• १० मंसिर २०८१, सोमबार

वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पूरा

blog

नेपालगन्जमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेल लगायत । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २१ गते । वैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ नेपालगन्जमा सञ्चालन हुन लागेको वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बुधबार बेलुका नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा आयोजकले वैकुण्ठधाम आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सव भोलि बिहीबारदेखि सञ्चालन हुँदैछ ।

वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल आयोजक समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले बाँके तथा यस क्षेत्र आसपासका नागरिकको निधनपछि दाहसंस्कार गर्ने स्थल डुडुवा गाउँपालिका –५ मा पर्ने राप्ती नदीस्थित सिधनियाघाटमा मलामी तथा किरियापुत्रीहरुले भोग्नुपरेको समस्या र दुःखलाई मध्येनजर गर्दै परिकल्पना गरिएको सुविधायुक्त वैकुण्ठधाम सिधनियाघाटको योजनालाई सार्थक बनाउन आयोजना गर्न लागिएको उक्त महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । 

भोलि २२ गते बिहीबारदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुने महोत्सवलाई व्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर दुई हजार बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहनेगरी ११० बढी उपसमिति गठन गरिएको संयोजक कनोडियाले बताउनुभयो ।

उहाँले वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनसहित उहाँको सङ्गीतमय टोलीबाट कात्तिक ३० गतेसम्म हरेक दिन भागवत वाचन, इच्छुक भक्तजनबाट ब्रतबन्ध, चौरासी पूजा, तुलादान, रुद्री पूजनाजस्ता अनुष्ठा समेत गरिने बताउनुभयो ।

कनोडियाले महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सव स्थललाई पूर्णरुपमा सिसि क्यामेराबाट निगरानी गरिने व्यवस्था गरिएको, खानेपानी, शौचालय, विश्रामस्थलसहित प्रसाद वितरण, व्यवस्थित बसाइ र वाटरप्रुफ पण्डालको समेत व्यवस्थित गरिएको जानकारी दिनुभयो ।

आयोजक समितिका सचिव श्रीराम सिग्देलले महोत्सवको पहिलो दिन महोत्सवस्थल रामलीला मैदानबाट बिहान ११ बजे विभिन्न जाति, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्रा सुरु हुने बताउनुभयो । उहाँले पाँचसय कलशसहित विभिन्न १८ वटा झाँकीले शोभायात्रा गरिने र शोभायात्राको समापनपछि महोत्सवको उद्घाटन गरिने जानकारी दिनुभयो ।

सचिव सिग्देलले २२ गते बिहान रामलीला मैदानबाट शोभा कलश यात्रा सुरु भई भेरी अस्पताल, चारबाहिनी, गणेशमान चोक, विपीचोक, धम्बोझी चोक, सेतु बिक चोक, सदरलाइन, त्रिभुवन चोक, उद्योग वाणिज्य संघ, रानी तलाउ हुँदै पुनः रामलीला मैदानमा पुगी दिउँसो २ बजे उदघाटन समारोह गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन, ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गरिनेछ ।

आर्थिक उपसमितका संयोजक कृष्णप्रसाद श्रेष्ठले महोत्सवको तयारीकै क्रममा दाताहरुबाट हालसम्म ४९ लाख रुपियाँ रकम सङ्कलन भइसकेको बताउनुभयो । दानलाई पारदर्शी बनाउनु क्युआर, नगदी रसिद र बैङ्क खातामा सिधै जम्मा हुने व्यवस्थासमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलले वैकुण्ठधाम निर्माण पुण्य कार्य भएको भन्दै सबैको सहयोगको खाँचो रहने बताउनुभयो । उहाँले महोत्सव सफल बनाउन नागरिक अगुवा, सामाजिक व्यक्तित्व, सबै दल, धर्म, समुदाय, पत्रकार, सबै वर्ग र क्षेत्रलगायत जिल्लाबासीसँग अनुरोध गर्नुभयो ।

गैरनाफामूलक र वैकुण्ठधाम निर्माणको प्रमुख उद्देश्यसहित गठन भएको वैकुण्ठधाम सिधनियाघाटले प्रस्ताव गरेको धाम निर्माणमा सबैको योगदानको अपेक्षा गरिएको र जीवनको अन्तिम सत्यका रुपमा रहेको मृत्युलाई सहज र सम्मानपूर्ण बनाउन वेकुण्ठधामले पूर्ण सार्थकता पाउने विश्वास लिइएको आयोजकले जनाएको छ ।