• १० मंसिर २०८१, सोमबार

नरैनापुरमा पढाईमा विद्यार्थीको आकर्षण बढ्यो

blog

विद्यालय जाँदै नरैनापुरका बालिकाहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १६ गते । केही वर्ष अघिसम्म सुनसान रहने बाँकेको नरैनापुरका विद्यालयहरुमा अहिले विद्यार्थीहरुको उल्लेख्य संख्या देखिन थालेको छ । जिल्लाकै सबैभन्दा दुर्गम र पछाडी परेको नरैनापुर क्षेत्रमा हाल आएर बालिकाहरुको पढाई प्रति आकर्षण बढेको छ ।

४० हजार जनसंख्या रहेको बाँकेको नरैनापुरमा छोरीलाई पढाउनु पर्दैन भन्ने अभिभावकको बुझाइका कारण अधिकांश छोरी विद्यालय जानबाट वञ्चित रहँदै आएका थिए तर लामो संघर्ष पछि अहिले शिक्षा प्रति बालिकाहरूको आकर्षण बढेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले अझै पनि शिक्षा शाखाले अभिभावकमा सचेतना जगाउन जरुरी रहेकोले अभिभावकसँग शिक्षक र जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

नरैनापुरमा विद्यालय जानबाट वञ्चित कति बालिका छन् भन्ने यकीन तथ्याङ्क निकाल्न अध्यक्ष शाहले शिक्षा शाखा प्रमुखलाई निर्देशन गरेको बताउँदै विद्यालय जान नपाएका छोरीहरूलाई विद्यालय पठाइने जनाउनुभयो । 

नरैनापुर शिक्षा शाखाको अभिलेख अनुसार नरैनापुरमा प्रावि तहमा भर्ना भएका ५ हजार १ छात्रामध्ये १० कक्षासम्म पुग्दा ३० प्रतिशत छात्राले विद्यालय छाड्ने गरेका छन् । नरैनापुरका ८ हजार ४८८ घरधुरीबाट १४ देखि १९ वर्ष उमेर समूहका ४ हजार ५३७ जना महिला रहेका छन् ।

नरैनापुरमा २० वटा सामुदायिक विद्यालय, २८ मदरसा, ४ वटा निजी विद्यालय सञ्चालनमा रहेको पनि शिक्षा शाखाले जनाएको छ । 

मुस्लिम र मधेशी समुदायको बाहुल्यता रहेको सो पालिकामा बालबालिकालाई विद्यालय पठाउने नगरिएको कारण शिक्षाको अवस्था निकै दयनीय रहेको गाउँपालिकाले जनाएको छ । 

मुस्लिम समुदायले आफ्ना बालिकालाई बढी मदरसामा पठाउने गरेकोले पनि विद्यालयमा उनिहरुको उपस्थिति कम रहँदै आएकोमा गत ७ वर्षदेखि फैलाईएको सचेतनाका कारण हाल विद्यालयमा पठाउन थालेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । उहाँले विद्यालयमा बालबालिकाको संख्या बढ्न थालेपछि पालिकाले विद्यालय भवन निर्माण लगायतमा ठुलो बजेट खर्च गर्न थालेको बताउनुभयो । 

सोही क्रममा नरैनापुरको शैक्षिक क्षेत्रको विकासका लागि नरैनापुर–२ मा एक करोड ६९ लाख ४५ हजारको लागतमा आर्दश माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ । आर्दश माविको भवन निर्माणका लागि संघीय सरकारको विशेष अनुदान एक करोड १५ लाख, प्रदेश सरकारको समपूरक अनुदान ४० लाख र गाउँपालिकाको अनुदानमा आठ कोठे भवन र दुई वटा शौचालयको निर्माण भइरहेको पालिकाका लेखा अधिकृत भरत बस्नेतले बताउनुभयो ।

कक्षाकोठा अभावमा पठनपाठनमा समस्या भएकोले तिनै तहको सरकारको सहयोगमा सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएकोले भवन निर्माणपछि विद्यार्थीहरूलाई सहज हुने सो विद्यालयकी शिक्षिका चन्द्रा केसीले बताउनुभयो । उहाँका अनुसार उक्त विद्यालयमा हाल सात सय विद्यार्थी अध्ययनरत छन् । 

स्थानीय सरकारले गुणस्तरीय शिक्षा आर्जनका लागि प्रविधिमैत्री विद्यालय निर्माण अभियानमा जुटेको जनाएको छ । शिक्षालाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने गरेको पालिकाका अध्यक्ष शाहको भनाई छ । उहाँका अनुसार गाउँपालिकामा गत आर्थिक वर्षमा नरैनापुर १ र नरैनापुर ६ मा गरी दुई वटा अत्याधुनिक भवनको निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरि सकिएको छ भने नरैनापुर २ को आर्दश मावि, नरैनापुर १ कटकुईया नेराप्राविको भवन निर्माण भइरहेको छ ।