• १२ पुस २०८१, शुक्रबार

हुक्काहुक्की पर्वका लागि आवश्यक सन्ठी पाउनै मुस्किल

blog

कचनकवलमा हुक्काहुक्की मनाइँदै । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक १६ गते । 
पूर्वी नेपालका आदिवासी समुदायले मनाउँदै आएको परम्परागत हुक्काहुक्की पर्व मनाउनका लागि आवश्यक पर्ने सन्ठीको अभाव देखिन थालेको छ । जुट खेती कम हुँदै गएपछि सन्ठीको अभाव हुन थालेको हो ।

आदिवासी पत्रकार तथा अगुवा आत्मराम राजवंशीका अनुसार पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी समुदायलाई लक्ष्मी पूजाको दिन हुक्काहुक्की पर्व मनाउका लागि सन्ठी नभई हुँदैन । पाटा (जुट) खेती लोप भएसँगै सन्ठीको अभाव भएको हो । केही वर्ष अघिसम्म आदिवासी समुदायले व्यावसायिक रूपमा नै जुट खेती गर्ने गरेका थिए । त्यो समयमा सन्ठीको अभाव हुने गरेको थिएन ।

गाउँघरतिर अलिअलि सन्ठी भेटिने गरे पनि सहर बजारमा सन्ठी पाउनै गाह्रो हुने गरेको राजवंशीले बताउनुहुन्छ । आदिवासी समुदायमा सन्ठीको ठुलो महत्त्व रहेको छ । तिहारमा पर्ने गोरुवासी पर्वमा सन्ठीको राँको (हुक्काहुक्की) खेल्ने परम्परा पूर्वका आदिवासी समुदायमा रहेको छ । सन्ठीको राँको बालेर एक आपसमा रमाइलो गर्दै यो पर्व बर्सेनि मनाइने गरेको पाइन्छ ।

आदिवासी अगुवाहरूका अनुसार राजवंशी, ताजपुरिया, गनगाई, माझीलगायतका जातिले सन्ठीको मुठो (हुक्काहुक्की) बनाएर त्यसलाई पूजा गर्ने र आगो सल्काएर खेल्ने परम्परा रहँदै आएको छ । आदिवासी उत्थान मञ्चका अध्यक्ष कर्णबहादुर राजवंशीका अनुसार कचनकवलको हुक्काहुक्की चोकमा भव्य रूपमा बिहीबार हुक्काहुक्की पर्व मनाइएको छ ।

आदिवासी समुदायले हुक्काहुक्की खेल दादो–दादी भनेर हजुरबा–हजुरआमालाई सम्झिँदै मनाउँछन् । हुक्काहुक्की कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई सहितको उपस्थिति रहेको थियो ।