• १० मंसिर २०८१, सोमबार

अनाथ बालबालिकालाई सहयोग

blog

जापानका नेपाली मार्फत प्राप्त सहयोग संस्थालाई हस्तान्तरण गरिदै । तस्विरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक १९ गते । जापानमा रहेका नेपालीले अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । मकवानपुरको हेटौँडा -१४ स्थित अनाथ अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकाका लागि तिहार मनाउन आर्थिक सहयोग गरेका हुन् । 

मामाघर नेपालका संस्थापक सचिव समेत रहेका बकैया गाउँपालिका वडा ५ का कार्यालय सचिव देवराज लामिछानेको पहल तथा गैर आवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रीय कार्य समितिका उप–संयोजक कृष्णहरि पाठकको नेतृत्वमा सहयोगी दातामार्फत सङ्कलित नेपाली ३० हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको हो ।

लामिछाने पुनर्स्थापना केन्द्रमा पुगेर संस्थाका अध्यक्ष रामहरि कोइरालालाई तिहार मनाउन तथा कार्यालय सञ्चालन सहजिकरणका लागि आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । पुनर्स्थापना केन्द्रका अध्यक्ष कोइरालाले भौतिक संरचनामा क्रमिक रुपमा विकास हुँदै गरे पनि संस्था सञ्चालनका लागि कठिनाइ झेलिरहनु परेको अवस्थामा जापानका नेपालीमार्फत प्राप्त भएको आर्थिक सहयोगले राहत पुगेको बताउनुभयो । उहाँले संस्थालाई सहयोग गरेकोप्रति आभार समेत प्रकट गर्नुभयो ।

केन्द्रमा जाजरकोटका दश, काठमाडौंका एक र मकवानपुरका तीन गरी १४ जना बालबालिका आश्रित रहेका छन् । २०६३ सालमा स्थापना भएको केन्द्र मुठ्ठीदान, जन्म दिन, तिथिमा प्राप्त हुने सहयोगबाट सञ्चालन भइरहेको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । 

सहयोगी दाताहरुले सहयोग गर्दा अनाथ बालबालिकालाई संरक्षण प्रदान गर्न सहज हुने र अन्य अवस्थामा संस्था सञ्चालनका लागि विभिन्न कठिनाइ झेल्नुपरेको कोइरालाले दुखेसो गर्नुभयो । 

बालबालिकालाई संरक्षण प्रदान गर्दै आएको संस्थामा बालबालिकालाई दुधका लागि दुई वटा गाईपालन गरिएको छ । आत्मनिर्भर बन्नका लागि संस्थाले तरकारी, माछापालन, हास पालन गरेको छ । संस्थाभित्रको खाली जग्गामा विभिन्न प्रकारका फलफूलका बिरुवा समेत रोपन गरिएको छ ।