• २३ मंसिर २०८१, आइतबार

लौका खेतीमा जम्नुभएका नवराज

blog

लौका खेतीमा रमाइरहनु नवराज पनेरु । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, कात्तिक २० गते ।
लौका धेरैलाई मन नपर्ने तरकारीमा पर्दछ । यसको बजार मूल्य पनि त्यति धेरै पर्दैन । तर उमेरले भर्खरै तीन दशकको आसपासका नवराज पनेरुको दैनिकी बिहानदेखि साँझसम्म लौका बारीमै बित्छ ।

सँगैका साथीभाइहरु सरकारी जागिरे, वैदेशिक रोजगारी र अन्य पेशा अपनाएर भविष्य बनाउन लागे पनि उहाँ भने सुदूरपश्चिमको दिपायलदेखि नवलपुर आएर लौका खेतीमा रमाइरहनु भएको छ । दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयबाट जेटिए पास गरेका उहाँ विगत ४ वर्षदेखि नवलपुरको मध्यविन्दु–३ लेडाहामा आएर लौकासँगै अन्य तरकारी खेती गरिरहनु भएको छ ।

अध्ययन सकेपछि चितवन गएर एक वर्ष कृषि फर्ममा काम गरेका पनेरु त्यसको एक वर्षपछि नवलपुरको मध्यबिन्दुमा युवा आधुनिक कृषि फर्म स्थापना गरेर व्यवसायिक तरकारी खेतीमा लाग्नु भएको हो । मध्यविन्दु–३ मा आएर सुरुमा १ बिगाहा जमिन भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु गरेका उहाँले अहिले साढे चार बिगाहा अर्थात् ९० कठ्ठा जमिन भाडामा लिएर विभिन्न प्रजातिका तरकारी उत्पादन गर्ने काम गरिरहनु भएको हो ।

यति बेला लौका र काक्राले उहाँको फर्मका बारीहरू भरिएका छन् । हरेक तीन/चार दिनमा उहाँलाई तरकारी टिपेर बजार पठाउन भ्याइनभ्याई हुने गरेको छ । सुरु सुरुमा सानो परिणाममा तरकारी उत्पादन गर्दा स्थानीय बजारमा बेच्ने गर्नु भएका पनेरुले अहिले भने यहाँ उत्पादित तरकारी काठमाडौँको कालीमाटी, नारायणघाट, बुटवल जस्ता ठूला शहरमा पठाउने गरेको बताउनुहुन्छ । उहाँले लौकासँगै काक्रा, खुर्सानी, फर्सी, टमाटर, भान्टा लगायतका तरकारी उत्पादन गरेर बजारमा पठाउने गर्नु भएको छ ।

चितवनकै कृषि फर्ममा काम गर्ने क्रममा एक जना साथीले दिएको सल्लाहअनुसार नवलपुर आएर विगत चार वर्षदेखि तरकारी खेतीमा जमेका पनेरुले १० लाखको लगानी गर्दा २५ लाखसम्म आम्दानी गरेको बताउनुहुन्छ । उहाँले तरकारीको आम्दानीबाट आफ्नो परिवार मात्रै पाल्नु भएको छैन, फर्ममा दुई जना दैनिक काम गर्ने कृषि मजदुर र हरेक तीन/चार दिनमा तरकारी टिप्ने कामका लागि स्थानीय १०-१२ जना महिलालाई समेत रोजगारीको अवसर सृजना गरिदिएको बताउनुभयो ।

आफै कृषि प्राविधिक जेटिए भएका कारणले पनि उहाँलाई तरकारी खेति गर्न सहज भएको छ । ‘‘जोत्ने, रोप्ने, सिँचाइ गर्ने, मलखाद तथा विषादीको प्रयोग र माटो उर्वरा शक्तिको विषयमा नजिकबाट आफू जानकार रहेकाले पनि यो पेशामा सहज भएको छ,’’ पनेरुले भन्नुभयो ।


पछिल्लो समयमा बजारमा आउने तरकारीमा विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा पर्ने असरको विषयमा सचेत रहेको र विषादीको प्रयोग गर्दा किसान र उपभोक्ताको स्वास्थ्यलाई असर नपार्ने गरी गरिने पनेरुले बताउनुभयो । विषादीको ज्ञान नभएका कारणले सर्वसाधारण किसानले सोझै भेटेरीनरी बाट विषादी किनेर प्रयोग गर्दा प्रयोगकर्ता किसान र उपभोक्ताको स्वास्थ्यमा समस्या आउने गरेको उहाँ बताउनुहुन्छ । आफुले अध्ययन गरेको क्षेत्र भएका कारणले पनि विषादीको प्रयोगमा पूर्ण सचेत रहेको भन्दै पनेरुले आफुले उत्पादन गरेको तरकारी उपभोक्ताको भान्सासम्म पुग्दा विषादीको असर नहुने दाबी गर्नुभयो ।

व्यवसायिक रुपमा तरकारी खेती गर्न सक्ने हो भने नेपालमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका नवराजले अहिलेसम्म सरकारी निकायबाट अनुदान सहयोग भने नलिएको बताउनुहुन्छ । ‘‘आगामी दिनमा सरकारी निकायको अनुदान लिएर तरकारी खेतीलाई थप विस्तार गर्ने योजनामा छु,’’ उहाँले भन्नुभयो ।

अनुदान मात्रै नभएर सरकारले तरकारीको बजार विस्तारमा ध्यान दिन सके नेपालमै बसेर पनि राम्रै आम्दानी गर्न सकिने उहाँको भनाइ छ । तर भारतीय तरकारीकै कारण अहिले पनि नेपाली किसान समस्यामा पर्ने गरेको पनेरुले सुनाउनुभयो ।

१५० प्रति किलोसम्म बेच्दै आएको लौकाको भाउ अहिले भारतीय लौका भित्रिएपछि घटेर १३०/१३५ प्रतिकिलोमा बेच्नु परेको गुनासो गर्नुभयो । अत्याधिक विषादी प्रयोग गरेर उत्पादन गरिएका भारतीय तरकारीको अगाडि नेपाली किसानले फलाएको तरकारीलाई बजारमा टिकाउन गाह्रो हुने गरेको उहाँको अनुभव छ  ।