• १२ पुस २०८१, शुक्रबार

विषाक्त खानाले एकको मृत्यु, ६ जना बिरामी

blog

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १९ गते । बाँकेको खजुरामा विषाक्त खाना (फूड प्वाइजन) हुँदा एकै घरका छ जना बिरामी परेका छन् । एक जनाको मृत्यु भएको छ ।

फूड प्वाइजनका कारण खजुरा गाउँपालिका वडा ५ बसन्तपुरका एकै घरका छ जना बिरामी परेका र बिरामीमध्ये घरमुलीको मृत्यु भएको खजुरा गाउँपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुशील थापामगरले जानकारी दिनुभयो ।

हेल्थ असिस्टेन्ट थापाका अनुसार फूड प्वाइजनका कारण घरमुली ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको हो । उहाँका अनुसार मृतककी  ५५ वर्षीया श्रीमती चौरासिया यादव, ३६ वर्षीय छोरा भुवनटु यादव, ३५ वर्षीया बुहारी मीना यादव, १४ वर्षीय नाति जसमान यादव र ६ वर्षीय नाति अमृत यादव बिरामी हुनुभएको छ ।

गए राति उहाँहरु सबैले घरमा पिँडालुको तरकारी, साग तथा पुरी खानुभएको र रातिदेखि नै सबैलाई झाडाबान्ता भएको थियो । आज बिहान ८ बजे मात्र उपचारका लागि स्वास्थ्य संस्था ल्याउँदै गर्दा बाटोमै अहिरको मृत्यु भएको थापामगरले जानकारी दिनुभयो ।

“हिजो बेलुका खाएको खानाबाट एकै घरका छ जना बिरामी पर्नुभएको रहेछ, त्यो खाना खाएपछि उहाँहरुलाई झाडाबान्ता सुरु भएछ, रातभरि उपचार गर्न जानुभएन, आज बिहान मात्र उपचार गर्न लैजाँदै गर्दा घरमुलीको बाटोमै मृत्यु भएछ” हेल्थ असिस्टेन्ट थापामगरले भन्नुभयो । 

“परिवारका अन्य पाँच जनालाई आज बिहान घरमै पुगेर उपचार गरेका छौं, फूड प्वाइजन हुँदा झाडापखाला भएको र सोहीका कारण मृत्यु भएको हुन सक्ने आशङ्का गरेका छौँ” थापाले भन्नुभयो ।