• १२ पुस २०८१, शुक्रबार

अदुवा र बेसारको माग विदेशमा

blog

अदुवा प्रशोधन गर्दै स्थानीय मजदुर । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, कात्तिक २० गते । केही वर्षअघिसम्म घरमा खानका लागि मात्र खेती गरिने कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने अदुवा अहिले विदेश निर्यात हुन थालेको छ । विदेशबाट अदुवाको माग आउन थालेपछि यहाँका किसान अदुवा खेतीतर्फ आकर्षित भई व्यावसायिक रूपमा खेती गर्न थालेका छन् । फलस्वरूप अदुवाको उत्पादन बढी हुन थालेपछि विदेश निर्यात हुन थालेको हो । 

अदुवा मात्र होइन, यहाँको बेसार पनि विशेष गरी युरोप पुग्न थालेको छ । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको कालीदमारमा दी अर्गानिक भ्याली अदुवा प्रशोधन उद्योग स्थापना गरिएको छ । सोही उद्योगले कर्णालीका किसानसँग अदुवा र बेसार खरिद युरोपतिर पठाउने गरेको छ । उद्योगका सञ्चालक समीर नेवाले विदेशबाट यहाँको अदुवा र बेसारको माग बढी आउने गरेकाले आफूले त्यहाँ पठाउने गरेको बताउनुभयो । किसानबाट खरिद गरेर उद्योगमा प्रशोधन गरी अदुवा र बेसार युरोप निर्यात गर्ने गरेको उहाँको भनाइ छ । उद्योग स्थापनाअघि यहाँको अदुवा र बेसार मूल्यहीन अवस्थामा थियो । 

यहाँ उत्पादन भएका अदुवा र बेसार विषादीरहित हुने, पूर्ण रूपमा अर्गानिक र गुणस्तरीय भएका कारण विदेशबाट माग आइरहेको उहाँको भनाइ छ । विशेष गरी जर्मनीबाट बढी माग आएको छ । उहाँका अनुसार एक मौसममा यस उद्योगबाट औसतमा छ लाख युरो बराबरको अदुवा र बेसार निर्यात हुने गरेको उद्योग सञ्चालक नेवाले बताउनुभयो । उत्पादन धेरै भएका बेला १२ लाख युरो बराबरको अदुवा निर्यात गरेको बताउँदै उहाँले तर माग अनुसार उत्पादन हुन नसकेको पनि बताउनुभयो । किसानबाट माग अनुसार उत्पादन नहुँदा बर्सेनि औसतमा छ लाख युरो बराबरको अदुवा र बेसार विदेश निर्यात भइरहेको जानकारी उहाँले दिनुभयो । 

उत्पादन भएका अदुवा र बेसारलाई बजारीकरणको समस्या छैन । विदेशबाट माग धेरै भएकाले बजारीकरणको समस्या नभएको भन्दै उहाँले किसानलाई उत्पादन बढाउन आग्रह गरिएको र यस काममा हौसला दिन स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कर्णालीमा उत्पादन गरिएका अदुवा र बेसार विदेशसम्म पुगेको भन्दै अब यसको उत्पादन बढाउन ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

प्रशोधन उद्योगमा बर्सेनि एक हजार पाँच सय मेट्रिक टन अदुवा र बेसार प्रशोधन हुने गरेको दाबी गरिएको छ । हाल एक हजार दुई सय मेट्रिक टन अदुवा र तीन सय मेट्रिक टनसम्म बेसार प्रशोधन हुने गरेको छ । कर्णालीमा अर्गानिक अदुवा र बेसार उत्पादन हुने र यसकारण विदेशमा पनि माग बढेकोले यसको उत्पादनलाई स्थानीय सरकारलगायतले हौसला दिई व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताइएको छ । 

कर्णालीमा सबैभन्दा धेरै अदुवा, बेसार उत्पादन हुने जिल्लामा सल्यान, रुकुमपश्चिम र सुर्खेत पर्दछ । अदुवा र बेसारका लागि यी जिल्लाका हावापानी उपयुक्त छ । अदुवा प्रशोधन केन्द्रका अनुसार सल्यानबाट मात्रै एक मौसममा एक हजार दुई सय मेट्रिक टनसम्म अदुवा उद्योगमा आउने गरेको छ । सल्यानपछि रुकुमपश्चिमबाट आठ सय र सुर्खेतबाट दुई सय मेट्रिक टनसम्म अदुवा उद्योगमा आउने गरेको जानकारी उहाँले दिनुभयो । 

उद्योगमा हालसम्म सबैभन्दा बढी दुई हजार तीन सय मेट्रिक टनसम्म अदुवा र बेसार आएको छ । पहिला प्रशोधन नहुँदा अदुवा र बेसारले मूल्य पाएन, त्यसबेला किसानले बजारको समस्या भोगेको भन्दै अहिले उद्योग स्थापना भएपछि किसानले उत्पादन गरेको अदुवा र बेसार लिएपछि किसानलाई कुनै समस्या नभएको उहाँले दाबी गर्नुभयो । यो उद्योगमा अदुवा र बेसारका साथै सिस्नो र टिमुर पनि प्रशोधन हुने गरेको छ । उद्योगले किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई प्रशोधन गरेर बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो । 

सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाउने गरिएको छ । अदुवा र बेसारलाई पनि उद्योगमा प्रशोधन गरेर पाउडर बनाइन्छ । यही पाउडरलाई प्याकिङ गरिन्छ । त्यसपछि अदुवा, बेसार, टिमुर, सिस्नो बजारमा पठाउने गरिएको उहाँले बताउनुभयो । उद्योगमा स्थानीयले रोजगारीसमेत पाएका छन् ।