• २७ मंसिर २०८१, बिहिबार

लागूऔषध प्रयोगले परिवारमा पार्ने असर सिकाउँदै विद्यार्थी

blog

सडक नाटक प्रस्तुत गर्दै विद्यार्थीहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक १७ गते ।
स्याङ्जाका विद्यार्थीहरु लागूऔषधको सेवनले परिवार तथा समाजमा पर्ने असरबारे अभिभावकलाई बुझाउन सक्रिय भएका छन् । वालिङ नगरपालिका–११ गब्देमा रहेको बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यार्थीहरुले सडक नाटकमार्फत जनचेतना फैलाउने अभियान सुरु गरेका हुन् ।

बडा दसैँ तथा शुभदिपावलीको अवसर पारेर विद्यार्थीहरुले जनचेतना मूलक सडक नाटक प्रस्तुत गरेका हुन् । नाटकमा अभिभावकहरुले बेलैमा आफ्ना बालबालिकालाई ध्यान दिनु पर्ने सन्देश दिइएको थियो । अभिभावकले ध्यान नदिँदा भविष्यमा गम्भीर समस्या आउनेबारे नाटकमा रोचक तरिकाबाट प्रस्तुत गरिएको थियो ।

विद्यालयका शिक्षकहरुको सहयोगमा सडक नाटक प्रस्तुत गरिएको विद्यालयका अध्यक्ष बिमल अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“जाँडरक्सी तथा लागूऔषध परिवार र समाजका लागि ठूलो शत्रु हो भन्ने सन्देश नाटक मार्फत दिईएको हो ।” बालबालिकाहरु कसरी कुलतमा फस्छन् र कसरी बचाउन सकिन्छ भन्ने जानकारी दिईएको उहाँको भनाइ छ ।

सो अवसरमा बोल्नुहुँदै गण्डकी प्रदेश सभाका सदस्य तथा अर्थ समितिका सभापति भोजराज अर्यालले नाटकमार्फत् बालबालिकाले समाजलाई गतिलो जवाफ फर्काएको बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकाको अवस्था के छ, संगत कस्तो छ, पढाइको अवस्था के छ भन्ने निरन्तर जानकारी राख्नु पर्नेमा सभापति अर्यालले जोड दिनुभयो ।

अर्का सांसद कल्पना तिवारीले बालबालिकाको सुखद भविष्यका लागि अभिभावक विशेष चनाखो हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयलाई योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।