• १० मंसिर २०८१, सोमबार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

blog

फाइल तस्बिर ।

इस्टफ्लोरेस, कात्तिक १९ गते । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । 

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।  

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याँक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाहरूले  आफूहरू भयभीत भएको बताएका छन् ।  

इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताउनुभएको छ ।  उहाँका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ । 

एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ ।

ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् । 

ज्वालामुखी मामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रबिन्दु) को सात किलोमिटर दायराभित्र केही गतिविधिहरू नगर्न निर्देशन दिएको छ ।  

पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रुपमा वृद्धि भ घरहरुमा क्षति गरेपछि स्थानीयले सामुदायिक भवनमा शरण लिएका छन् । 

ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिँदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयहरूलाई मास्क लगाउन आग्रह गरेको छ । रासस