• २६ पुस २०८१, शुक्रबार

किसानलाई धान भित्र्याउने चटारो

blog

मन्थली नगरपालिका–६, भलुवाजोरस्थित कुनौरी फाँटमा धान भित्र्याउन व्यस्त किसान ।

रामेछाप समाचारदाता

रामेछाप, कात्तिक २१ गते । तिहार सकिएसँगै रामेछापका किसानलाई धान भित्र्याउने चटारो छ । भाइटीकाको भोलिपल्टदेखि जिल्लाका मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखुतामाकोशी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिकालगायत क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । 

केही किसानले तिहारअघि नै धान भित्र्याइसकेका छन् भने धेरै किसानलाई अहिले धान भित्र्याउने चटारो छ । दुःख गरेर लगाएको धानबाली भित्र्याउने समयमा पानी परेकाले किसान चिन्तित भएका मन्थली नगरपालिका–९, पुरानागाउँकी तारादेवी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । यो वर्ष राम्रो वर्षा भएका कारण धान राम्रो फलेको छ तर भित्र्याउने बेलामा मौसमले साथ दिएको छैन । अहिले दिनहुँ जस्तो पानी पर्ने र मौसम धुम्म हुने भइरहेको छ ।” 

पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्ने डरले किसान धान भित्र्याउन हतार हतार खेतमा खटिएका छन् । बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्र्याउन व्यस्त रहेका मन्थली नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष राम्रो वर्षा भएका कारण धान राम्रै फलेको थियो तर असोज १०, ११ र १२ को वर्षासँगै रणजोर खोलामा आएको बाढीले धेरै धान खेत नष्ट ग¥यो । अहिले बाढीबाट बचेको धान भित्र्याउन घर नै सुनसान हुने गरी किसान  खेतमा व्यस्त छन् ।” यहाँका किसानले खेतको धान भित्र्याएपछि तोरी, आलु, तरकारी, मकै लगाउने गरेका उहाँले बताउनुभयो । 

गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षासँगै आएको बाढीले तामाकोशी, सुनकोशी, खिम्ती खोला, रणजोर खोला, लिखु खोला किनारमा रहेका धेरै धान खेत बगरमा परिणत भएका छन् । भित्र्याउने बेला भएको धान खेत बगर बनेपछि पीडित बनेका केही किसान पुनः खेत बिराउन थालेका छन् भने धेरै किसान राहत तथा सहयोगको आशामा बसेका छन् । 

कृषि विकास कार्यालय रामेछापका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रामेछापमा आठ हजार ६७७ हेक्टर खेतमा धान रोपाइ हुँदा २४ हजार ६७७ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष राम्रो वर्षा भएका कारण गत वर्षभन्दा धान उत्पादन बढ्ने आकलन गरिए पनि गत असोजको तीन दिनको वर्षासँगै आएको बाढीपहिरोले ठुलो मात्रामा धान खेतमा क्षति गरेको छ ।