल क्षेत्रमा भने दलदल र सिमसार नै रहेको छ । कतिपय भागहरुमा खेल मैदान र प्लटिङ्ग समेत गर्न शुरु गरिएको छ । 

यो ताल क्षेत्रलाई बृहत पयटकीय क्षेत्र बनाउन सहमति जुट्न नसकेको पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले जानकारी दिनुभयो । रानीताल संरक्षणका लागि सहकारीमार्फत काम गरिए पनि राजाताल संरक्षणका लागि स्थानीयबासीहरुसँग सहमति हुन नसकेको चेम्जोङ्गले बताउनुभयो । 

गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको राजारानी बजारलाई तीन तिरबाट घेरेको यो यी दुई तालमध्ये रानी तालको आंसिक संरक्षण भएको छ । यो संगै जोडिएको राजाताल संरक्षण हुनसके यहाँको पर्यटन प्रवर्धन हुने देखिन्छ ।