• १० मंसिर २०८१, सोमबार

विद्यालय र स्वास्थ्य चौकी पुग्ने सडक कालोपत्रे

blog

कालीगण्डकी गाउँपालिका भित्रको सडक कालोपत्रे गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक १९ गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले माध्यमिक विद्यालय र स्वास्थ्य चौकीहरू जाने सडक कालोपत्रे गर्ने भएको छ । चालु आर्थिक वर्षमा नगरभित्रका सबै स्वास्थ्य चौकी र मावि तहका विद्यालयमा पुग्ने सडकलाई व्यवस्थित गर्दै कालोपत्रे गर्न लागेको हो । जसका लागि टेन्डरसहित कामको सुरुवात भइसकेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।

पालिका भित्र ११ वटा माध्यमिक विद्यालय र सात वटा स्वास्थ्य चौकी रहेका छन् । विकट गाउँमा रहेका स्वास्थ्य चौकी र विद्यालयमा पुग्ने सडक सहज नहुँदा नागरिकले समस्या झेल्दै आएका थिए । सहज सडक व्यवस्थापनसँगै न्यूनतम आधारभूत आवश्यकताको अभावमा बसाइसराइमा कमी आउने अध्यक्ष थापाको दाबी  छ ।

पूर्वाधार विकासको पहिलो आधार यातायात रहेको भन्दै सडक व्यवस्थापन र कालोपत्रे गर्ने काम गरिरहेको उहाँको भनाइ छ । पालिकाले सडक व्यवस्थापन र स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष थापाले बताउनुभयो ।

गएको आर्थिक वर्षमा पालिकाले वडा कार्यालय जाने सडक कालोपत्रे गरेको थियो । योजना अनुसार गत आर्थिक वर्ष ६ वटा वडा कार्यालयमा पुग्ने सडकलाई कालोपत्रे गर्ने काम पूरा भएको छ । वडा नं.२ को कार्यालय सम्म पुग्ने सडक भने चालु आर्थिक वर्षमा कालोपत्रे हुने पालिकाले जनाएको छ ।

नगदे बालीसँगै कृषि र पशुपालनलाई प्राथमिकता दिएर काम गर्दै आइरहेको पालिकाले प्राथमिकताको आधारमा विभिन्न योजना छनोट गरी अल्पकालीन र दीर्घकालीन रूपमा बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । 

कालीगण्डकी नदीले चारै तिरबाट घेरिएको गाउँपालिकामा नेपालको हाल सम्मको ठुलो कालीगण्डकी ए विद्युत परियोजना समेत सञ्चालनमा रहेको छ ।