• २५ पुस २०८१, बिहिबार

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता

blog

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल । फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक १५ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गर्नुभएको थियो । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेको बताउनुभयो ।

उहाँले उक्त बैठकमा जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानि नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो ।

अर्थमन्त्री पौडेलले नेपालले अघि सारेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको जानकारी दिनुभयो । अमेरिकामा रहेका बेला उहाँले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्चपदस्थ पदाधिकारीसँग अलग–अलग भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँ यही कात्तिक ५ गते अमेरिका जानुभएको थियो । रासस